शेरबहादुर तामाङ भन्ने वित्तिकै कुनै समय धेरैलाई माधवकुमार नेपालको विश्वास पात्र लाग्थ्यो । एमाले र माओवादी मिलेर नेकपा बन्दा नेता नेपालको कोटाबाट उनी कानुनमन्त्री बनेका थिए ।
तर, बंगलादेशमा चिकित्सा पढ्न जाने छात्राहरू यौनकर्म गर्न बाध्य हुनेगरेको भन्दै विवादित अभिव्यक्ति दिएपछि नैतिकताका आधारमा भन्दै प्रधानमन्त्री ओलीले उनलाई बर्खास्त गरेका थिए ।
नेकपा विभाजित भइसकेपछि भने तामाङ ओलीसमूहमा लागेका छन् । तामाङ दम्पती नै माधव नेपाललाई छोड्दै आफ्नो समूहमा लागेपछि ओलीले मन्त्री बनाउने लोभ देखाएको भन्दै चर्चा भएको थियो । चर्चा भए अनुसार नै ओलीको निर्देशनमा तामाङ पत्नी उषाकला राईलाई यसअघि प्रदेश १ को सामाजिक विकासमन्त्री बनाइएको थियो ।
प्रधानमन्त्री ओलीले फेरि मन्त्रिमण्डल हेरफेर गर्दै शेरबहादुर तामाङलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेका हुन् । उनको शुक्रबार नै शपथको तयारी गरिएको छ ।
शेरबहादुर तामाङले नेपालको कानुनले प्रतिबन्धित भनेको लागुऔषध गाँजालाई वैधता दिनुपर्ने बताउँदै आएका छन् । उनले गाँजाको व्यापारबाट राष्ट्रिय स्रोत आर्जन गर्न सकिने बताउँदै आएका छन् ।
त्यसैगरी उनकी पत्नी उषाकलाले लोकल रक्सीलाई प्रबर्द्धन गर्नुपर्ने बताउँदै आएकी छन् । उनले लोकल रक्सीबाटै पर्यटकहरूलाई आकर्षण गर्न सकिने तर्क गरेकी छन् ।




















प्रतिक्रिया