घटना बिहीबार रातिको हो । करिब ७ : २७ बजे जिल्ला प्रहरी कार्यालय सप्तरीको कन्ट्रोल १०० मा फोनको घण्टी बज्यो । राजविराजबाट १४ वर्षीया बालिकालाई अपहरण गरेर लगेको कसैले फोनबाट प्रहरीलाई खबर गर्यो ।
कन्ट्रोलले घटनाबारे बढीभन्दा बढी बुझ्ने प्रयास गर्यो । रातो रङको अपाची मोटरसाइकलमा ३०/३५ वर्षीय अपरिचित व्यक्तिले बालिकालाई राजदेवी मन्दिर, पोखरेल टोल हुँदै उत्तरतर्फ लगेको जानकारी आयो । कन्ट्रोलले सञ्चार शाखालाई बतायो। सञ्चार शाखाले तत्कालै सबैतिर घटनाबारे जानकारी दियो ।
यो खबर एसपी, डीएसपी, इन्स्पेक्टर सबैको वाकिटकीमा सुनियो । एसपी राजेन्द्रप्रसाद धमलाले घटना तत्काल भएको जानकारी पाएपछि सबै नाकामा कडाइ गर्न र चेकजाँच गर्न निर्देशन दिए । उनले आधा घण्टामा परिणाम ल्याउन पनि कडा निर्देशन दिँदै सम्पर्क र निर्देशनमा व्यस्त रहे । प्रहरी कार्यालयबाट डीएसपी माधवप्रसाद काफ्ले र इन्स्पेक्टर रामसागर सिंहको छुट्टाछुट्टै टोली निक्लियो ।
राजविराजबाट ९ किलोमिटर उत्तर रूपनी नजिक पुगेका आरोपितको प्रदेश २–०३–०१३ प–४६८२ नम्बरको रातो रङको मोटरसाइकल र बालिकालाई समेत देखेपछि इलाका प्रहरी कार्यालय रूपनीको टोलीले शंका लागी घेराउ गर्यो । बालिकालाई प्रहरीले नै नाम र ठेगानासहित सम्बोधन गर्दै जानकारी माग्यो ।
बालिकाले हो भन्नासाथ प्रहरीले आरोपितलाई नियन्त्रणमा लियो । जिल्ला प्रहरी कार्यालयमा छोरीको खोजीको याचना गर्दै बसेका बालिकाका आमाबुवालाई सान्त्वना दिइरहेका प्रहरीले बालिका फेला परेको र आरोपित पक्राउ परेको खबर सुनाए । वाकीटकीमा प्रहरीहरूबीच भएको कुराकानी सुनेपछि मात्र बालिकाले आफू अपहरणमा परेको थाहा पाइन् ।
बालिकाले बताएअनुसार बिहीबार साँझ बालिकाका आमाबुवा औषधोपचारका लागि घरबाहिर निक्लिएका थिए । सोही मौका छोपी आएका अपरिचित व्यक्तिले विदेशबाट आएको बुवाको साथी भन्दै आँगनमा १५ मिनेटसम्म ७० वर्षीय हजुरबुवा र ६८ वर्षीय हजुरआमासँग कुरा गरे ।
आरोपितले शुक्रबार आफ्नो नयाँ घरबासको भोज भएकाले निम्तो मान्नका लागि घर हेरेर फर्किनु भन्दै बालिका र उनका १६ वर्षीय दाजुलाई छतबाट बोलाए । बुवासँग फोन गरेजस्तो नक्कल गरी विश्वास दिलाए । बालबालिकाले हजुरबुवा, हजुरआमासँग आँगनमा निकैबेर कुरा गरेको देखेर चिनजानकै होला भन्ठाने । वृद्धवृद्धाले पनि छोराको साथी भन्ने विश्वासमा परेर घर हेरेर फर्किहाल्नु भन्दै पठाए । केही बेरमा घर फर्केका बालिकाका बुवाआमाले कुनै साथीलाई लिन घर नपठाएको र कोहीसँग फोनमा समेत कुराकानी नभएको बताएपछि वृद्धवृद्धा पछुतो मान्दै चिन्तामा परे । उनीहरू सपरिवार जिल्ला प्रहरी कार्यालयमा पुगेर घटनाबारे बेलिविस्तार लगा ए।
बालिकाका दाजुलाई राजविराज–३ स्थित जिल्ला भूमिसुधार कार्यालय अगाडि एउटा घर देखाउँदै आरोपितले बस्दै गर्नु भनेर ओराले र बालिकालाई कपडा किनिदिने र वरिपरिलाई निम्तो दिएर फर्किने भन्दै लगे ।
बालिकाका अनुसार बेलाबेलामा प्रलोभन, डर त्रास देखाउने आरोपितले बुवासँग मोबाइलमा कुरा गरे जस्तो पनि गर्थे । बालिकाका दाजुले उक्त घरमा सोधपुछ गर्दा अर्कैको घर रहेको पत्तो पाए । तत्कालै प्रहरीलाई र आमालाई फोन गरेर जानकारी दिए । प्रहरीले घटनालगत्तै खबर पाएकाले आरोपित पक्राउ परेको एसपी धमलाले बताए ।
स्थानीयवासीबाट आरोपित देव यसअघि अनेकौं आपराधिक घटनामा संलग्न रहेको जानकारी आएकाले थप अनुसन्धान समेत भइरहेको इन्स्पेक्टर सिंहले बताए ।
यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।





















प्रतिक्रिया