काठमाडौं: काभा महिला भलिबल च्याम्पियनसिप अन्तर्गत नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ।
आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
नेपालले खेलमा २५-१२, २५-९ र २५-२० को जित निकाल्दै घरेलु समर्थकमाझ शानदार प्रदर्शन गर्यो। समूह ‘ए’ मा रहेको नेपालको यो तेस्रो खेलमा दोस्रो जित हो।
यसअघि नेपालले किर्गिस्तानलाई सोझो सेटमा हराएको थियो भने भारतसँग ३-२ को प्रतिस्पर्धात्मक हार बेहोरेको थियो। माल्दिभ्सविरुद्धको जितसँगै नेपालले महत्वपूर्ण ३ अंक जोड्दै कुल ७ अंक पुर्यायो र समूहको शीर्ष स्थानमा रहँदै सेमिफाइनल यात्रा तय गर्यो।
आजको खेलमा नेपाली टोलीकी कप्तान निरुता ठगुन्ना उत्कृष्ट प्रदर्शनसहित ‘प्लेयर अफ दि म्याच’ घोषित भइन्। नेपालले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गर्दै माल्दिभ्सलाई कुनै पनि सेटमा खेलमा फर्किन अवसर दिएन।
समूहमा भारत ५ अंकसहित दोस्रो स्थानमा रहेको छ भने किर्गिस्तानको ३ अंक छ। माल्दिभ्स भने अंकविहीन रहँदै समूह चरणबाट बाहिरिएको छ।
अब सोमबार हुने भारत र किर्गिस्तानबीचको खेलले यस समूहबाट सेमिफाइनल पुग्ने अर्को टोलीको टुङ्गो लगाउनेछ। भारतलाई अन्तिम चारमा पुग्न जित मात्र पर्याप्त हुनेछ भने किर्गिस्तानलाई सेमिफाइनल पुग्न भारतविरुद्ध सोझो सेटको जित आवश्यक पर्नेछ।
यसअघि आइतबार नै भएको अर्को खेलमा इरानले श्रीलंकालाई २५-१६, २५-१३ र २५-११ ले पराजित गरेको थियो। अब नेपालले सेमिफाइनलमा इरान वा काजखस्तानमध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ।





















प्रतिक्रिया