Logo

विचार / ब्लग

हाट बजारमा कांग्रेस महाधिवेशन !



नेपाली कांग्रेसको १४ औं महाअधिवेशन जति नजिकिँदैछ त्यती नै कांग्रेसी नेता कार्यकर्ताहरुको चहलपहल बढ्दैछ । निर्वाचनको बेलामा  र अधिवेशनमा मात्र ज्यादै सक्रिय हुने कांग्रेसको पुरानै रोग हो । हुन त नेपाली कांग्रेसको १४ औं महाअधिवेशन हुने नहुनेमा अझै शंका कै घेरामा छ । सदस्यता नविकरण र नयाँ सदस्यता वितरणको विवाद छानबिनमै रुमलिएको कांग्रेस यतिखेर निकै तीव्रताका साथ काम गरिरहेको छ । समय भने निकै घर्किसकेको छ । तथापि महाअधिवेशनको कार्यतालिका नजिकिँदै गर्दा जिल्ला-जिल्लाका विवादहरु सल्टाउँदै लगिएको छ । कतिपय विवादहरु शीर्ष केन्द्रीय नेतृत्वबाटै टुंग्याउनु पर्ने देखिएको छ ।

गत २०७६ चैतदेखि विश्वव्यापी रुपमा फैलिएको कोभिड -१९ कोरोना संक्रमणले विश्व नै तहस नहस भएको र यसको असर नेपालमा पनि प्रत्यक्ष प्रभाव परेको थियो । हजारौ मानिसहरुले मृत्युवरण गरिसकेका छन भने लाखौको संख्यामा संक्रमित छन । पहिलो दोस्रो हुँदै तेस्रो चरणको डेल्टा भाइरस पनि मुलुकमा भित्रिसकेको छ । स्वास्थ्य मन्त्रालयले पनि पछिल्लो समय कोरोना महामारीको तेस्रो लहर संक्रमण जोखिम सुरु भइ सकेको बताइरहेका छन् । दिनहुँ संक्रमित र मृत्यु दरको ग्राफ बढ्दो छ । यही विषम परिस्थितिलाई ध्यान राखेर नेपाली कांग्रेसको १४ औं अधिवेशन गर्न नचाहने वा सार्न खोज्‍ने वर्गका लागि अवसर मिलेको छ । एक पक्ष जसरी भए पनि महाअधिवेशन सार्ने वहानाको उपयुक्त खोजीमा छन् । अर्को पक्ष महाधिवेशनको मोडालिटी परिवर्तन गरेर भए पनि तोकिएकै मितिमा गर्नुपर्ने अडानमा छन् । यही बहाना नै सबैभन्दा उपयुक्त र काफी ठानिँदैछ । समयले पनि त्यतैतिर डोर्‍याउँदै छ।

पार्टीको विधानमा व्यवस्था भए अनुसार प्रत्येक चार-चार वर्षमा गरिने महाधिवेशन समयमा नगरि एक वर्षको म्याद थपेर पनि नगरेको र संविधान निर्वाचन ऐन कानुन र पार्टी विधानले नै अप्ठ्यारोमा पारेको हुँदा भदौ महिनामा गर्नैपर्ने बाध्यात्मक व्यवस्था भए अनुसार २०७८ साउन १२ गते स्थानीय तह हुँदै भदौ १६-१९ को नयाँ मिति तय गरिएको हो । 

तर, नेपाली कांग्रेसले भदौ १६-१९ गते आफ्नो १४ औं महाअधिवेशनको कार्यतालिका सार्वजनिक हुनासाथ स्थानीय तहदेखि माथिल्लो तहका कांग्रेसका नेताहरु नेता बन्‍ने र बनाउन गाउँ सहर जिल्ला पस्‍न थालिसकेका छन् । यतिखेर जिल्ला-जिल्लामा सक्रिय सदस्यको संख्या प्रतिनिधि छनोट के-कति आउने हो, त्यसको लेखाजोखादेखि जिल्ला, क्षेत्र, नगर र पालिकामा कसले नेतृत्व हत्याउने त्यता केन्द्रित हुन थालेका छन् । यता केन्द्र भने महाअधिवेशन गरौँ कि नगरौँ हुन्छ कि हुन्‍न भन्‍ने द्विविधामा छन् ।

पार्टी विधान र संविधानले दिएको अवधि भुक्तान गरेर पार्टीको अस्तित्व नै अप्ठ्यारो पारेको हुँदा यो भदौसम्म गर्नैपर्ने बाध्यात्मक परिस्थितिमा पनि महाधिवेशन सार्ने छिद्रहरुको जोडतोडले खोजी भइरहेको छ । संस्थापन पक्षका केन्द्रीय नेताहरुको बेलाबेलाको अभिव्यक्तिले यही कुरा दर्शाउँछ ।

महाअधिवेशन सार्ने प्रपञ्‍चहरु

१. गत वर्षदेखि नै कोभिड-१९ कोरोना संक्रमणको बेलामा लगाइएको लकडाउन र निषेधाज्ञालाई शून्य समय मानेर अदालती प्रकियाबाट नै अधिवेशन सार्ने रणनीति संस्थापन पक्षले गर्न लागेको छ । यो पहिलो अभ्यास हुनेछ । यदि यो प्रयास सफल हुन सकेन भने, 

२. दोस्रो विकल्पको रुपमा सदस्यता नविकरण, नयाँ सदस्यता विवाद र समायोजनको बखेडा झिकेर स्थगन वा अदालतमा आफ्ना पक्षबाट मुद्दा हाल्ने वा अर्को पक्षलाई मुद्दा हाल्न बाध्य पारेर अदालतबाटै रोक्ने प्रयास हुनेछ । नभए,

३. तेस्रो विकल्पको रुपमा राजनीतिक दल सम्बन्धी ऐन नियमावली २०७३ को विविध परिच्छेद २० अन्तर्गत उपधारा ५४ को सजायमा व्यवस्था भए अनुसार पार्टीले एक पटक जरिवाना तिरेर भए पनि त्यस धाराको उपयोग गर्दै महाधिवेशन सार्ने योजनामा संस्थापन पक्ष रहेको बुझिन आएको छ । त्यसो भएन भने,

४. चौथो र अन्तिम विकल्पको रुपमा प्रधानमन्त्री केपी ओलीसँग मिलेर दलसम्बन्धी अध्यादेश जारी गर्न लगाएर केही समयका लागि सार्ने विकल्पको रुपमा अघि सारेको पाइन्छ । 

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा नेतृत्व हत्याउन वर्तमान सभापति शेरबहादुर देउवा, विमलेन्द्र निधी, रामचन्द्र पौडेल, डा. शेखर कोइराला, डा. शशांक कोइराला, प्रकाशमान सिंह र कल्याण गुरुङले उम्मेदवारको रुपमा आफूलाई प्रस्तुत गरिसकेका छन् । गत निर्वाचनमा सभापतिको उम्मेदवार रहनु भएका पार्टी नेता कृष्णप्रसाद सिटौलाले अहिलेसम्म मुख खोल्नु भएको छैन । तर, यी सबै नेताहरुले कार्यकर्ताहरुको भेटघाटलाई तीव्र बनाएका छन् । कार्यकर्ताहरु पनि नेता भेटघाटमा ब्यस्त हुन थालेका छन् । 

नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा तीनवटा पक्ष शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला देखिएका थिए । पहिलो चरणमा नेतृत्व चयन हुन नसकि दोस्रो चरणमा कृष्ण प्रसाद सिटौलाको सहयोगमा शेरबहादुर देउवा निर्वाचित हुनुभएको थियो । यसपटक भने देउवा पक्षबाट विमलेन्द्र निधी उठ्ने कुराले संस्थापन पक्षलाई टाउको दुखाइको विषय बनेको छ । त्यसैगरि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट डा. शेखर कोइराला, डा. शंसाक कोइराला, प्रकाशमान सिंह र कल्याण गुरुङ उठ्ने चर्चाले त्यता पनि टाउको दुखाइको विषय भएको छ । तर केन्द्रिय तहका, जिल्ला र स्थानीय तहका नेताहरु एउटा एउटा मात्र उम्मेदवार भए राम्रो हुनेछ भनेर दुवैतर्फ आफ्ना नेताहरुलाई दबाब सृजना गर्दैछन ।

त्यसैगरि महामन्त्री पदमा गगन थापा उठ्ने चर्चाले देशभरि आम नेता कार्यकर्तामा एक प्रकारको खुशीयाली छाएको देखिन्छ । गगन थापा देशभरि नै विगतका आम निर्वाचन होस् या स्थानीय र प्रदेश र नगर गाउँपालिकाको निर्वाचनमा महत्वपूर्ण योगदान दिएको, त्यसैगरि प्रतिपक्षी पार्टीसँग गरेका प्रतिकार वा अभिव्यक्तिले महामन्त्रीमा उनी बलिया उम्मेदवार हुने देखिन्छन् । उनले संसद्‌मा होस् वा पार्टीमा देखाएको दमदार प्रस्तुतीले उनको चर्चा दिनानुदिन चुलिँदै गएको छ । यसैलाई मध्यनजर राखेर पार्टी सभापतिका सबै उम्मेदवारले आफ्नो समूहमा राखेर निर्वाचनमा जान सबै लालायित छन् । तर हिजो कृष्ण प्रसाद सिटौला समूहमा रहेर महामन्त्रीमा उठेको हुनाले सिटौलाले मुख नखोलुञ्‍जेल यसै भन्‍न सकिने अवस्था होइन । नेता गगन थापा पनि वर्तमान समयलाई नजिकबाट नियालिरहेका छन् । तर, उनले पनि आफू केमा उठ्ने मुख खोल्न सकेका छैनन् । 

आफूहरुलाई दोस्रो पुस्ताका नेता भन्‍नेहरु गोपालमान श्रेष्ठ, डा. रामशरण महत, अर्जुन नरसिंह केसी, सुजाता कोइराला, रमेश लेखक, बालकृष्ण खाँड, डा. प्रकाश शरण महत, चन्द्र भण्डारी, डा. डिला संग्रौला, चित्रलेखा यादव, विजय गच्छदार, एनपी साउद, कमला पन्त, प्रदिप पौडेल, शंकर भण्डारी, मीन विश्वकर्मा लगायतका थुप्रै नेताहरु आफू र आफ्ना नेतालाई कसरी सुरक्षित राख्‍ने भन्‍ने कुरामा नै ध्यान केन्द्रित राखेका छन् । यिनीहरु जिल्लामा आ-आफ्ना समर्थक नेताहरुलाइ कसरी नेतृत्व तहमा प्रतिनिधी  ल्याउन सकिन्छ भनेर लागेका छन । वडा, स्थानीय तह, पालिका, नगर र जिल्ला तहका नेताहरु पनि आफूहरु कसरी नेतृत्वमा आउन सकिन्छ भनेर हिजो आज शीर्ष नेताहरुको दैलौदैलो चहार्न थालेका छन् । केन्द्रबाटै क-कसलाई कुन-कुन तहको नेतृत्वमा ल्याउने जोड घटाऊमा लागेका छन् । यही सिलसिलामा सक्रिय सदस्यता नदिने, हटाउने, थप्‍नेजस्ता क्रियाकलापले पार्टीमा नयाँ-नयाँ उल्झन आउन थालेको छ । यस्तै उल्झन पार लगाउन, झमेला थप्‍न, नेता बन्‍न, बनाउन, नेता कार्यकर्ताहरु शीर्ष नेताहरुको घर-घरमा ओहोर-दोहोर गरेर बाक्लै भीडभाड बढ्न थालेको छ । 

त्यसैले, हिजो-आज कांग्रेसका शीर्ष नेताहरुका घर-घरमा १४ औं महाअधिवेशनको पूर्व सन्ध्यामा कांग्रेसी हाट बजार खुला भएको छ । तराईको हाट बजारमा लाग्‍नेजस्तो सस्तो दाममा अन्तिममा (वस्तु ) सामान बेच्ने किन्‍नेजस्ता ग्राहक बिक्रेताझैँ नहुन कांग्रेसीहरु । साउन १२ गते वडादेखि भदौ १६-१९  राष्ट्रिय महाधिवेशनमा हुने कांग्रेसी हाट बजारमा यसपटक किनबेचमा नलागी वडा तहदेखि माथिल्लो तहसम्म विवेक पुर्‍याइ उपयुक्त आवश्यक नेता चुन्‍न र चयन हुन सकोस् । भावी नेतृत्व र कार्यदिशा पनि प्रष्ट आओस् । हाट बजारका ताजा वस्तु पहिले नै किनेझैँ यसपटक नेपाली कांग्रेसको १४ औ महाधिवेशनबाट कुशल नेतृत्व, कर्मशील, निस्वार्थी, मेहनती, दुरदर्शी, र भावी नेतृत्व चयन गर्ने सबैको ध्यान पुगोस् । १४ औं महाअधिवेशन हाट बजारको भीडमा मात्र सीमित नहोस् ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार १२:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।