Logo

स्वास्थ्य

कालीकोटमा कोभिड-१९ को सङ्क्रमण बढ्दो



कालीकोटमा पछिल्लो चरणमा कोभिड-१९ सङ्क्रमणको दर बढ्दै गएको छ । निषेधाज्ञा खुकुलो बनाएसँगै यहाँ कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको हो । निषेधाज्ञा खुकुलो बनाएका कारणले नागरिक तथा सरोकारवाला निकायले कोभिड–१९ को मापदण्ड पालना नगर्दा कोभिडको सङ्क्रमण दर बढेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । 

शनिबार २३ व्यक्तिको परीक्षण गर्दा १३ मा कोरोना सङ्क्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका निमिक्त व्यवस्थापक कटकबहादुर महतले बताउनुभयो । उनले भने , “केही समयअघि शून्यमा झरेको कोभिड–१९ को सङ्क्रमण दर पछिल्ला दिनमा बढ्दै गएको छ ।”

सङ्क्रमण दर बढ्दै गएकाले जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले आजदेखि यही साउन २१ गतेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए । “शैक्षिक संस्था, सबै प्रकारका सभा, जुलुश, ¥याली, गोष्ठी, तालीम, सेमिनार, प्रदर्शन, भेला, सम्मेलन र सबै प्रकारका खेल प्रस्तुतिमा रोक लगाइएको छ”, उनले भने  , “जिल्लामा कोभिड–१९ को महामारीको सङ्क्रमण दर बढ्दै गएका कारणले जोखिम न्यूनीकरणका लागि निषेधाज्ञा जारी गरिएको हो ।”

हाल जिल्लामा सक्रिय सङ्क्रमित ७८ जना रहेका र त्यसमध्ये ३७ महिला र ४१ पुरुष रहेका छन् । तीमध्ये कोभिड–१९ विशेष अस्पतालमा २० को उपचार भइरहेको, आइसोलेशन सेन्टरमा २५ को उपचार भइरहेको र होम आइसोलेशनमा ३३ जना रहेका जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : १० श्रावण २०७८, आईतवार १६:१६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।