Logo

कर्पोरेट फोकस

नेपाल टेलिकमको गत आवमा ७ अर्ब ४५ करोड ४० लाख आम्दानी 



नेपाल टेलिकमको खुद मुनाफामा गिरावट आएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा खुद मुनाफा घटेको हो । 

सरकारी स्वामित्वको कम्पनीले गत आवमा ७ अर्ब ४५ करोड ४० लाख ८५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेपनि अघिल्लो आवमा भने खुद मुनाफा ९ अर्ब ७४ करोड ८९ लाख ५६ हजार रहेको थियो । 

गत आव को तेस्रो त्रैमासिक अवधिसम्ममा खुद मुनाफा ५ अर्ब ८८ करोड ४४ लाख ७२ हजार रहेकोमा चौथो त्रैमासिक अवधिमा १ अर्ब ५६ करोड ९६ लाख १२ हजारले वृद्धि भई ७ अर्ब ४५ करोड ४० लाख ८५ हजार रहेको छ ।

कम्पनीका अनुसार अघिल्लो आवको असार मसान्तको अन्तिम लेखापरीक्षणपश्चातको कुल सेवाबापतको आय ३४ अर्ब ६१ करोड ९९ लाख ६४ हजार रहेकोमा गत आवको सोही अवधिमा कुल सेवाबापतको आय १ अर्ब २८ करोड ३७ लाख ६९ हजार (३.७० प्रतिशत) ले वृद्धि भई ३५ अर्ब ९० करोड ३७ लाख ३३ हजार रहेको छ ।

त्यस्तै, अघिल्लो आवको चौथो त्रैमासिक अवधिमा कुल सेवाबापतको आय ७ अर्ब ७८ करोड ३३ लाख २० हजार रहेकोमा गत आवको सोही अवधिमा कुल सेवाबापतको आयमा ६६ करोड ९० लाख ६० हजार (८.६० प्रतिशत)ले वृद्धि भई ८ अर्ब ४५ करोड २३ लाख ८० हजार रहेको छ । 

कोरोना महामारी, बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेप तथा कुल निक्षेपमा पाइने ब्याजदर घट्नु, महामारीमा ग्राहकलाई कम मूल्यमा डेटा प्याकेज उपलब्ध गराइनु, महामारीका कारण अन्तर्राष्ट्रिय यात्रामा प्रतिबन्ध लगाइँदा अन्तर्राष्ट्रिय रोमिङ सेवामा गिरावट आउनु र ओटीटीको बढ्दो प्रयोगले अन्तर्राष्ट्रिय अन्तराबद्धता सेवामा गिरावट आउनु, मर्मत खर्च बढ्नु, विदेशी विनिमय दरमा परिवर्तनजस्ता कारणले मुनाफा घट्न पुगेको टेलिकमले स्पष्टीकरण दिएको छ । 

प्रकाशित मिति : ३१ श्रावण २०७८, आईतवार १३:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।