भक्तपुर । सहकारी र बैंकले दशैँअगाडि पैसा फिर्ता गर्न नसकेको कुरा यथावत् नै छ । पैसा फिर्ता नपाँउदा धेरैको दशैँ खल्लो बन्यो । मानौं, दशैँको रौनक नै हरायो । न घर जान पाए न खर्च गर्नलाई आफ्नो साथ पैसा भयो । त्यतिखेर पैसा फिर्ता गर्न नसकेपनि दशैँपछि त गर्लान भनेर धेरै सर्वसाधारणहरु आश बोकेर बसेका थिए । तर, उनीहरुको आशा निराशामा परिणत भएको छ ।
अहिलेको अवस्थामा पनि खासै सुधार आएको छैन् । दशैँमा नदिए नि तिहार राम्रो मनाउँला भनेर बसेकाहरु चिन्तित भएका छन् । दशैँमा घर जान नपाएपनि तिहारमा जाउँला भनेर बसेका थिए । तर, त्यो पनि पूरा होला जस्तो देखिदैन् । सहकारीमा पैसा निकाल्न जानेको भीड हुन्छ । दिनभरि सहकारीमा कुरुवा बस्छन्, बेलुका रित्तो हाल घर फर्किन्छन् । सहकारी र बैंकमा डिपोजिट गर्नेको संख्या शुन्य झैँ छ ।
वित्तिय संस्थालाई जनताले विश्वास गर्न छोडिसकेका छन् । बैंक र सहकारीमा मेला लागेभन्दा कम भीड छैन् । राख्ने कोही छैनन्, झिक्ने मात्र भेटिन्छन् । दशैँपछि पनि कति सहकारीले कुलेलम ठोकिसकेको छ । भागेको सहकारीहरुको नाम सहकारी विभागले सार्वजनिक गर्दैन । गोप्य रुपमा राखेको छ । कति सहकारी भागे ? कति सहकारी नाजुक छ ? कति धरासायी बनेका छन् ? र कति चलेको छ ? यसको विवरण पनि विभागले बाहिर ल्याउदैन् ।
हरेक कुनाबाट सहकारीलाई जोगाउन खोजिरहेको छ, विभाग । तर, ती संस्थालाई बचाउन खोज्दा जनता ठगिएको चाहिँ देखेको छैन् । विभाग सहकारीहरुको रक्षक बन्दा जनता मारमा परेका छन् । बल्लतल्ल १५ दिनमा पाँच हजार पैसा दिने निर्णय गरेका छन् । ब्याज दिएको हो कि सावा सर्वसाधारणलाई अत्तोपत्तो छैन । तर, त्यो पनि पाए त हुन्थ्यो । आफ्नो बचत भएको सहकारीको अवस्था कस्तो छ ? सर्वसाधारणलाई थाहा छैन् ।
बढी ब्याज र ऋणको प्रलोभनमा परेर कसैकसैले डिपोजिट राखेका छन् । तर, विभागबाट उनीहरुलाई सचेत गराउने काम भएको छैन् । जनता फसाउने कि बचाउने यसको चाबी विभागसँग छ । विभाग नै सहकारीको पक्षमा उभिँदा सिधासाधा जनताहरु मारमा परेका छन् । जनता र राष्ट्रका लागि काम गर्नुपर्ने सहकारी विभाग सहकारी सञ्चालकका लागि खटिएका छन् ।
फस्ने सिधासाधी जनता मात्र हुन् । सञ्चालकहरु सबै कुम्ल्याएर भागिहाल्छन् । सहकारीले २२ देखि ३६ प्रतिशतसम्म ब्याज दिने भनेको छ । यता, बैंकले १८ प्रतिशतसम्म ब्याज पुर्याएका छन् । तर, ब्याजको लोभमा पर्दा सावा नै डुब्ने हुन्छ । सहकारी विभागले कर्जा लगानी गर्दा १६ दशमलव ३ प्रतिशतभन्दा ब्याज लिन नपाउने कानुन बनाएको छ । त्यस्तै, एक प्रतिशतभन्दा बढी सेवाशुल्क लिन नपाउने प्रावधान छ ।
तर, ब्याज ४८ प्रतिशतसम्म र सेवाशुल्क पाँच प्रतिशत लिने काम भइरहेको छ । यता, बैंकले ९ प्रतिशत ब्याज र एक प्रतिशत सेवाशुल्क भनेर कर्जा दियो । अहिले ब्याजदर बढाएर १८ प्रतिशतभन्दा बढी पुर्याएको छ । १० लाख रुपैयाँ घुस खाएर एक करोड कर्जा दियो, त्यो पनि धितो राखेर । बैंक र सहकारीको ऋण तिर्न नसक्ने उल्लेख गर्दै व्यवसायीहरुले हात उठाइसकेका छन् ।
उनीहरु आफ्नो व्यापार व्यवसाय नै बन्द गरेर सडकमा आउन तयारी थालेका छन् । कतिपय ठाँउमा व्यवसायी बन्द गरिसकेका छन् । यता, सावा र ब्याज नतिर्ने भन्दै व्यवसायीहरुले चाबी बुझाउने सुरसार कसेका छन् । घरजग्गा, सेयर र गाडी धितो राखेर ऋण लिनेहरुले समेत धितो लिलाम गर्न भनेका छन् । कर्जा तिर्न नसकेपछि उनीहरुले धितो लिलाम गर्न सुझाएका छन् ।
कर्जा तिर्न नसकेपछि कोही भाग्छन् । कसैले धितो नै छोडिदिन्छन् । अनि सबै बैंक र सहकारीकै थाप्लोमा आँउछ । यता, ऋणीहरुले कर्जा फिर्ता गर्न सक्दैनन् । सेयर र घरजग्गामा मन्दी आएको छ । अनि बैंक त डुब्ने भइहाल्यो । बैंक डुब्यो भने डिपोजिटकर्ताहरुको बिल्लीबाठ हुन्छ । ब्याज खान राखेको पैसा धरापमा परेको छ । बैंकले व्यापार व्यवसायलाई सहज वातावरण बनाइदिनुको साटो च्याप्न खोज्यो ।
कर्जा तिर्ने समयावधि बढाइदिएको भए र ब्याज केही हदसम्म घटाइदिएको भए व्यवसायीहरु व्यवसाय नै बन्द गरेर सडकमा आँउदैनथे । बैंकले व्यवसायी र सर्वसाधारण दुवैलाई डुबाउन खोज्यो । जनताको विश्वास गुमाइसकेका सहकारीले आफ्ना झुठा प्रगति विवरण सार्वजनिक गरेर डिपोजिट लिन खोजिरहेका छन् । सीधासाधी जनताले ब्याजको लोभमा पैसा राख्लान् भनेर सहकारीले अनेकौं कोसिश गरेको छ ।
सहकारीमा भएको खाता धमाधम बन्द गर्ने काम भइरहेको छ । नयाँ खाता खोल्ने कोही छैनन् । वृद्धदेखि बालकसम्मलाई सहकारी डुबिसक्यो, यिनीहरु आज कि भोलिको अवस्थामा छ भन्ने कुरा थाहा छ । एक वर्षअघि दैनिक एक लाखदेखि तीन लाख उठाउने बजार प्रतिनिधिहरुलाई अहिले पाँच हजार उठाउन पनि मुश्किल छ । जसका कारण अधिकांशले जागिर छोडिसकेका छन् । कतिपयलाई धमाधम हटाइँदै छ ।
बजार प्रतिनिधिलाई पैसा उठाउन साह्रो सकस छ । जता गए पनि सहकारी भागेको चर्चा मात्र छ । कतिपयले आफ्नै सहकारीको भवन छ, हामी भाग्दैनौ भनेर सर्वसाधारणलाई फकाइरहेका छन् । सहकारीमा जम्मा भएको पुँजी सबै घरजग्गा र सेयरमा लगानी गर्दा अहिले यस्तो अवस्था बनेको हो । एक वर्ष अघि ६० लाखमा किनेको जग्गाको अहिले भ्यालेसन नै हुँदैन ।
खरिदबिक्री ठप्प भइसकेको छ । यता, सेयरमा पनि मन्दी छाएको छ । चार हजार प्रति कित्ता किनेको सेयर एक सय रुपैयाँमा पनि बिक्री हुँदैन। सवारी साधनमा पनि त्यस्तै छ । बढी सेवाशुल्क लिन पाउने अनि बढी ब्याज आउने देखेपछि यही क्षेत्रमा मात्र लगानी गर्ने काम भयो । जसको प्रतिफल आज बैंक र सहकारीले भोग्दै छ । अहिले जतिले घरजग्गा, सेयर र गाडी किनेका छन्, तीमध्ये ९० प्रतिशतले बैंक र सहकारीबाट कर्जा लिएका छन् ।
बैंक र सहकारीले आँखा चिम्लेर यो क्षेत्रमा लगानी गर्यो । अहिले यी क्षेत्रमा पुरै मन्दी छाएको छ । पुराना बेच्न खोज्छन् तर नयाँ फस्न चाहदैनन् । बेचेर बैंकको कर्जा तिरौँ भन्नेले पनि पाएका छैनन् । उद्योग व्यवसायीहरुले ऋण तिर्न नसक्ने घोषणा गरिसकेका छन् । उद्योगको चाबी वित्तीय संस्थालाई बुझाउने तिनको भनाइ छ । अर्थ मन्त्रालयले बैंक फाइनान्सले बढाएको ब्याज हस्तक्षेप गरेर रोक्नका लागि एउटा कमिटी गठन गरेको थियो ।
त्यो कमिटीले समेत बैंक फाइनान्सले बढाएको ब्याजमा हस्तक्षेप गर्न नहुने बतायो । ब्याज बढाउने, घटाउने निर्णय बैंक फाइनान्समाथि नै खुला छोडिदिनुपर्ने भन्दै कमिटीले प्रतिवेदन तयार पारेको थियो । पछिल्लो समय बैंकहरुले विभिन्न अफर ल्याएको छ । ‘अहिले एक लाख ल्याएको राख्नुस्, २१ वर्षपछि २१ लाख लिएर जानुस्’, यस्तो विज्ञापन बजाएर सीधासाधी जनतालाई फसाउन खोजिरहेका छन् ।
कलाकार नचाएर बैंकले विज्ञापन दिने गरेको छ । यता, ब्याजको लोभमा परेर सर्वसाधारणहरु पनि फस्ने भएका छन् । उद्योग व्यवसायी भन्छन्,‘सरकारले वित्तिय संस्थामाथि हस्तक्षेप गर्नुपर्छ, ब्याज बढाउन दिनुहुन्न ।’ बैंक फाइनान्सहरु सरकारले हस्तक्षेप गर्न नहुने र स्वतन्त्र छोडिदिनुपर्ने माग राख्दै आएका छन् । यहाँ पनि मतभेद भएको छ । बैंक र उद्योग व्यवसायीबीच द्धन्द्ध चलेको छ ।
बैंक फाइनान्समा तरलता घट्ने होइन् बढ्ने भो । नयाँले डिपोजट राख्दैनन्, पूरानाले कर्जा तिर्दैनन् । एक करोडको धितो राखेर ६० लाख ऋण दिएको छ । तर, व्यवसायीले कर्जा नतिर्ने घोषणा गरेका छन् । करोडको धितो ८० लाखमा आँउछ अनि ६० लाख रकम लिएकाले सावा ब्याज नतिर्दा करोड पुग्छ । व्यवसायी मात्रै होइन् बैंक फाइनान्स पनि डुब्छन् । बैंकमा पैसा भएकाहरुको रातको निद्रा र दिनको भोक हराउने निश्चित छ ।
पैसा निकाल्न गयो, ब्याज बढाइदिन्छु भनेर फकाउँछ । चिया र कफी खुवाएर पठाउँछ । खाली म्याद थपेको थपेकै गर्छ । असारदेखि अहिलेसम्म हेर्ने हो भने पैसा राख्ने शुन्य छन्, निकाल्नेको क्रम चलेको छ । अर्थविद्हरु अर्थतन्त्रमा खतरा पर्ने बताउँछन् । केही समयपछि बैंकहरुले एटीएम नै बन्द गर्ने उनीहरुले बताएका छन् । बैंकमा राखेको पैसा बेलैमा निकालौँ । बैंक फाइनान्स डुब्नुअगावै आफ्नो पैसा सुरक्षित पारौँ ।
















प्रतिक्रिया