Logo

कर्पोरेट फोकस

तिहार तथा छठमा निःशुल्क मोबाइल बैंकिङ फन्ड ट्रान्सफर



काठमाण्डौ । यसपालिको तिहार तथा छठका अवसरमा मोबाइलमा आधारित फन्ड ट्रान्सफरलाई थप प्रवर्द्धन गर्नका निम्ति कुनै पनि मोबाइल बैंकिङबाट कनेक्टआईपीएसमार्फत फन्ड ट्रान्सफर गर्दा कुनै पनि शुल्क नलाग्ने भएको छ ।

यो अफर कात्तिक ७ गतेदेखि कात्तिक १३ गतेसम्म लागू हुनेछ । चाड पर्वको बेलामा नगदको सट्टा मोबाइलमा आधारित फन्ड ट्रान्सफर गर्न थप प्रोत्साहन गर्नका निम्ति एनसीएचएल तथा बैंक तथा वित्तीय संस्थाको समन्वयमा यो अफर लागू गरिएको हो ।

फन्ड ट्रान्सफर गर्नका निम्ति आफ्नो मोबाइल बैंकिङ एपमा लग–इन गरी ‘फन्ड ट्रान्सफर’ वा ‘सेन्ड मनी’मा क्लिक गरी फन्ड ट्रान्सफर गर्न कनेक्टआईपीएसलाई छनोट गर्नुपर्ने हुन्छ । कनेक्टआईपीएसको फन्ड ट्रान्सफरको विकल्प ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाको मोवाइल बैंकिङमा उपलब्ध रहेको छ भने उक्त माध्यमबाट फन्ड ट्रान्सफर गर्न कनेक्टआईपीएसमा छुट्टै रजिस्टर गर्न आवश्यक छैन ।

हाल मोवाइल बैंकिङमा रहेको कनेक्टआईपीएसमार्फत प्रतिदिन प्रतिकारोबार रु। २ लाखसम्मको फन्ड ट्रान्सफर गर्न सकिन्छ ।

यस निःशुल्क फन्ड ट्रान्सफरको प्रावधानले फन्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीका लागि मोबाइल बैंकिङको बढ्दो प्रयोगलाई थप प्रोत्साहन गर्नुका साथै चाडपर्वको समयमा नगदको प्रयोग पनि घटाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।

कनेक्टआईपीएस फन्ड ट्रान्सफर तथा यसको च्यानल प्लेटफर्म एनपीएसअन्तर्गतको रिटेल पेमेन्ट स्विचमार्फत सञ्चालनमा रहेको छ । कनेक्टआईपीएसमार्फत चालु आर्थिक वर्षको पहिलो ३ महिनामा रु। ५८२ अर्बबराबरको १ करोड १० लाखभन्दा बढी भुक्तानी कारोबार फर्छ्यौट भइसकेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आईतवार १८:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।