Logo

अर्थ

मझगाउँ विमानस्थल निर्माण प्रभावित



कञ्चनपुर । कञ्चनपुरको मझगाउँ विमानस्थललाई जग्गाको स्वामित्व प्राप्त हुन नसक्दा विमानस्थल निर्माण प्रभावित भएको छ । विमानस्थलको दक्षिणतर्फ रत्न बाटिका र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेना मातहत रहेको जग्गा विमानस्थलले नपाउँदा निर्माण कार्य स्थगन भएको हो ।

अहिले विमानस्थलको लम्बाइ करिब एक हजार मिटर छ । उक्त क्षेत्रमा धावनमार्ग निर्माण अधुरै छ । रत्न बाटिका र सेनाले भोगचलन गरिरहेको जग्गासहित जोड्दा विमानस्थलको लम्बाइ दुई हजार पाँच सय मिटर पुग्छ तर उक्त जमिनको भोगाधिकार विमानस्थलको नाममा नहुँदा धावनमार्ग निर्माणको काम रोकिएको विमानस्थल आयोजना प्रमुख मीनराज ओझाले बताए ।

उनले सेनाले भोगचलन गरिरहेको जमिनको भोगाधिकारका लागि मन्त्रालयमा प्रक्रिया अघि बढेको बताए । “तीनवटा मन्त्रालयसँग समन्वय गरेर निर्णय गर्नुपर्ने भएकाले ढिलाइ भइरहेको छ”, उनले भने, “बीचमा दसैँ तिहार र निर्वाचनका कारण पनि काम हुन सकेन ।”

ओझाका अनुसार अहिले पनि जग्गाको स्वामित्वका लागि प्रक्रियामै रहेको र मन्त्रिपरिषद्को निर्णय हुन बाँकी छ । सेनाका मातहतमा रहेको जग्गा विमानस्थललाई दिने सहमति यसअघि भएको थियो । उनका अनुसार राजपत्रमा उक्त जग्गा विमानस्थलका लागि छोडिएको उल्लेख भए पनि सेनाका नाममा लालपुर्जा छ ।

कञ्चनपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रमेश लेखकले विमानस्थल निर्माणको काम अघि बढाउन पहल भइरहेको बताए । “जग्गाको विषयमा केही अलमल भएको हो, त्यो विषय छिट्टै टुङ्ग्याएर काम अघि बढ्छ”, उनले भने “त्यसका लागि म आफैँ पनि मन्त्रालयमा पुगेको छु, प्रक्रियागत कुराले ढिलाइ भएको हो ।”

विमानस्थल पुनः निर्माण सङ्घर्ष समितिका व्यवस्थापन संयोजक करन पालले विमानस्थललाई छिटोभन्दा छिटो सञ्चालनमा ल्याउनुपर्ने बताउनुभयो । “यहाँ विमानस्थलको आवश्यकता छ, यसले यहाँको पर्यटन विकासमा सहयोग पुग्दछ”, उनले भने, “हामीले पटकपटक सरकारसँग विमानस्थल सञ्चालनका लागि दबाब दिइरहेका छौँ ।” उनले निर्वाचनको बेला पनि दलहरूले विमानस्थल सञ्चालनको एजेण्डा बनाएकोले छिट्टै विमानस्थलको काम सञ्चालन हुने आशावादी रहेको बताए ।

भीमदत्त नगरपालिकाको १५, दोधारा चाँदनी नगरपालिकाको १०, सुदूरपश्चिम प्रदेश सरकारको २५ र नागरिक उड्डयन प्राधिकरणको ५० प्रतिशत गरी तीनै तहको साझेदारीमा विमानस्थल निर्माण भइरहेको हो । तीन वर्षभित्र निर्माण सक्ने गरी कान्छाराम/केएस/उमा एण्ड कम्पनीसँग रु ४५ करोड ६६ लाखमा सम्झौता भएको छ ।

पहिलो चरणमा धावनमार्गसँगै ट्याक्सी वे र एप्रोनलगायत काम हुनेछ । दोस्रो चरणमा टर्मिनल भवनदेखि पहुँचमार्ग निर्माण गरिने आयोजनाले जनाएको छ । विसं २०३४ देखि २०५७ सम्म सञ्चालनमा रहेको उक्त विमानस्थल सङ्कटकालका बेला सुरक्षाको कारण देखाउँदै बन्द गरिएको थियो । रासस

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलवार २०:३९   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।