Logo

अर्थ

चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनी कालोसूचीमा (सूचीसहित)



काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित गर्दै ती कम्पनीलाई एकदेखि दुई वर्षसम्मका लागि कालोसूचीमा राख्ने निर्णय गरेको हो।
कार्यालयका अनुसार सडक डिभिजन, चौरजहारी, रुकुम पश्चिमको सिफारिसमा शान्तबहादुर बस्नेत मुख्य व्यक्ति रहेको मालिका बस्नेत निर्माण सेवा, जाजरकोटलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ।
त्यस्तै, सडक डिभिजन महेन्द्रनगर, कञ्चनपुरको सिफारिसमा हरिस सिंह बुडाल मुख्य व्यक्ति रहेको पञ्चकोटी निर्माण सेवा, कञ्चनपुरलाई पनि दुई वर्षका लागि कालोसूचीमा राखिएको छ।
यसैगरी, लालीगुराँस नगरपालिका, तेह्रथुमको सिफारिसमा लिला देवी शाह मुख्य व्यक्ति रहेको आदित्य सप्लायर्स, बाँकेलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ।
नेपाल कृषि अनुसन्धान परिषद्, काठमाडौंको सिफारिसमा सुरेश पण्डित मुख्य व्यक्ति रहेको उज्यालो निर्माण सेवा प्रा.लि., सुविधानगर काठमाडौंलाई भने एक वर्षका लागि कालोसूचीमा राखिएको छ।
कार्यालयका अनुसार कालोसूचीमा राख्ने निर्णय सूचना प्रकाशित भएको मितिदेखि लागू हुनेछ। कालोसूचीमा परेका यी चारवटै कम्पनीले तोकिएको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन्।

प्रकाशित मिति : ४ मंसिर २०८३, शुक्रबार १२:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।