काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँसबारीस्थित शहीद गङ्गालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकास गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीको २७औँ वार्षिकोत्सवमा बोल्दै प्रधानमन्त्रीले गङ्गालाल हृदय केन्द्र नेपाली जनताको आशा र भरोसाको केन्द्र भएको बताए । जनताले यसलाई मुटुरोगको उपचार र आफ्नो भरोसाको केन्द्रका रूपमा बुझेका छन् । यसका लागि तपाईंहरू धन्यवादको पात्र हुनुहुन्छ । यसले आम रूपमा जनताको स्वास्थ्यप्रतिको संवेदनशीलतालाई प्रमाणित गर्दछ, प्रधानमन्त्रीले भने ।
प्रधानमन्त्री दाहालले शहीद गङ्गालाल हामी सबैले सम्मान गर्ने नाम भएको भन्दै तानाशाही र निरङ्कुशताविरोधी आन्दोलनका क्रममा शहादत प्राप्त गर्ने व्यक्तित्वको नाममा स्थापित हुनुको नाताले यस केन्द्रको भूमिका मुटुरोगका साथै लोकतन्त्रको सुदृढीकरण र सामाजिक न्यायसँग पनि जोडिएको बताए ।
“प्रधानमन्त्रीका रुपमा मेरो दोस्रो काल स्वास्थ्य क्षेत्रको विकासका निम्ति महत्वपूर्ण रह्यो । सोही कार्यकालमा स्वास्थ्य बीमा लागू भयो । प्रत्येक स्थानीय तहमा आधुनिक अस्पताल निर्माणको निर्णय लिइयो । स्वास्थ्य सेवालाई देशैभरि विस्तार गरियो । मेरो तेस्रो कार्यकालमा सातै प्रदेशमा विशेष स्वास्थ्य क्षेत्रसहित प्रदेश अस्पतालहरू निर्माण गरिनेछ । त्यसमा मुटुरोगको युनिट पनि राखिनेछ”प्रधानमन्त्रीले बताए ।
प्रधानमन्त्रीले आफू चुनौतीपूर्ण परिस्थितिमा प्रधानमन्त्री बनेको बताए । उनले भने, “अर्थतन्त्रको स्थिति तपाईहरूलाई थाहा नै छ । समाज निराशातिर जाने हो कि भन्नेखालका आशङ्का छन् । यस्तो परिस्थितिमा मैले सरकारको नेतृत्व गरेको छु । तसर्थ, हामीले देशलाई नयाँ उत्साह दिनुपर्ने छ । शिक्षा, स्वास्थ्य, रोजगारी, वैदेशिक रोजगारी, विकास र समृद्धिका क्षेत्रमा केही नयाँ गर्नुछ । यसका लागि तपाईंहरूको पनि सहयोग रहने मेरो विश्वास छ ।”




















प्रतिक्रिया