एजेन्सी । चीनका राष्ट्रपति सी जिनपिङ र बेलारुसका राष्ट्रपति अलेक्जेण्डर लुकासेन्कोले युक्रेनमा जतिसक्दो चाँडो शान्ति स्थापना गर्नुपर्ने बताएका छन । चीनमा आएका बेलारुसका राष्ट्रपतिसँगको छलफलमा चीनका राष्ट्रपति सिले बक्तव्य जारी गर्दै युक्रेनको युद्ध शान्तिपूर्ण तरिकाले चाँडो रोक्न आफूहरुको अत्याधिक चासो रहेको बताएका हुन । यी दुवै देशका राष्ट्रपतिलाई रसियाका पक्षधर भनेर आरोप समेत लगाइने गरिन्छ ।
बुधबार चीनका राष्ट्रपति सी र बेलारुसका राष्ट्रपति लुकासेन्कोबीचको भेटमा युक्रेन युद्धको विषयमा गहिरो चिन्ता ब्यक्त गरेको र जतिसक्दो चाँडो शान्ति स्थापना गर्नुपर्ने बताएको बेलारुसको राज्य नियन्त्रित एजेन्सी बेल्टाले जनाएको छ । बेलारुसले रुसलाई युद्धका लागि सहयोग गरेको र उनी रुसका लागि थप सहयोग जुटाउन चीन आएको आरोप पश्चिमा देशहरुले लगाएका छन् । चीनमा बेलारुसका राष्ट्रपति र चीनका राष्ट्रपतिले १२ बुँदे बक्तव्य जारी गरेका छन । १२ बुँदे बक्तव्यमा सबै देशहरुको संम्प्रभुताको सम्मान हुनुपर्ने उल्लेख गरेका छन । बेलारुसका राष्ट्रपति तीन दिनकाे भ्रमणका लागि चीन आएका थिए ।
बेलारुसले युक्रेन रुस युद्धको अन्त्यका लागि चीनले आब्हान गरेको शान्ति स्थापनको पक्षलाई लिएर प्रशंसा गरेकाे छ। अघिल्लो हप्तामात्रै चीनले युक्रेन र रसियाबीचको युद्ध रोक्न दुवै देशबीच शान्तिपूर्ण बार्ताकाे प्रस्ताव आब्हान गरेको थियो । चीनका कूटनीतिज्ञ वाङ इले रसियाका राष्ट्रपति पुटिनसँग भेटेको केही दिनपछि चीनले रसिया र युक्रेनबीच शान्ति वार्ता गर्न प्रस्ताव राखेको थियो । युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले उक्त प्रस्तावमा केही सहमति भएको समेत बताएका थिए । उनले चीनका राष्ट्रपतिसँग भेटेर उक्त शान्ति वार्ताको प्रस्तावमा छलफल गर्न चाहेको बताएका छन ।




















प्रतिक्रिया