Logo

राजनीति

प्रधानमन्त्रीको यति धेरै फुर्सद देखेर छक्क पर्छु : महामन्त्री थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई घोषणामा नअलमलिन सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विशेष समयमा बोल्दै महामन्त्री थापाले सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको भन्दै त्यसलाई संसद्मार्फत् सार्वजनिक गर्नु अझै उपयुक्त हुने बताए ।

कांग्रेस महामन्त्री थापाले प्रधानमन्त्रीको फुर्सद देखेर आफू छक्क परेको बताए । ‘केही कार्यक्रममा मलाई अथितिका रुपमा बोलाउनु भयो । मैले भने भ्याउँदिनँ । आयोजकले भन्नुभयो । प्रधानमन्त्री आउँदै हुनुहुन्छ,’’ उनी भन्छन्, ‘प्रधानमन्त्रीलाई फुर्सद हुन्छ । तिमिलाई फुर्सद नहुने ? अप्ठ्यारो लाग्यो म गएँ । मेरो प्रधानमन्त्रीलाई यतिधेरै फुर्सद किन छ भनेर म छक्क पर्छ ।’ 

उनले परिणाम दिने गरी काम गर्ने कुरामा प्रधानमन्त्रीको टिम र प्रधानमन्त्री कार्यालय कस्तो छ भन्ने कुराले अर्थ राख्ने बताए । ‘वास्तवमा प्रधानमन्त्री भनेको क्यापटेन अफ दि सीप नै हो । मन्त्रालयले, मन्त्रीले गर्ने सबै काम प्रधानमन्त्रीको नेतृत्वमै हुने हो । त्यसैले प्रधानमन्त्रीलाई टिम चाहिन्छ । प्रधानमन्त्रीको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा उसको कार्यालय हो, हाम्रो प्रधानमन्त्री कार्यालय कस्तो छ भनेर हामीले प्रधानमन्त्रीले आफ्नो काम कसरी गरिरहनुभएको छ भनेर अन्दाज लगाउने हो भने अर्कै अवस्था छ,’ उनले भने ।

सांसद थापाले प्रधानमन्त्री कार्यालयमा सबैभन्दा अब्बल, योग्य र परिणाम दिन सक्ने कर्मचारीहरूलाई राखेर काम लगाउन सक्नुपर्ने बताए । ‘हामी कहाँ सेवानिवृत्त हुन लागेका, कारबाहीमा परेका, काम लगाउन नपरे हुन्थ्यो भन्ने लागेका कर्मचारीलाई प्रधानमन्त्री कार्यालयमा लगेर थन्काइदिने व्यवस्था छ,’ महामन्त्री थापाले भने, ‘वास्तवमा यो नै सबैभन्दा गलत छ । प्रधानमन्त्रीको टिम भनेकै प्रधानमन्त्रीको कार्यालय हो । टिम नै त्यस्तो भयो भने काम कसरी हुन्छ ?’

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार १५:५५   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।