एजेन्सी – पाकिस्तानका एक केन्द्रीय मन्त्रीको सडक दुर्घटनामा मृत्यु भएको छ। शाहबाज सरकारका धार्मिक मामिला मन्त्री मुफ्ती अब्दुल शकूरकाे साँझ सडक दुर्घटनामा मृत्यु भएकाे पाकिस्तान टूडेले जनाएकाे छ । उनको कारलाई अर्काे कारले ठक्कर दिँदा उनको टाउकोमा चोट लागेको थियो । अत्यधिक रक्तश्रावका कारण उनकाे मृत्यु भएकाे हाे । केन्द्रीय धार्मिक मामिला मन्त्री मुफ्ती अब्दुल शकूर राजधानी इस्लामावादमा सडक दुर्घटनामा परेका हुन। घटना साँझ इफ्तारको समयमा भएको प्रहरीले जनाएको छ । उनी स्थानीय होटलबाट सचिवलय चोकतर्फ जाँदै थिए । राजधानीको प्रहरीले विज्ञप्तिमा मन्त्री आफैंले गाडी चलाएको बताएको छ । पाँच जना बोकेको कार तीव्र गतिमा आएर उनीहरुलाई ठक्कर दिएको थियो ।
प्रहरीका अनुसार दुर्घटनापछि मन्त्रीलाई राजधानीको पोलिक्लिनिक अस्पतालमा लगिएको थियो । तर अत्यधिक रक्तश्रावका कारण उनलाई बचाउन सकिएन । प्रहरीका अनुसार वरिष्ठ अधिकारीहरूले घटनास्थलमा पुगेर ठक्कर दिएको कारमा सवार सबैलाई पक्राउ गरेका छन् । पाँचमध्ये दुई युवा घाइते भएका छन् । घटनाको जानकारी पाएलगत्तै इस्लामाबादका आईजी अकबर नासिर खान, सूचना मन्त्री मरियम औरंगजेब र अन्य मन्त्रीहरू पनि अस्पताल पुगेका थिए ।
गृहमन्त्री राणा सनाउल्लाहले घटनाको गहिरो अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छन् । इस्लामाबादका आईजी खानले अस्पताल बाहिर पत्रकारहरुलाई भने, “प्रारम्भिक जानकारीले मुफ्ती शकूरको टाउकोमा चोट लागेर मृत्यु भएको देखाएको छ।” आइतबार दिउँसो २ बजे लक्की मारवतमा मन्त्रीको अन्तिम संस्कार गरिने छ ।
इस्लाम धर्मका विद्वान मुफ्ती अब्दुल शकूर सन् २०१८ को आम चुनावमा मुत्ताहिदा मजलिस-ए-अमल (एमएमए) का उम्मेदवार थिए र संसदमा विजयी भएका थिए। राष्ट्रपति डा. आरिफ अल्वीले पनि केन्द्रीय मन्त्रीको निधनमा शोक व्यक्त गरेका छन्। यसका साथै पाकिस्तानका प्रधानमन्त्री शाहबाजले पनि शोक व्यक्त गरेका छन् । उनले अब्दुल शकुरलाई व्यावहारिक विद्वान, वैचारिक राजनीतिक कार्यकर्ता र सभ्य मानवका रूपमा सम्झे ।




















प्रतिक्रिया