बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले दाबी पेस गरेका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार ८ दलका ५३ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनसमक्ष उनले दाबी पेस गरेका हुन् ।
चौधरीलाई कांग्रेसहित माओवादी केन्द्र, नागरिक उन्मुक्ति, जसपा, लोसपा, जनमत, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदको समर्थन छ । ८७ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४४ मत आवश्यक पर्छ ।
चौधरीलाई कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्तिका ४, जनमत, जसपा र लोसपाका ३/३ र जनमोर्चा, नेकपा एस र स्वतन्त्रका १/१ जनासहित ५३ जनाको समर्थन छ । माओवादीका ११ मध्ये एक जना तुलाराम घर्ती सभामुख छन् ।
यसअघि बनेको एमालेका लिला गिरी नेतृत्वको सरकारले सोमबार विश्वासको मत नपाएपछि ढलेको थियो । त्यसपछि आज अपरान्ह ४ बजेसम्मकाे समयसीमा दिएर प्रदेश प्रमुख शेरचनले संविधान धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।




















प्रतिक्रिया