Logo

अर्थ

नयाँ स्टक एक्सचेन्ज विरुद्ध दायर रिटमा दुवै पक्षलाई उपस्थित हुन अदालतको आदेश



काठमाडौं । नयाँ स्टक एक्सचेन्ज ल्याउने प्रक्रिया गलत भएको भन्दै धितोपत्र बोर्ड विरुद्ध उच्च अदालत पाटनमा दायर भएको रिटमा दुवै पक्षलाई उपस्थित हुन आदेश भएको छ ।

शिखर विजनेश म्यानेजमेन्ट कम्पनी प्रालिले दायर गरेको रिटमा अन्तरिम आदेश हुने वा नहुने विषयमा छलफल गर्न न्यायाधीश जगदिश घिमिरेको एकल इजलासले वैशाख २७ गते दुवै पक्षलाई उपस्थित हुन र विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश गरेको छ ।

शिखर विजनेश म्यानेजमेन्ट कम्पनी प्रालिले प्रधानमन्त्री एवं मन्त्रिपरिषदको कार्यालय धितोपत्र बोर्डसहित सहित ६ निकायलाई विपक्षी बनाइ मुद्दा दायर गरेको छ ।आइतबार निवेदकको तर्फबाट अधिवक्ताहरू सुरेन्द्र भण्डारी, दीपक राज जोशी र अमृत खरेलले बहस गरेका छन् ।

आदेशमा ‘निवेदनमा के भनिएको हो ? निवेदकको माग बमोजिम आदेश किन जारी हुन नपर्ने हो ? माग बमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण र सो सँग सम्बन्धित सबुद प्रमाण भए सो सहित यो म्याद सूचना पाएका मितिले बाटाका म्याद बाहेक १५ दिन भित्र विपक्षी नं १ र २ को हकमा उच्च सरकारी वकील कार्यालय, पाटनमार्फत र अन्य विपक्षीहरुको हकमा आफै वा आफ्नो कानून बमोजिमको प्रतिनिधि मार्फत र लिखित जवाफ पेश गर्नु भनी प्रस्तुत आदेश र निवेदनको प्रतिलिपिसमेत साथै राखी विपक्षीहरुका नाममा म्याद सूचना जारी गरी लिखित जवाफ परेपछि वा सोको अवधि व्यतित भएपछि नियमानुसार गरी पेश गर्नुहोला’ भनिएको छ ।

धितोपत्र बोर्डले चैत ३१ गते १० दिनभित्र आवेदन दिन भन्दै नयाँ स्टक र वस्तुविनिमय बजारका लागि आवेदन माग गरेको थियो । जसमा हालसम्म चार वटा आवेदन परेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार १३:२५   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।