काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू अस्वस्थ भएका कारण संसदमा उपष्स्थित हुन नसकेको बताएका छन् ।
फेसबुकमा स्टाटस लेख्दै ओलीले आजको प्रधानमन्त्री सँगको प्रश्नोत्तर कार्यक्रममा अस्वस्थ भएका कारण उपस्थित हुन नसकेको बताएका हुन् । आज उनले संसदमा उपस्थित भएर नक्कली भुटानी शरणार्थीको विषयमा बोल्ने कार्यक्रम रहेको थियो । तर उनी संसदमा उपस्थित भएका थिएनन् ।
उनले स्वास्थ्यमा सुधार आएपछि त्यसबारे बोल्ने बताएका छन् । उनले प्रधानमन्त्री प्रचण्डप्रति लक्षित गर्दै प्रश्नको उत्तर मात्रै दिएर नपुग्ने बताएका छन् । उनले देशका जनताले अनुभूति हुने गरी परिणाम दिनुपर्ने बताएका छन् ।
उनले लेखेका छन्, ‘प्रतिकूल स्वास्थ्य अवस्थाका कारण आज म संसद्को बैठकमा सहभागि हुन सकिनँ । नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूले थाहा पाएका तथ्यहरु संसद् समक्ष राख्ने मैले यसअघि बताएको थिएँ । स्वास्थ्यमा सुधार आएपछि त्यस विषयमा संसद्मा बोल्ने नै छु । सम्माननीय सभामुखज्यूले प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्री र सांसद्हरुबीच जनताका जल्दाबल्दा विषयमा सवालजवाफको नयाँ प्रचलन आजदेखि सुरु गर्नु भएको छ । ठीक छ । प्रश्नहरु दुई किसिमका हुन्छन् । एकथरी प्रश्नको उत्तर मात्र दिए पुग्छ । देशको भविष्यलाई नै प्रभावित पार्ने कतिपय प्रश्नको उत्तर मात्र दिएर पुग्दैन, जनतालाई अनुभूति हुनेगरी परिणाम दिनु पर्छ । सांसद्हरुले संसद्मा प्रश्न गर्दा प्रत्येक नागरिकले त्यसलाई आफ्नो प्रश्न ठान्न सकोस् र प्रधानमन्त्रीले दिएको उत्तरमा विश्वास र भरोसा गर्न सकोस् । त्यसले हरेक नागरिकले संसद्मा आफैं भएको महसुस गर्न पाउने छ । प्रश्नहरु औपचारिकता मात्रै नहोउन् र उत्तरहरु ओठे प्रतिवद्धता मात्रै नहोउन् । शुभकामना छ ।’




















प्रतिक्रिया