काठमाडौं । वैदेशिक रोजगार (स्वरोजगार) मा रहेका नेपाली नागरिकहरुले सामाजिक सुरक्षा कोषमा रकम संकलन गर्ने विषयमा आईएमई र सामाजिक सुरक्षा कोषबीच सम्झौता भएको हो ।
सम्झौता पत्रमा सामाजिक सुरक्षा कोषका तर्फबाट कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली र आइएमईका तर्फबाट प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले हस्ताक्षर गरेका हुन् ।
सो सम्झौताको कार्यान्वयन पछि विदेशस्थित आइएमई काउण्टर तथा साझेदारहरु मार्फत वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिले योगदान वापतको रकम कोषमा जम्मा गर्न सक्नेछन् ।
आइएमईका प्रमुख कार्यकारी अधिकृत पौडेलले विदेशमा रहेका लाखौं नेपालीहरुलाई कोषमा योगदान गर्ने रकम जम्मा गर्न सहज हुने गरि यो सम्झौता अनुसारको छिटै व्यवस्था मिलाइने जानकारी दिए ।
कोषले अघि बढाएको वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिहरुको सामाजिक सुरक्षा योजनाको प्रवद्र्धनका लागि समेत सहयोग पुग्ने प्रमुख कार्यकारी अधिकृत पौडेलले उल्लेख गरे ।
सामाजिक सुरक्षा कोषका तर्फबाट कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले आइएमई तथा यसका साझेदारहरुको विश्वव्यापी सञ्जाल भएकाले कोषले अघि बढाएको योजनामा सहभागिता बढाउन तथा कोषमा योगदान गर्नेहरुलाई रकम पठाउन सहज हुने विश्वास व्यक्त गरे ।
सम्झौता हस्ताक्षर समारोहमा कोषका निर्देशक रोशन कोजु र आइएमई लिमिटेडकातर्फबाट बिजनेश डेभलपमेन्ट म्यानेजर श्यामकृष्ण खकुरेलको पनि उपस्थिति थियो ।




















प्रतिक्रिया