Logo

अर्थ

दलाल पुँजीवादको बुई चढेर समाजवादमा पुग्न सकिँदैन : पृथ्वीसुब्बा गुरुङ



काठमाडौं । नेकपा एमालेका उपमहासचिव एवं सांसद पृथ्वीसुब्बा गुरुङले दलाल पुँजीवादको बुई चढेर समाजवादमा पुग्न नसकिने बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि धारणा राख्दै उनले समाजवादमा पुग्न दलाल पुँजीवादको हालीमुहालीलाई समाप्त पार्न जरुरी रहेको बताए ।

‘शान्तिपूर्ण जनक्रान्ति पूरा भयो । सामन्तिवादको अन्त्यसँगै सामन्ति उत्पादन पद्धतिको पनि अन्त्य भयो । नयाँ जनवादी उत्पादनको स्थापना भयो । जसअनुसार उत्पादक शक्तिको विकास गरेन भने उत्पादक र उत्पादकत्व वृद्धि हुन सक्दैन । मुलुकमा हामीले चाहेको जस्तो रोजगारी र स्वरोजगारी सिर्जना हुन सक्दैन । त्यसपछि गरिबी निवारण अन्त्य हुन सक्दैन’, उनले भने, ‘त्यसकारण हामीले हिँड्ने कुन बाटो हो ? यो नीति कार्यक्रमले हाम्रो बाटो राष्ट्रिय पुँजी निर्माणको बाटो होइन, दलाल पुँजीवादको बाटो हो पनि भनेको छैन । तर हिँडिराख्या छ दलाल पुँजीवादको बाटो । त्यसकारण दलाल पुँजीवादको बुई चढेर समाजवादमा पुग्न सकिन्न भन्ने कुरा म सरकारलाई ध्यानार्षण गराउँछु ।’

सांसद गुरुङले दलाल पुँजीवादको हामलीमुहालीलाई समाप्त पारेर राष्ट्रिय पुँजीवादको विकास गरेर स्वाधिन राष्ट्रिय अर्थतन्त्रको विकास गरेर मात्रै समाजवादका आधारहरु तयार गर्न सकिने बताए । यो कुरा नीति कार्यक्रममा नसमेटिएको उनले बताए ।

यसैगरी नीति कार्यक्रममा आजको राष्ट्रिय समस्याहरु समाधानका लागि ठोस कार्यक्रम नरहेको बताए । ‘आजको राष्ट्रको साझा समस्याहरुमा कुनै ठोस कार्यक्रम ल्याउनु पर्छ कि पर्दैन ? पुँजीगत खर्च हुन सकेको छैन । मुख्य समस्या यो हो भनेका छौं । तर पुँजीगत खर्च बढाउन के गर्नुपर्ने भन्ने कुरा ठोस रुपमा आएन । कानुनको संधोशन गर्ने मात्र भनिएको छ । यस यस प्रकारकोले, यो कानुन यसरी गरिने भनिएको छैन’, उनले भने, ‘सुशासन र भ्रष्टाचार नियन्त्रण गर्ने कुरा गरिएपनि त्यसमा यसमा पनि ठोस नीति छैन । ’

मुलुकको अर्थतन्त्र संकटमा छ । यसलाई कसरी माथि उठाउने ? कसरी पार गरेर समृद्धिको दिशामा जाने भन्ने ठोस कुरा नआएको सांसद गुरुङले बताए । उनले संघीयताको कार्यान्वयन प्रभावकारी हुन नसकेको भन्दै भने, ‘संघीयतामाथि प्रश्न उठिरहेको छ । यो हाम्रै अयोग्यताको कारण भइरहेको हो ।’

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलवार १४:००   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।