काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीमासम्बन्धी समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । राष्ट्रियसभामा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले सीमासम्बन्धी समस्या कूटनीतिक पहलबाट तथ्य र प्रमाणका आधारमा समाधान गर्न दृढ र प्रतिवद्ध रहेको बताएका हुन् ।
‘थाँती रहेका सीमासम्बन्धी विषयलाई ऐतिहासिक सन्धि, नक्सा, तथ्य र प्रमाणका आधारमा कूटनीतिक पहलबाट समाधान गर्न सरकार दृढ र प्रतिबद्ध रहेको जानकारी गराउन चाहन्छु’, उनले भने ।
भारतले मिचेको दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र नेपालको रहेकोमा सरकार स्पष्ट रहेको उनले बताए । परराष्ट्र नीति संचालनमा पनि सरकारको धारणा स्पष्ट रहेको उनले बताए ।
‘परराष्ट्र नीति सञ्चालनमा सबै राजनीतिक दलबाट एउटै धारणा हुनुपर्छ भन्ने कुरामा सरकार विश्वास राख्दछ । राष्ट्रिय हितलाई सर्वोपरी राखी सार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानका आधारमा छिमेकीलगायत सबै मित्रराष्ट्रसँगको सम्बन्धलाई थप प्रगाढ बनाउन सरकार प्रतिबद्ध छ’, उनले भने, ‘देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता, स्वाभिमान र सीमानाको सुरक्षाको लागि सरकार सदैव सचेत र प्रतिबद्ध छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्ने कुरामा नेपाल सरकार बडो प्रस्ट छ ।’




















प्रतिक्रिया