Logo

अर्थ

मन्त्रिपरिषद् बैठक : विश्व बैंकबाट १२० मिलियन डलर ऋण स्वीकार गर्ने निर्णय



काठमाडौं । सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने १२० मिलियन डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो ।

बैठकले विद्यालय शिक्षा क्षेत्र आयोजनका लागि ‘शिक्षाका लागि विश्वव्यापी साझेदारी कार्यक्रम’बाट प्राप्त हुने १९ दशमलव ७० मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता पनि स्वीकार गर्ने निर्णय लिएको सरकारका प्रवक्ता मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यस्तै अर्थ मन्त्रालयको प्रस्तावमा मानव संसाधन छात्रवृत्ति जेडिएस तेस्रो चरण प्रथम ब्याचका लागि प्राप्त हुने ४१ करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ । अर्थ मन्त्रालयकै प्रस्तावमा भन्सार विधेयक सम्बन्धी नयाँ विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय पनि भएको मन्त्री शर्माले जनाइन् । यसले भन्सार मूल्य निर्धारण गर्ने विधेयक निर्माणको बाटो खुलेको छ ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान विकास समिति गठन तेस्रो संशोधन आदेश २०८० स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ भने प्रत्येक वर्ष असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय भएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलवार १८:०९   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।