Logo

अर्थ

नीति तथा कार्यक्रम दुवै गठबन्धनको साझा कार्यक्रमलाई समेटेर ल्याइएको हाे : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रम दुवै गठबन्धनको न्यूनतम साझा कार्यक्रमलाई समेटेर ल्याइएको जिकिर गरेका छन् । प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले नेकपा एमालेसँग सरकारमा हुँदा तयार पारिएको न्यूनतम साझा कार्यक्रम र पछि कांग्रेससँगको न्यूनतम कार्यक्रमसहितलाई समेटेर तयार पारिएकाले राष्ट्रिय सहमतिको नीति कार्यक्रम भएको दाबी गरे ।

उनले सरकारको नीति तथा कार्यक्रमबारे तीनवटा विचारहरु व्यक्त भएको आफूले पाएको बताएका छन् । ‘तीनवटा विचारहरु यहाँ प्रस्तुत भएका छन् । आलोचनात्मक राख्नुभएको छ । एउटा भनाइ आएको छ– यो कर्मकाण्डी छ, यसले देशको आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक समस्या समाधान गर्दैन भन्ने कोणबाट आएको छ । परम्परको सिकार भएको छ, हरेक वर्ष आउँछ, सुन्दा राम्रो सुनिन्छ, व्यवहारमा कार्यान्वयन त्यसरी हुँदैन भन्नुभएको छ’,उनले भने, ‘राजतन्त्र हुँदा राजाको मुखबाट पढाइन्थ्यो, अहिले राष्ट्रपतिबाट पढाइन्छ, त्यो परम्परागत हुन्छ भन्नेमा म सहमत हुन्छु ।’

प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रम एक हदसम्म कर्मकाण्डी रहेको भन्दै कार्यक्रममा समेटिएका आधारभूत कुराहरू अघिल्ला सरकारले ल्याएजस्तै विषयहरू रहेको बताए । ‘म एक हदसम्म भन्ठान्छु यो कर्मकाण्डी पनि छ’, उनले भने, ‘कैयौँ आधारभूत कुराहरू पोहोर साल, परार सालको सरकारले ल्याउने पनि यस्तै यस्तै हुन्थ्यो । यसकारण यो कर्मकाण्डी नै हो भने म के ठान्छु भने हिजो सरकारको नेतृत्व गर्ने पार्टी र नेता साथीहरूले भन्नुपर्ने हुन्छ बिलकुल ठिक आयो । हामीले ल्याएको जस्तै आयो । हामीले यस्तै ल्याउँथ्यौँ, अहिलेको सरकारले पनि त्यस्तै ल्यायो भनेर समर्थन गर्नुपर्ने मैले देख्छु ।’

प्रधानमन्त्री प्रचण्डले यो अघिल्लो सरकारले ल्याएको नीति तथा कार्यक्रम अहिलेभन्दा गुणात्मक थियो र भन्दै प्रश्न समेत गरेका छन् ।  उनले अहिले दोस्रो गठबन्धनबाट सरकारको नेतृत्व गरिरहेको भएपनि एमालेको पनि लगानी रहेको बताएका छन्।

‘मैले विश्वासको मत लिँदा सिङ्गो हाउसको समर्थन भयो। म प्रधानमन्त्री भएको पहिलो गठबन्धनबाट हो। प्रधानमन्त्रीको हैसियत पहिलो गठबन्धनका साथी र दलका नेताहरूले पनि यो प्रधानमन्त्रीमा आफ्नो पनि लगानी छ’,उनले भने, ‘आफ्नो पनि योगदान छ भनेर किन नमान्ने ? यसलाई नेगेटिभ मात्रै किन ? पोजेटिभ हिसाबले हेर्‍यो भने सहमतिको आधार छ भनेर किन नबुझ्ने ?’

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार १९:२७   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।