Logo

अर्थ

देउराली सहकारीको ५ अर्बको सम्पत्ति एक अर्बमै हडप्ने दाउमा प्रभु बैंक, बचतकर्ता चिन्तित



काठमाडौं । प्रभु बैंकले देउराली बहुउदेश्यीय सहकारी संस्थाका सञ्चालकको जग्गा सस्तोमा हडप्न खोजको पाइएको छ । घरजग्गाको कारोबारमा सुस्ताएसँगै सहकारी समस्यामा परेको र यस्तो बेला अन्य बैंकले सहयोग गरे पनि प्रभु बैंकले भने सञ्चालकहरुको नाममा रहेको करिब ५ अर्ब बराबरको घरजग्गा १ अर्बमै अडप्न खोजेको सहकारीका अध्यक्ष रवीन्द्र चौंलागाईको आरोप छ ।

६ अर्ब निक्षेप संकलन गरेको सहकारीले विगत एक बर्षयता बचतकर्ताको ५० करोड मात्रै फिर्ता गर्न बाँकी रहेको बताउँदै उनले आफुले क्रमशः जग्गाहरु बेच्दै, घर बेच्दै बचतकर्ताहरुको बचत रकम फिर्ता गर्दै आएको र फिर्ता गर्न बाँकी रहेकाहरुको पनि क्रमश तिर्दै गइरहेको अवस्थामा बैंकले आफ्ना जग्गाजमिन लिलाम गर्ने प्रक्रिया अघि बढाएर पेलेको बताए । कुनैवेला ऋण लिन आउ, तिमिले राम्रो गरेका छौ भनेर बोलाउने बैंकहरुले अहिले अप्ठेरोमा घात गरेको अध्यक्ष चौलागाई दुखेसो छ ।

‘बचतकर्ताहरुको बचत रकम फिर्ता गर्ने आधार जग्गा हो । हाम्रो सबै लगानी घरजग्गामा हो । बैंकले नियमित किस्ता बुझाउन सकेन भन्दैमा अरुको सम्पत्तिमा आँखा लगाउनु र आफ्नो चाहिँ उठाइहाल्न खोज्नु मुनासिव होइन’, अध्यक्ष चौलागाईले भन्छन्, ‘त्यसरी बंैकले लिलाम अघि बढाए बचतकर्तालाई निक्षेप फिर्ता गर्न कठिनाइ समेत हुनेछ । हामीहरुको मनोबल गिर्नेछ । हातखुटा बाँधेर समस्याको सामाधान हुँदैन ।’

संस्था समस्यामा परेपछि देउरालीका अध्यक्षले संचालन गरेका विभिन्न व्यवसायहरु पुजा पोल्ट्री फार्म, अन्नपुर्ण डिष्टीलरी, पुजा मार्केटिङ, युनिलिभर, डाबर नेपाल जस्ता व्यवसायमा भएको लगानीबाट बचतकर्तालाई रकम फिर्ता दिँदै आएको उनले बताएका छन् । अहिले ती कम्पनीहरु नगद अभावले बन्दप्रायः भएको र ८ सय जना भन्दा बढीले रोजगारी गुमाएका बताइएको छ । त्यसबाट राज्यलेसमेत बर्षको ३० करोड राजश्व गुमाएको छ ।

संस्थामा नगद सकिएपछि बचतकर्तालाई विभिन्न ठाउँको जग्गाजमिन दिँदै मिलाउँदै आएको सहकारीले आगामी असार मसान्तसम्म बचत फिर्ता गरिसक्ने लक्ष्य समेत राखेको छ । बचतकर्ताको निक्षेप फिर्ता गर्ने कुरामा अघि बढेको सहकारी संचालकले बैंकबाट विभिन्न कम्पनीमा लिएको कर्जाको साँवा ब्याज तिर्न सकेको छैन । फलस्वरुप अहिले प्रभु बैकले सञ्चालकको जग्गा लिलामी निकालेको छ ।

तर बैंकले अहिलेको समयमा सस्तोमा लिलामी गरेमा देउरालीका बचतकर्ताले नै उक्त घरजग्गा सर्काने व्यक्ति तथा बैंकलाई सस्तोमा सर्कान र भोगचलन गर्न नदिने, बरु त्यसविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आउने बताउन थालेका छन् । बैकले सञ्चालकको भएभरका घरजग्गा सस्तोमा लिलामी गरे बचतकर्ताले बचत फिर्ता पाउने कुरा कठिन हुने उनीहरुका बुझाइ छन् ।

उनीहरुले सोको जानकारी नगरपालिका, गाउँपालिका, वडा, अदालत जस्ता सबै निकायमा गराउने बताएका छन् । उक्त जग्गा बेचविखन गर्नु परेमा देउरालीका बचतकर्ता, बैंक र सञ्चालक समिति बसेर समझदारी खोज्नुपर्ने सहकारीले माग गरेको छ । त्यसरी बैंकले सस्तोदरमा जग्गा लिलामी गरेर आफ्नो पैसा उठाउने यत्न गरेमा सञ्चालक र अध्यक्ष रोडमा आउने चौलागाईको चेतावनी छ ।

सहकारीले संस्था समस्यामा परेको एक वर्षबीच बचतकर्तालाई नवलपरासी रजटको २८ कठ्ठालाई ४४ ओटा घडेरी, ललितपुरको चापागाँउ, टिकाभैरव, विराटनगरको इनरुवा जस्ता ठाउँहरुको जग्गा सदस्यहरुलाई दिएर हिसाब मिलाएको थियो ।

अध्यक्ष, सञ्चालक समितिको नाममा भएको सम्पति, बै‌ंकमा रोक्का भएको सम्पत्ति, कर्मचारीको नाममा भएको सम्पत्ति बेचविखन गरी सदस्यहरुको हिसाब मिलाउँदै आएको छ । अबको ६ महिनामा सबै हिसाब मिलान गरेर पुनः सहकारी तथा व्यवसाय सञ्चालनमा ल्याउने तयारी रहेको अध्यक्ष चौलागाईले बताएका छन् ।

नकारात्मक हल्लाको पछि नलाग्न सहकारीले सदस्यहरु समक्ष आवहन समेत गर्दै आएको छ । संस्थाले यतिन्जेल सबैको हिसाब मिलान गरिसक्ने भएपनि लगानी गरिएका कर्जा रकम असुली नहुँदा पनि समस्या परेको अध्यक्ष चौलागईले बताए ।

सहकारीले कर्जा नर्तिने र आर्थिक अपचलन गर्ने व्यक्ति तथा कर्मचारीलाई मुद्धा समेत दायर गरेको छ । संस्थाको सञ्चालक तथा अध्यक्ष बचतकर्ताको बाँकी रकम कसरी तिर्ने भनेर सबै विकल्पमा प्रयासहरु गरिरहँदा कतिपय व्यक्तिहरुले मौकाको फाइदा उठाएर कर्जा नतिरेको, संस्थालाई ठगी गर्ने कार्य गरेका सहकारीको दाबी छ । सहकारीमा उत्पन्न समस्याका कारण व्यवसाय सबै बन्द हुँदा, बैंकहरुले किस्ता तिर्न ताकेता गरिहँदा आफुहरु मर्नु न बाच्नुको अवस्था आएको अध्यक्ष चौलागाँइले बताए । ‘एकैचोटी समस्या आयो, मन्दी आयो । हामी समस्याबाट भागेका छैनौं । प्रोपर्टी छ बेचेर, कर्जा लगानी उठाएर विस्तारै मिलाउँदै छौं’, उनले भने, ‘तर हामीलाई मिलाउनुस् भनेर सर्पोट कसैको छैन । सबैतिरबाट घेरबन्दी गरिएका छन् ।’

यस्तो बेला बैंकले भने जग्गा लिलामी गर्नु व्यवसायीमाथि अन्याय भएको अध्यक्ष चौलागाईले बताए । तर बैकहरुसँग कुरा भइरहेको र देउरालीको समस्या सामाधान भएपछि उनीहरुको पनि मिलाउने उनको भनाइ छ । हिसाब मिलाउने, कसैको एक रुपैयाँ नखाने भनेर लागिरहँदा समेत कतिपय मिडियाले अफवाह फैलाएर बदनाम गरेको, दुख दिएको उनले बताए । अध्यक्ष चौलागाइले आफनो र श्रीमतीको नाममा रहेको सम्पति बेचेर बैंकको ऋण तिरी बाँकी रहेको रकम बचतकर्ताको तिर्नेगरी अघि बढिरहेको पनि स्पष्ट पारे ।

  • याे पनि…

‘पावरफुल’ कर्मचारी रश्मी पन्तले चलाउँछिन् प्रभु बैंक, ‘सिनियर’ डेपुटी सीइओहरु निरिह

सिइओ अशोक शेरचनको स्वार्थले प्रभु बैंकको अर्बौँ रुपैयाँ डुब्ने जोखिममा

किन सेलायो वित्तीय अपराधमा मुछिएका अशोक शेरचनविरुद्ध सीआईबीमा पुगेको मुद्दा ?

कहिले टुंगिएला वित्तीय अपचलनमा मुछिएका प्रभु बैंकका सिईओ शेरचनको मुद्दा ?(भिडियो रिपोर्ट)

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार १३:०४   :  बजे

19.9K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।