Logo

प्रमुख समाचार

नक्कली शरणार्थी प्रकरण : अभियुक्त पक्षको बहस आजबाट सुरु



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आजबाट अभियुक्त पक्षको बहस सुरु हुनेछ । हिजो सरकारी वकिलको बहस सकिएपछि आजबाट अभियुक्त पक्षका वकिलहरूले बहस सुरु गर्ने भएका हुन् ।

अभियुक्त पक्षको बहसका लागि पूर्वमहान्यायाधिवक्तादेखि नेपाल बार एशोसियसनका बहालवाला अध्यक्ष तथा पूर्वअध्यक्षहरूले बहसका लागि नाम टिपाएका छन् । यसअघि नै निर्धारण भएको बहसको समय अनुसार सरकारी वकिलले तीन दिनमा बहस सकाएपछि अभियुक्त पक्षका वकिलहरूले आजबाट बहस सुरु गर्न लागेको हुन् । अभियुक्त पक्षका वकिलले बहसका लागि ६ दिनको समय पाउनेछन् ।

जिल्ला अदालत काठमाडौँमा जारी थुनछेक बहस सकिएपछि अभियुक्तहरूलाई थुनामा राखेर मुद्दा चलाउने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश दिनेछ ।

गत आइतबारदेखि जारी बहसका क्रममा सरकारी वकिलले अभियुक्तहरू शक्तिशाली पहुँच भएका व्यक्तिहरू भएको हुँदा उनीहरू बाहिर आए मुद्दा प्रभावित पार्न सक्ने भन्दै पुर्पक्षका लागि थुनामै राख्नुपर्ने तर्क गर्दै आएका छन् ।

यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, बहालवाला सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्र जीत राई, केशव दुलाल र सानु भण्डारीलगायत ३० जनालाई अभियुक्त बनाई अभियोगपत्र दायर गरिएको छ । जसमध्ये १८ जना पक्राउ परेर हिरासतमा छन् भने १२ जना अझै फरार रहेका छन् ।

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार ११:१७   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।