काठमाडौं । निर्वाचन आयोगको एक सातासम्मको लगातारको सक्रियतापछि ७० जिल्लामा रहेका जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय सच्याउन सरकार तयार भएको छ ।
कार्यालय खारेज गर्ने निर्णयले आयोगको स्वायत्ततामाथि असर पार्ने भन्दै सरकार र राजनीतिक दलहरूलाई ध्यानाकर्षण गराउँदै आएको सन्दर्भमा आफ्नो पूर्ववत् निर्णयमाथि पुनः विचार गर्न सरकार सकारात्मक भएको हो।
आर्थिक वर्ष २०८०/०८१ को बजेट कार्यक्रमको अनुसूचीमार्फत् आयोग मातहतका जिल्ला निर्वाचन कार्यालय खारेजी गर्ने निर्णय गरिएको थियो। कार्यालय खारेज गर्ने निर्णयले स्वच्छ, निष्पक्ष र धाँधलिरहित निर्वाचनको मर्मलाई प्रभावित गर्ने भन्दै आयोगले त्यस विषयमा शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गत सोमबार उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष छलफल गरेको थियो। राजनीतिक दलहरूसँग छलफलपछि आयोगको टोलीले प्रधानमन्त्रीसँग भेटघाट गरेको थियो।
आयोगसँगको छलफलमा प्रधानमन्त्री ‘प्रचण्ड’ले जिल्ला निर्वाचन कार्यालयहरू खारेज गर्न खोजिएको नभई नयाँ ढंगले व्यवस्थापन गर्न खोजिएको उल्लेख गर्दै अब आयोगको परामर्शबमोजिम नै गरिने बताए। प्रधानमन्त्री ‘प्रचण्ड’ सँगको कुराकानीमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जिल्ला निर्वाचन कार्यालयको आवश्यकता पारे स्पष्ट पारेका थिए ।
निर्वाचन आयोग नेपालको संविधानमा सबै तहका निर्वाचनहरू र राष्ट्रिय महत्वको विषयमा जनमतसंग्रह समेतको सञ्चालन रेखदेख, निर्देशन र नियन्त्रण गर्नका लागि स्थापित स्वतन्त्र एवं स्वायत्त निकाय हो। संविधानको धारा २४६ ले तोकेको जिम्मेवारी र धारा २४७ तथा प्रचलित निर्वाचन कानुनअनुसार निर्वाचन आयोगलाई आफ्नो कार्यसम्पादनका लागि आवश्यक पर्ने कर्मचारी, स्रोत, साधन एवम् भौतिक संरचना तीनवटै तहको सरकारले उपलब्ध गराउनुपर्ने संवैधानिक दायित्व रहेको उल्लेख गरिएको छ।
आयोगले आवश्यकताअनुसार प्रदेश तथा तोकिएबमोजिमको अन्य स्थानमा कार्यालय स्थापना गर्न सक्ने अधिकार आयोग ऐनमा रहेको व्यवस्थालाई सरकारले नजरअन्दाज गरी सो निर्णय गरिएको विषय स्पष्ट रूपमा राखेको प्रमुख निर्वाचन आयुक्त थपलियालको भनाइ रहेको छ। ‘जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावबाट आयोग आश्चर्यचकित, भ्रमित, त्रसित र सशंकित बन्न पुगेका छौं’ –छलफलमा भएको भनाई उद्धृत गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले भने । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।




















प्रतिक्रिया