काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले वर्तमान सत्ता गठबन्धनका शक्तिहरू एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै उनले मतान्तर रहे पनि सत्ता गठबन्धनका दलहरू एकजुट हुनुपर्ने बताए ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले गठबन्धनका घटकहरूबीच केही मतान्तर स्वाभाविक भएको पनि बताए । उनले अहिले सत्ताधारी र विपक्षी गठबन्धन रहेको बताए । ‘अहिले हामी गठबन्धनमा सामेल छौँ । गठबन्धनका घटकहरूका बीचका धाराहरूमा केही(केही मतान्तर पनि हुनसक्ला । तर म यसो हेर्दै छु, एउटा सत्ताधारी गठबन्धन छ, अर्को सत्ता बाहिरको गठबन्धन छ’, उनले भने, ‘संविधानमाथि गम्भीर आघात पुर्याउने शक्तिहरू छन्, संघीयतामाथि विश्वास नगर्ने मात्रै होइन, समाप्त पार्न चाहने शक्तिहरू छन् ।’
अहिलेको गठबन्धन लोकतान्त्रिक र प्रगतिशील भन्दै उनले यस्ता कुरामा कुनै किसिमको धरमरको आवश्यकता नभएको बताए । ‘कमी कमजोरी हुन्छन्, आलोचना गर्ने पनि हो । कमजोरीप्रति आँखा चिम्लिने होइन । त्यसमा बग्ने, समर्थन गर्ने पनि होइन, लतारिने पनि होइन, किनभने एकता र संघर्ष चलिरहन्छ । अहिलेका सत्ताधारी शक्तिहरू एकताबद्ध भएर अघि बढ्ने कुराको विकल्प छैन‚’ उनले भने ।




















प्रतिक्रिया