काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका मध्येका पूर्व गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणलाई फसाउन राज्य नै लागेको उनी पक्षका कानुन व्यववसायीले दाबी गरेका छन् । काठमाडौं जिल्ला अदालतमा दायर मुद्दामा मंगलबारबाट खाण पक्षका कानुन व्यवसायीले बहस सुरु गरेका छन् । खाणको पक्षबाट बहस गर्न ३४ जना कानुन व्यवसायीले वकालतनामा दिएका छन् ।
बहस गर्दै वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले खाणलाई फसाउन राज्य नै लागेको तर्क गरेका हुन् । उनले जाहेरवाला कसैले खाणको नाम नलिएको तर अन्तिम समयमा नाम घुसाएर फसाइएको दाबी उनको छ । ‘जाहेरवाला कसैले बालकृष्ण खाणको नाम पोल्न सकेका छैनन् । एकजनाको पेटबोलीमा नाम देखिन्छ । त्यसलाई पनि पुष्टि गर्ने अवस्था छैन’, उनले भने, ‘जाहेरीवाल कसैले नाम नदिएको अन्तिम समयमा बालकृष्ण खाणलाई पेटबोलीमा राखेर राज्य नै लागेको छ ।’
जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा शरणार्थी प्रकरणसम्बन्धी मुद्दाको थुनछेक बहस भइरहेको छ । अझै केही आरोपीका तर्फबाट थुनछेक बहस बाँकी नै छ । त्यसपछि पीडित पक्षका तर्फबाट जवाफी बहस गर्ने र थुनछेक आदेश आउनेछ ।
यसअघि १२ जनाका तर्फबाट थुनछेक बहस सकिएको छ । अझै पाँचजनाका तर्फबाट वकिलले बहस गर्न बाँकी छ । अब आरोपी टेकनाथ रिजाल, आङ्टावा शेर्पा, लक्ष्मी महर्जन, शमशेर मियाँ र हरिभक्त महर्जनको बहस बाँकी रहेको जनाइएको छ ।
उक्त प्रकरणमा प्रहरीले पूर्वगृहमन्त्री खाण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, सोही घटनामा मुछिएर निलम्बनमा परेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा ईन्द्रजीत राईलगायत १८ जनालाई पक्राउ गरी हिरासतमा राखेको छ । अन्य १२ जना फारार छन् ।




















प्रतिक्रिया