Logo

राजनीति

काम गर्न सक्ने अवस्थामै राजनीति छोड्नुपर्ने स्थिति आएपछि ७० वर्षे उमेरहद हटाइएको हो : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ७० वर्ष पुगेपछि राजनीति नै छाड्नुपर्ने अवस्था आएपछि यसलाई हटाइएको बताएका छन् । ७० वर्ष माथिकोले काम गर्न सक्ने अवस्थामा पनि राजनीति छोड्नुपर्ने अप्ठ्यारो अवस्था आएको, कतिपय अन्य पार्टीबाट आएका नेताहरूलाई पनि जिम्मेवारी दिनुपर्ने भएकाले त्यो उमेरहद हटाउने निर्णय गर्नु परेको ओलीको स्पष्टीकरण थियो ।

अखिल नेपाल महिला संघ, बागमती प्रदेश कमिटीले शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै ओलीले चीनलगायतका दुनियाँका सबै पार्टीहरूले परित्याग गरिसकेको ७० वर्षे उमेरहद हटाउने निर्णय एमालेले गर्दा त्यसको विरोध गर्न आवश्यक नभएको बताए ।

केहीले पार्टीको सो निर्णयको विरोध गरेर अराजनीतिक कुरा गरेको आरोप लगाउँदै उनले पार्टीका युवाहरूलाई ७० वर्ष कटेकाहरूसँग प्रतिस्पर्धा गरेर महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव बन्न कसले रोकेको छ ? भनी प्रश्न समेत गरे ।

उनले भने, ‘कामै गर्न नपाउने ७० वर्ष पुगेपछि । राजनीति नै छोड्नुपर्ने स्थिति, कमिटी नै छोड्नुपर्ने स्थिति भएपछि यो ७० वर्ष अप्ठ्यारो भयो । कतिपय साथीहरूलाई आउन, उहाँहरूलाई एकजष्ट गर्न, उहाँहरूलाई जिम्मेवारी दिन पनि हामीले ७० वर्ष हटाई दिन पर्‍यो’, उनले भने, ‘७० वर्ष कहीँपनि छैन दुनियाँमा । अमेरिकामा ८० वर्षको मान्छेले राष्ट्रपति चलाई राखेको छ । अनि, शेरबहादुर देउवाजी ७७, ७८ कति वर्ष हो ? चलाई राख्नु भएको छ । कतै पनि छैन ७० । हाम्रोमा हामीले राखेका थियौँ । हामीलाई पनि उपयुक्त भएन । यसले प्रगति गर्न अप्ठ्यारो पार्‍यो । त्यस कारण हामीले हटाउने भन्यौँ ।’

 

  • याे पनि…

ओलीकाे टिप्पणी : एमालेसँग मुकाबिला गर्न र कांग्रेस तर्साउन समाजवादी मोर्चाको चर्चा चलाइयाे

प्रकाशित मिति : २ असार २०८०, शनिबार १७:२९   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।