Logo

राजनीति

नागरिकता विधेयकबारे लिङ्देन : कसरी अगाडि बढाउने भनेर सबै दलसँग छलफल गर्न सकिँदैनथ्याे ?



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भारतलाई खुसी पार्न सरकारले नागरिकता विधेयक प्रमाणीकरण गराएको आरोप लगाएका छन् । सत्तापक्ष यस विधेयकप्रति इमानदार भइदिएको भए सर्वदलीय बैठकमार्फत छलफल गरेर सहमतिमा अगाडि बढाउन सकिन्थ्यो भने ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा अध्यक्ष लिङ्देनले एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र रास्वपाका कारण नागरिकता विधेयक नरोकिएको बताए । ‘सत्तापक्ष इमानदार थियो भने उसले सर्वदलीय बैठक राख्न सक्थ्यो कि सक्दैनथ्यो ? यसको बारेमा के गर्ने, यसलाई कसरी अगाडि बढाउने ? चाँडै टुंगो लगाउनुपर्छ भन्ने ढंगले यसमा निकास निकाल्नुपर्थ्यो कि पर्दैनथ्यो ? उनले भने, ‘सुटुक्क, त्यो पनि भारत भ्रमणमा निस्कनुभन्दा १/२ घण्टा अगाडि गर्नुपर्ने के कारण थियो ? अहिले रोकिएको एमाले, रास्वपा, राप्रपाको कारण रोकिएको हो ?’

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा भारतलाई खुसी पार्नका लागि नै नागरिकता विधेयक प्रमाणीकरण गरिएको लिङ्देनको आरोप थियो । ‘हामीले अहिले गर्नलाई गरिदियौं, भारत पनि खुसी हुन्छ, यो नागरिकता नपाएका मान्छेहरू पनि खुसी हुन्छन्’, उनले भने, ‘आखिरी अदालतले रोकिहाल्छ कसै न कसैले उजुरी गरिहाल्छ, जानाजान गरेको विषय हो ।’

नागरिकताको विषयलाई राजनीतिकरण नगर्न पनि लिङ्देनले आग्रह गरे । उनले नागरिकता प्रमाणीकरणको विरोध गर्ने प्रतिपक्षी पार्टीहरूलाई दोष नदिनका लागि आग्रह गरेका थिए ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार १५:३८   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।