Logo

अनलाइनपाना खोज

काठमाडौं महानगरको नीति विपरीत ३१ नम्बर वडाले बनायो बाटो छेकेर गेट



काठमाडौं । पछिल्लो समय काठमाडौं महानगरपालिकाले नियम विपरीतका संरचना भत्काइरहको छ। विकास गर्दा समस्या हुने गरी बनाएका, यात्रुलाई असर हुने खालका, बाटो मिचेर बनाएका भौतिक निर्माणका संरचना काठमाडौं महानगरपालिकाले भत्काइरहेको हो ।

एक वर्षमा काठमाडौंका मेयर बनिसकेपछि बालेन शाहले धेरै नागरिकका यस्तै संरचनाहरुमा डोजर चलाएका छन् । उनले धेरैका घर नै भत्काइदिएका छन् । कतिपय सरकारी संरचनाले हस्तक्षेप गरेर बनाएका संरचना समेत भत्काएर महानगरपालिकाले विकासलाई पर्यावरणमैत्री र नागरिकको आवश्यकताअनुसार बनाइरहेको छ । नीति कानून प्रतिकूल देखिने यस्ता संरचनाहरु भत्काउन अब्बल देखिएको काठमाडौं महानगरपालिकाले आफ्नै वडा अध्यक्षलाई फुटपाथ मिच्ने गरी गेट बनाउनु हुन्न बन्ने चाहिँ सिकाउन भ्याएको रहेनछ । महानगरकै नीति विपरीत देखिने गरी काठमाडौं महानगरपालिका वडा नम्बर ३१ का वडा अध्यक्षले संसद भवन पछाडि एक साँधुरो बाटोमा लाखौं रुपैयाँ खर्च गरेर एक गेट निर्माण गर्न लगाएका छन् ।

गेट निर्माणका कारण नागरिकहरु हिँड्ने फुटपाथ छेकिएको देखिन्छ । माथि पनि ट्रान्समिशनसहितको विद्युत लाइन गेटलाई छुने गरी रहेको छ । साँधुरो गल्लीमा लाखौं खर्च गरेर उक्त गेट निर्माण आवश्यक कुनै कोणबाट पनि नमिल्दो छ । तर काठमाडौं महानगरपालिका वडा नम्बर ३१ का वडा अध्यक्ष गेट निर्माण सहि ठाउँमा नागरिकको चाहनाअनुसार भएको दाबी गर्छन । उनी भन्छन्, ‘ बाटो मिचेको छैन । स्थानीय जनातको पहिचानको लागि भनेर बनाएको हो । बीआइसीसीको पछाडी । १०/११ वर्षदेखि त्यहाँ हिलो धुलो थियो । एकता मार्ग र देउराली मार्ग जाने भएकाले मान्छेलाई हिँडडुल गर्न हुने गरी ‘डिस्टर्ब’ नहुने गरी बनाउन लगाएको छु ।’

उनले ‘गेट बटुवालाई बाटो छेकिने गरी निर्माण भएको छ नि ?’ भन्ने प्रश्न गर्दा आफ्नो कामको त्यहाँका स्थानीय सबै नागरिकले तारिफ गरेको दाबी गरे । तर अनलाइन पानालाई त्यहीँका स्थानीय नागरिकले आफ्नो नाम नखुलाउने शर्तमा खर्च सक्ने गरी बिना उपयोगिता गेट निर्माणमा वडा अध्यक्षले अनावश्यक खर्च गरेको बताएका छन् । उनीहरुले बाटोमा हिँड्ने अपाङ्गलाई पनि त्यहाँ डिँड्दा समस्या हुने बताएका छन् । हेर्दा पनि दृष्टिबिहीन तथा अपाङ्ग नागरिकलाई उक्त स्थानमा हिँड्न असहज हुने प्रष्टै देखिन्छ ।

वडा अध्यक्षले भने आफू बिहान बेलुका त्यहीँबाट हिँडेको र हिँड्दा कुनै ‘डिस्टर्ब’ नहुने जिकिर गरे । उनले स्थानीय नागरिकले माग गरेअनुसार आफूले गेट निर्माण गरिदिएको बताए । उक्त सडक भित्रपट्टी भने रङ्ग रोगन गरेर राम्रो बनाइएको छ । सो सडक बिगत १० वर्षदेखि पीच नभएका कारण स्थानीय समस्यामा रहेका थिए । अहिले उक्त सडक पीच गरिदिएपछि स्थानीय नागरिक भने खुसी भएका छन् । तर अनावश्यक ठाउँमा गेट निर्माण गरेको विषयमा भने कतिपय नागरिकले वडाअध्यक्षले पैसाको दुरुपयोग गरेको र महानगरले लिएको नीति विरुद्द हुने गरी काम गरेको आरोप लगाएका छन् । उक्त गेटका कारण नागरिकलाई सहज फुटपाथबाट हिँड्न कठिन हुने देखिन्छ ।

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार १६:०२   :  बजे

126
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।