Logo

प्रमुख समाचार

स्‍नातकोत्तर सबैले पढ्न नपाउने व्यवस्था भत्कायौं : विभागीय प्रमुख सापकोटा र लुइटेल



काठमाडौं । त्रिविको अंग्रेजी र नेपाली विभागले भर्खर सुरु भएको स्नातकोत्तरको नयाँ सेमेस्टरको भर्नामा जुनसुकै विषयमा स्नातक अध्ययन गरेकाले अंग्रेजी र नेपालीमा स्नातकोत्तर गर्न पाउने नयाँ नियम ल्याएको छ ।

विश्वमा इन्टरनेटकाे पहुँचले विश्वविद्यालयमा गएर पढ्ने विद्यार्थीहरुकाे संख्यामा कमी आइरहेका बेला त्रिविका अधिकारीहरुले स्नातकाेत्तर तहकाे पढाइ साँधुराे बनाउनु नहुने भन्दै नयाँ नियम ल्याएकाे बताएका छन् । अहिले विश्वभरका विश्वविद्यालयकाे डिग्री संसारकाे जुनसुकै कुनबाट पनि पढेर लिन सकिने अवस्था सिर्जना भएकाे छ । त्रिविले पनि अन्तर्राष्ट्रिय अभ्यासलाई पछ्याएकाे अधिकारीहरुकाे तर्क छ । त्रिविका अंग्रेजी विभागका विभागीय प्रमुख प्रा. डा. जीवलाल सापकोटा यो नियम वि.स. २०७६ सालबाटै लागू गर्ने तयारीमा रहे पनि विभिन्न निकायबाट स्वीकृतिमा भएको ढिलासुस्तीका कारण निर्णय अहिले कार्यान्वयन गरिएको बताउँछन् । अन्तर्राष्ट्रिय अभ्यासलाई पछ्याउँदै यो नियम लागू गरिएको सापकोटाले अनलाइनपानासँगको संवादमा भने ।

त्यस्तै त्रिवि नेपाली केन्द्रीय विभागका विभागीय प्रमुख प्रा. डा. खगेन्द्रप्रसाद लुइटेलले पनि आफूहरुले अन्तर्राष्ट्रिय अभ्यास पछ्याउँदै विद्यार्थीहरुको पढ्न पाउने स्वतन्त्रतालाई फराकिलो पारेको बताए । ‘यो निर्णय त्यतिकै अप्रत्यासित रुपमा ल्याइएको होइन । यो विषय जागिरसँग पनि सम्बन्धित छैन । यो विषय विद्यार्थी बढाउन मात्रै पनि गरिएको होइन । हामीले अर्काका विद्यार्थी ल्याउन खोजेको पनि होइन’, त्रिवि नेपाली केन्द्रीय विभागका विभागीय प्रमुख प्रा. डा. खगेन्द्रप्रसाद लुइटेलले अनलाइनपानासँग भने, ‘हामीले नेपाली भाषा, साहित्यलाई अन्तर्राष्ट्रियकरण भइसकेको अहिलेको अवस्थामा खुला राख्न खोजेको हो । खुला राख्दाखेरी विषय बस्तु र गुणस्तर कमजोर हुँदैन किनकी अब स्वच्छ र स्वस्थ प्रतिस्पर्धा हुन्छ ।’

त्रिविको केन्द्रीय नेपाली विभागले सुरु भएको स्नातकोत्तरको नयाँ भर्नाबाट त्रिवि र त्रिविबाट मान्यताप्राप्त कलेज, विश्वविद्यालय पढेका र अन्य ठाउँबाट भए त्रिविको समकक्षता प्राप्त गरेका व्यक्तिले मात्रै नेपाली विषय पढ्न पाउने प्रा. डा. लुइटेलले बताए । उनका अनुसार स्नातकोत्तरमा नेपाली विषय पढ्न प्रवेश परिक्षा समेत दिनुपर्ने छ । प्रवेश परिक्षामा पास भएका व्यक्ति मात्रै नेपाली विषय पढ्न भर्ना हुन पाउनेछन् । अझ नेपाली पढ्न कमजोर मानिएका विद्यार्थीहरुलाई अतिरिक्त कक्षाहरुको पनि व्यवस्था गरिएको डा. लुइटेलले अनलाइनपानालाई जानकारी दिए ।

‘अन्य विषय पढ्ने कतिपय व्यक्तिहरु साहित्यमा दख्खल भएका हुनसक्छन् । पहिला अर्कै विषय पढे । पछि उनीहरुलाई नेपाली पढ्ने रुची जाग्यो । उनीहरु नेपाली भाषा, साहित्यका बारेमा धेरै ज्ञान भएका पनि छन् । र उनीहरुलाई एउटा नियममा बन्देज लगाएर रोक्ने काम गरियो’, प्रा. डा. लुइटेल भन्छन्, ‘त्यो रोक्नु उपर्युक्त होइन । सक्दैन भने त्यो उसको कुरा हो । सक्छु र पढ्छु भन्नेलाई अवसर दिनुपर्छ । हामीले त्यही गर्न खोजेको हो ।’

त्रिविमा अहिले विद्यार्थी संख्या घटेको र पढाईको गुणस्तर खस्केको आरोप लाग्ने गर्छ । विश्वका विश्वविद्यालयको र्‍याङ्किङमा पनि त्रिवि झन तल खस्केको रिपोर्ट सार्वजनिक भइसकेको छ । कतिपयले विद्यार्थी नभएर अंग्रेजी र नेपालीमा जुनसुकै विषयमा पनि स्नातक गर्ने व्यक्तिले स्नातकोत्तर पढ्न पाउने नयाँ नियम बनाइएको आरोप लगाएका छन् ।

तर त्रिवि केन्द्रीय विभागका अंग्रेजी र नेपाली विभागका विभागीय प्रमुखहरु यस्तो आरोपलाई सिधैं अस्वीकार गर्छन् । उनीहरु सबैले पढ्न पाउने अधिकारको हनन् गर्ने व्यवस्था भत्काएको बताउँछन् । विद्यार्थी घट्नुको कारण एक विषयको कारण मात्रै नभएको उनीहरुको तर्क छ ।

‘लोकसेवा आयोग, विभिन्न संस्थानहरु, विभिन्न मन्त्रालयहरुमा नेपाली विषयका विज्ञहरु राख्नुपर्छ’, प्रा. डा. लुइटेलले भने, ‘यसो गरे मात्रै नेपाली भाषा र साहित्यको विस्तार हुन्छ । हामी धेरै कोणबाट नेपाली विषयको विकासको योगदानमा केन्द्रित भएका छौं । नेपाली भाषा, नेपाली साहित्य नेपालीको पहिचान हो । नेपाली पढ्न यसरी खुला गर्दा नेपाली भाषाको विकास बढ्छ ।’

‘नेपाली भाषा केही मान्छेहरुले बिगारेको अवस्था थियो । हामीले सच्याएका छौं’, प्रा. डा. लुइटेलको टिप्पणी छ, ‘नेपाली भाषालाई कमजोर बनाएर नेपाली राष्ट्रियता कमजोर बनाउने सञ्चालित समूहले मात्रै त्रिविको अहिलेको प्रयासको विरोध गरेका हुन् ।’ उनका अनुसार सक्नेले जुनसुकै विषय पढ्न पाउनुपर्छ ।

त्रिविको केन्द्रीय अंग्रेजी विभागका विभागीय प्रमुख जीवलाल सापकोटा विश्वमा नै विद्यार्थीले चाहेको विषय पढ्न पाउने व्यवस्था भएकोमा नेपालमा पनि सुरु गरिएको बताउँछन् । ‘अष्ट्रेलिया, क्यानडा, अमेरिका पढ्न जाँदा त्यहाँ स्नातकोत्तर पढ्ने विद्यार्थी परिपक्व हुने र उनीहरुले आफ्नो निर्णय आफैँ गर्न सक्छन् । यदि कसैले कुनै विषय पढ्न चाह्यो भने त्यो रोक्न पाइँदैन भन्ने अन्तर्राट्रिय मान्यता हो’, सापकोटाले अनलाइनपानासँग भने, ‘त्यही अन्तर्राष्ट्रिय मान्यतालाई हामीले अहिले लागू गरेका हौं ।’

अहिले त्रिविको अंग्रेजी विभागले स्नातकोत्तरको पहिलो सेमेस्टरमा अंग्रेजी विषयबाहेक अन्यमा स्नातक पढेर आएका विद्यार्थीलाई ३२ घण्टाको ‘नन् क्रेडिट कोर्स’ थप पढाउने गरी कोर्स अपडेट गरेको छ । कमजोर विद्यार्थीलाई अरु विद्यार्थीसरह क्षमतावान बनाउन परिक्षामा नजोडिने गरी ३२ घण्टाको कोर्स थपिएको हो । यो कोर्स हप्तामा तीन घण्टा पढ्नुपर्ने गरी तयार गरिएको विभागले जनाएको छ । यो दश हप्तामा सकिने गरी डिजाइन गरिएको कोर्स भएको सापकोटाले बताए ।

इञ्जिनियर, मेडिकल डाक्टरलगायत अन्य विद्यार्थीहरुलाई पनि साहित्य र भाषा पढ्ने चाहना हुने भएकाले अहिलेको खुलापनबाट अध्ययन गर्ने बाटो खुलेको सापकोटाले बताए । अंग्रेजी पढ्न पनि प्रवेश परिक्षा अनिवार्य गरिएको छ ।

सापकोटाले अंग्रेजीमा कोर्स अपडेट गर्ने तयारी पनि भइरहेको बताए । उनले अबको कोर्समा भिडियो इडिटिङ, फोटो, फोटोसप, सिनेमाजस्ता विषयमा प्रयोगात्मक सीप पनि सिकाउने गरी नयाँ कोर्स बनाउने तयारी भइरहेको जानकारी गराए । विद्यार्थीलाई पढ्न चाहेको विषयमा ढोका बन्द गर्दा पनि विदेश पलायन बढेको सापकोटाको तर्क छ । उनले शिक्षा मन्त्रालयले कक्षा १२ सम्मको मात्रै शिक्षा नीति बनाएको र राज्यले विश्वविद्यालयको शिक्षा नीतिमा कुनै ध्यान नदिएको गुनासो गरे ।

त्रिविको शिक्षा सुधार्न शिक्षा क्षेत्रमा राजनीतिकरण हटाउनु सबैभन्दा मुख्य काम हुने सापकोटाको तर्क छ । ‘विश्वविद्यालयमा विद्यार्थी र शिक्षकले राजनीतिक गर्न नपाउने गरी राष्ट्रिय शिक्षा पद्धती सरकारले ल्याउनुपर्छ’, सापकोटाले भने, ‘प्राज्ञिक कर्मबाहेक अन्य काममा लागेका त्रिविका प्राध्यापकलाई दण्ड र प्राज्ञिक कर्म मात्रैमा लागेकालाई पुरस्कारको व्यवस्था गरे हाम्रो शिक्षा र प्रणालीमा राम्रो गर्न सकिन्छ ।’

प्रकाशित मिति : मंसिर १७, २०८० आईतबार  ५ : ४९ बजे

270
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।