काठमाडौं- एमालेको पुष्पलाल मध्यपहाडी लोकमार्गको अभियान अछामको विनायक पञ्चदेवल नगरपालिका पुग्दा विद्यार्थीहरुलाई लाइन लगाएर ‘केपी बा हाइ हाइ, अरु सबै बाइबाइ’ भन्न लगाइयो। ओलीको जयजयकार गरेजस्तो देखाइयो। स्कुले बच्चाहरुले एक दिनको पढाई बिगारेरै भए पनि स्वरमा स्वर मिलाएर ‘केपी बा हाइ हाई, अरु सबै बाइबाइ’ भनेर हुटिङ गरे। रमाइलो गरे। त्यो दृश्य हेर्दा लाग्यो, चुनावी माहोल सुरु भइसकेको छ।
समृद्धिका लागि संकल्प यात्राको यो राजनीतिक कार्यक्रममा पनि एमाले भन्नु नै केपी शर्मा ओली हुन् भन्ने देखाइयो। कार्यकर्ताहरुले ओलीको जयजयकार गर्न लगाए। सुदूरपश्चिम प्रदेशको बैतडी, डोटी, अछामलगायतका क्षेत्रमा ओलीको जय–जयकार गर्ने काम रोकिएन।
हरेक प्रयत्न गर्दा पनि सत्तामा बस्न नपाएको एमाले यतिबेला प्रतिपक्ष दल बन्न बाध्य भएको छ। तर प्रतिपक्षमा बस्दा पनि एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो र पार्टीको प्रचारमा केही न केही फण्डा गरिरहेका हुन्छन्। औषधिको सहायतमा बाँचिरहेको बताउने एमाले अध्यक्ष ओली पत्नी राधिका शाक्यसहित जाडोको मौसम सुरु हुनै लाग्दा आफ्नो र पार्टीको प्रचार प्रसारमा भ्रमणमा निस्किएका छन्। यो भ्रमणमा ओलीको प्रचारमा एमालेले नयाँ नयाँ शैली अपनाएको देखिन्छ।
डडेल्धुराको अमरगढीमा कार्यकर्तामाझ ओली।
नयाँ दलले मिसन ०८४ भनेर पुराना दलहरुलाई ‘पख तिमीहरुलाई ०८४ को चुनावमा देखाउँछौं’ भनिरहेका बेला नेकपा एमाले आफैँ चुनावी मिसन ०८४ को सुरुवात गरिसकेको देखिन्छ।
पार्टीको प्रचारमा पनि केन्द्रमा सधैँ ओली
कुनै फिल्म निर्माण गर्दा नाम चलेको हिरो हिरोइनको थोरै एक्टिङ देखाएर प्रचार गरिए झैँ एमालेले पार्टीको प्रचार गर्दा केपी शर्मा ओलीको हाउभाउ प्रमुख आकर्षणको रुपमा प्रचार गर्छ।
पार्टी र आफ्नो प्रचारमा नयाँ नयाँ तरिका अपनाउन कुटिल केपी शर्मा ओली प्रतिपक्षमा रहेको अहिलेको अवस्थामा ‘सम्बन्ध स्थानीय–सन्देश राष्ट्रिय’ नारा लिएर प्रचारमा निस्किएका छन्। केही न केही ‘फण्डा’ गरेर आफ्नो प्रचार रहिरहोस् भन्ने चाहना नेपालका अहिलेका नेताहरुमध्यै कसैमा छ भने त्यहाँ केपी शर्मा ओलीको नाम पहिला आउँछ।
२०७५ मंसिर ११ गते पनि तत्कालीन समयका शक्तिशाली प्रधानमन्त्री रहेका केपी शर्मा ओलीले सामाजिक सुरक्षा योजना लागू गर्ने कार्यक्रमको प्रचारमा गरेको ‘फण्डा’ प्रचार सायद कसैले बिर्सिएका छैनन् होला। ओलीले तत्कालीन समयमा मिडियाहरुलाई एक पृष्ठको आफ्नो तस्बिर भएको ‘नयाँ युगको सुरुवात’ लेखेको विज्ञापन बाँडे। चोक चोकमा आफ्नो तस्बिर अंकित नयाँ युगको सुरुवात लेखेको विज्ञापन झुण्ड्याउन लगाए। नागरिकहरु भने निर्मला पन्तका हत्याराको खोजी गर्न सरकार असफल भएको आरोप सरकारलाई लगाइरहेका बेला ओलीले चाहिँ घटना नै मोड्ने गरी लाखौं खर्च गरेर आफ्नो प्रचार गराए।
सामाजिक सञ्जालमा केही न केही लेखेर अन्यको ध्यान तान्न खोज्ने ओली पछिल्लो निर्वाचनपछि बनेको सरकारमा कांग्रेस र माओवादीलगायतका दल मिलेर सरकार चलाएपछि प्रतिपक्षमा बस्न बाध्य छन्।
त्यसको व्यापक आलोचना भयो। एमालेको माओवादीसँग एकता भएर पनि एकता तोडियो। अझ एमालेको माधव नेपाल पक्ष नै एमालेबाट चोइटियो। तर केपी शर्मा ओलीले आफूलाई केन्द्रमा राख्न छोडेनन्।
नवौं महाधिवेशनबाट अध्यक्षमा माधवकुमार नेपाललाई हराएर अध्यक्ष भएका केपी शर्मा ओली त्यसयता निरन्तर पार्टीको अध्यक्ष भएर काम गरिरहेका छन्। पछिल्लो समय माधवकुमार नेपाल, झलनाथ खनाललगायत नेताहरु पार्टीबाटै अलग्गिएपछि पार्टीमा आफ्नो विचार लागू गराउन उनलाई सजिलै भइरहेको देखिन्छ। अझ पार्टीभन्दा उनी आफ्नै प्रचारमा व्यस्त हुन्छन्।
अछामको चौखुट्टे चौरपाटी सभामा सहभागीसँग सामूहित तस्बिर लिँदै ओली।
काठमाडौंमा मेट्रो गुडाउने आश्वासन देखाएर होस् वा पानीजहाजको काउण्टर कार्यालयको उद्घाटन गरेर होस्, ओली आफ्नो प्रचार प्रसार गर्न सक्रिय छन्। ‘घर घरमा पाइप जोडेर ग्यास उपलब्ध गराइदिने’ ओलीको उद्घोष होस् वा कंक्रिटका भ्युटावर र धरहराको प्रचारबाट होस्, ओली आफ्नो ‘गुनगान’ नागरिकले गाइरहुन् भन्न चाहन्छन्। उखान टुक्का प्रहार गरेर प्रतिपक्षमाथि कटाक्ष गर्न निपूर्ण ओलीले पछिल्लो समय नयाँ वैकल्पिक शक्तिको प्रचार शैली अपनाउँदै गरेको देखिन्छ।
सामाजिक सञ्जालमा केही न केही लेखेर अन्यको ध्यान तान्न खोज्ने ओली पछिल्लो निर्वाचनपछि बनेको सरकारमा कांग्रेस र माओवादीलगायतका दल मिलेर सरकार चलाएपछि प्रतिपक्षमा बस्न बाध्य छन्। तर बेला बेला प्रचारमा आइरहन उनी फरक फरक शैली अपनाइरहन्छन्।
नयाँ वैकल्पिक दलहरुले ‘मिसन ०८४’ नाम दिएर पुराना दललाई टक्कर दिन थालेपछि भने ओलीले एमालेमा पनि मिसन ०८४ लन्च गरेका छन्।
मिसन ०८४ लाई लिएर ओलीले पार्टीमार्फत एमालेको प्रचारप्रसार तीब्र बनाएका छन्। स्थानीय माग र आवश्यकताको पहिचानका आधारमा समास्याको समाधान खोज्न पुष्पलाल मध्यपहाडी लोकमार्गको यात्रा तय गरेको बताएको एमालेले ओलीको क्रियाकलापलाई प्रचारको माध्यम बनाएको छ।
झुलाघाट बैतडीदेखि चिवाभञ्ज्याङ, पाँचथरसम्मको यात्रा तय गरेको एमालले प्रचारको नयाँ शैली अपनाएको छ।
तर ओलीको आलोचना गर्ने पार्टीका पदाधिकारीलाई भने उक्त यात्रामा सहभागी नगराइएको पाइएको छ। अछाममा रहेका एमालेका नेता भीम रावल आफूलाई यस कार्यक्रमको बारे कुनै जानकारी नभएको बताउँछन्। ‘यो उहाँहरुको कार्यक्रम हो। उहाँहरुले के उद्देश्य लिएर यो कार्यक्रम गर्नु भएको हो, त्यो त उहाँहरुलाई नै थाहा होला’, रावलले अनलाइन पानासँगको कुराकानीमा भने।
त्यसो त धर्ममा खासै विश्वास नगर्ने कम्युनिष्ट पार्टी एमालेका नेता यो यात्राका क्रममा सबै ठाउँमा मन्दिरमा पूजाआजा गर्न तयार भएका देखिन्छन्।
डोटीको शिलगढीस्थित शैलेश्वरी मन्दिरमा दर्शन गर्दै ओली।
डोटीको सिलगडीमा पुग्दा ओलीले आफू धार्मिक व्यक्तित्व भएकोजस्तो देखाए। मंसिर १९ र २० गते रुकुमकोटमा ओलीले सरकार ढालेमात्रै अर्थतन्त्र सुधार हुने उत्तेजक अभिव्यक्ति दिए। कार्यक्रममा उनले सरकारका कारण कर्मचारीलाई तलब खुवाउन समस्या भएको उल्लेख गर्दै सरकार नै हटाएमा सुधार हुने आश्वासन बाँडे। उनले भने, ‘यही गतिमा जाने हो भने त देश ध्वस्त हुने भयो। यस्तै अवस्था रहने हो भने यो सरकारलाई विस्थापित गर्नुपर्ने हुन्छ।’
कहाँ कहाँ पुग्यो ओलीसहितको एमालेको टिम ?
झुलाघाट–चिवा भञ्ज्याङको यात्रा तय गरेको एमाललेले पार्टीको प्रचारका विभिन्न टेक्निकहरु प्रयोग गरिहरहेको छ। एमाललेको पुष्पलाल मध्यपहाडी लोकमार्ग यात्राको सुरुवात गर्नुभन्दा अघि अध्यक्ष ओलीलगायत प्रमुख नेताहरु धनगढी पुगे। ओलीले धनगढी एयरपोर्टमा बेहुलाबेहुलीसँग बसेर फोटो पनि खिचाए।
ओली धार्मिकस्थलहरुमा समेत पुगेर त्यहाँका नागरिकहरुको ‘सेन्टिमेनट’ क्याच गर्न सफल भए। उनले दशरथचन्द नगरपालिकामा पर्ने निङालासइनी देवीको दर्शन र पूजासमेत गरे। सामाजिक सञ्जालमा प्रचार पनि गरे। धार्मिक कार्य तथा पूजाआजासँगै ओलीले मंसिर १४ गते, झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको यात्रा महाकाली नदीको किनार, झुलाघाटबाट राष्ट्रिय झण्डा फहराउँदै सुरु भएको उद्घोष गरे।
झुलाघाटमा झण्डा फहराएपछि एमालेको प्रचार टोली त्रिपुरासुन्दरी पुग्यो। बैतडीको त्रिपुरासुन्दरी मन्दिरमा ओली दम्पत्तीले पूजाआजा गरे। उनले त्यहाँको प्रचार समेत सामाजिक सञ्जालमार्फत गरे। ओलीले उक्त धार्मिक स्थानको बारेमा लेखेका छन्, ‘यो ऐतिहासिक र सांस्कृतिक ठाउँमा धार्मिक पर्यटनको प्रचुर सम्भावना छ।’ सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय नारा दिएका ओलीले बैतडीका कार्यकर्ताको भेलाको पनि तस्बिर फेसबुकमार्फत सार्वजनिक गरे।
९ वर्षीय बालक किशोर पौडेलले एउटा सानो चिट्ठी केपी शर्मा ओलीको हातमा थमाएको ओली आफैँले सार्वजनिक गरे। बालकले देशमै राजगारी कहिले पाउने आशयको प्रश्न भएको पत्रमार्फत ओलीलाई प्रश्न सोधेको पत्र आलीले नै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।
एमालेको यात्राको पहिलो दिन नै ओलीलगायतको एमालेको टोलीले बैतडीको खोड्पेमा देउडा गाउने र नाच्ने काम समेत गरे। यो पनि ओलीको नागरिकको ‘सेन्टिमेनट’ क्याच गर्ने एक टेक्निक हो।
ओलीले अमरगढीमा पुगेर राणा शासन विरोधी आन्दोलनका शहीद दशरथ चन्दको सम्मान गरेको देखाएर एमालेले पार्टीको प्रचार गर्न भ्यायो। दशरथचन्द नगरपालिका वडा नं ५ बास्कोटमा जन्मिएका चन्दको जन्मघर बास्कोट पुगेर ओलीले शहीद दशरथ चन्दप्रति सम्मान व्यक्त गरे। ओली दम्पत्तीले त्रिपुरासुन्दरी मन्दिरमा पनि पूजाआजा गरे।
अमरगढीपछि एमालेको टोली सकाली, गोपघाट, राजपुर चोक, दिपायल हुँदै सिलगढी पुग्यो। ओली त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा पुगेर देउवालाई नै फोन गरेर सामाजिक सञ्जालमा चर्चा कमाउन सफल भए।
उनले सामाजिक सञ्जालमा देउवासँग बोलेको भिडियो सार्वजनिक गर्दै लेखे, ‘मेरा मित्र शेरबहादुर देउवाको गृह जिल्ला। यहाँ आएपछि उहाँलाई कल गरौं भन्ने लाग्यो। उहाँले आफू काठमाडौंमा भए पनि डडेल्धुरामा स्वागत छ भन्नु भयो। धन्यवाद शेरबहादुर जी !’
उनले डडेल्धुराको अमरगढीलाई ‘पोखरा’को संज्ञासमेत दिन भ्याए। ओलीले डडेल्धुराको अमरगढीको पनि प्रचार गर्न भ्याए।
डडेलधुरा अमरगढीको कार्यक्रम सकेर एमालेको टोली डोटी पुग्यो। सिलगढी डोटीको फोटो पोष्ट्याउँदै ओलीले त्यहाँको पनि सामाजिक सञ्जालमा राम्रै प्रचार गर्न भ्याए। ओली दम्पत्तीले त्यहाँ पनि उग्रतारा माताको दर्शन गरेको तस्बिर सार्वजनिक गरे।
पहाडी शहर सिलगढीमा नेपाल अंग्रेज युद्धमा शहादत प्राप्त गरेका राष्ट्रिय विभूति अमरसिंह थापा र किसान आन्दोलनका शहीद भीमदत्त पन्तको सम्मान गरेर ओली नागरिकको ‘सेन्टिमेन्ट’ कब्जा गर्न सफल भए। सिलगढी डोटीमा ओली दम्पत्तीले शैलेश्वरी माताको मन्दिरमा दर्शन गर्न पनि भ्याए।
मंगलसेनमा आयोजित सभालाई सम्बोधन गर्दै ओली।
एमालेको यात्रा डोटीबाट अछामतिर लम्कियो। अछामको चौखुट्टे चौरपाटीमा सहभागी भएको तस्बिर ओली आफैँले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका छन्।
अछामको चौखुट्टे, मार्कु, साँफेबगर र बयलपाटा हुँदै मंगलसेन पुगेर ओलीले शहीद बाँकाबीरप्रति सम्मान प्रकट गरेको देखिन्छ।
झुलाघाट–चिवाभञ्ज्याङ यात्राको चौथो दिन एमालेको यात्रा कर्णाली प्रदेशको दैलेख मोडिन्छ। अछामको मंगलसेन हुँदै दैलेखको राकम पुगेको एमालेको यात्रा राकममा भने विवादित बन्छ। स्कुले विद्यार्थीलाई ‘केपी बा हाई हाई, अरु सबै बाई बाई’ भन्ने नारा लगाउन लगाएपछि ओली र एमाले पार्टीको चर्को बिरोध हुन्छ। त्यहाँ पनि एमालेले कर्णालीको किनारमा कार्यक्रम सम्पन्न गर्छ। त्यहाँबाट ओलीले कर्णालीमा विद्युत पुगेको झल्को दिने गरी तस्बिर समेत सार्वजनिक गरे। उनले सामाजिक सञ्जालमा लेखे, ‘यो तिहारको झिलिमिली होइन, यो काठमाडौं पनि होइन, यो दैलेख बजार पनि होइन। राकमबाट दैलेख बजार पुग्नुअघि साँझ डाँडाबाट देखिएका झिलिमिली गाउँहरू। अब कर्णाली अँध्यारो छैन, उज्यालो हुन थालिसकेको छ।’
अछाम र दैलेखको सीमानामा पर्ने कर्णाली नदीको पुलसम्मको प्रचार गर्न ओली पछि हटेनन्। त्यसपछि एमालेको यात्रा दैलेखतिर सोझिन्छ। त्यहाँ शीरस्थान मन्दिरको दर्शनदेखि पेट्रोल उत्खनन आयोजना क्षेत्रमा एमालेले भ्रमण गर्यो।
दैलेखको गुराँस डाँडा हुँदै सुर्खेतको वीरेन्द्रनगर उपत्यकाको प्रचारमा एमाललेको टिम राम्ररी लागेको देखिन्छ। दैलेखबाट सुर्खेतको यात्रामा निस्किएको एमालेले सुर्खेतमा शहीद ऋषिप्रसाद शर्मालाई पनि सम्झियो।
त्यहाँको भेरी बबई डाइभर्सन आयोजना हेर्दै ओलीलगायतको एमालेको टोली जाजरकोट रुकुमतिर लाग्यो।
दैलेखको गुराँस गाउँपालिका गुराँसे डाँडाको व्यवसायिक कृषिको प्रचार गर्दै ओलीको टोली सल्यान हुँदै जाजरकोटतिर लागेको थियो। ओलीले सल्यानको कार्यक्रममा बच्चाले हातमा थमाएको चिट सामाजिक सञ्जालमा राखेर फेरि चर्चा बटुले।
९ वर्षीय बालकले दिएको भन्दै ओलीले सार्वजनिक गरेको पत्र।
९ वर्षीय बालक किशोर पौडेलले एउटा सानो चिट्ठी केपी शर्मा ओलीको हातमा थमाएको ओली आफैँले सार्वजनिक गरे। बालकले देशमै राजगारी कहिले पाउने आशयको प्रश्न भएको पत्रमार्फत ओलीलाई प्रश्न सोधेको पत्र आलीले नै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।
बालकले सोधेको प्रश्नको उत्तरमा ओलीले जवाफ दिँदै लेखेका छन्, ‘स्वदेशमै कमाइको वातावरण बनाउन हामीले मध्यपहाडी राजमार्ग निर्माण थालेका हौं, भेरी बबई डाइभर्सन पनि कृषि उत्पादन बढाउनकै लागि हो, यसलाई छिटो सम्पन्न गर्नु पर्छ। ग्रामीण विद्युतीकरण, इन्टरनेट विस्तार पनि यसैका लागि गरेका हौं। सुर्खेत, सल्यान, जाजरकोट, रुकुममा चिल्ला सडकहरू बनेका छन्। यी बाबुको सपना पूरा गर्न यसले सघाउँदै जान्छ।’
रुकुमकोटमा आयोजित सभालाई सम्बोधन गर्दै ओली।
एमालेको यात्रा जाजरकोट र रुकुम पश्चिमको सीमानामा पर्ने रिम्नामा समेत पुग्यो। भर्खरै गएको भूकम्पबाट प्रभावित उक्त क्षेत्रमा आफ्ना पार्टीका कार्यकर्ताले स्वंमसेवा गरिरहेको ओलीले उल्लेख गरे। ‘यस क्षेत्रमा भूकम्प प्रभावित नागरिकको उद्दार र पुनर्निर्माण गर्न २५ जनाको दरले हाम्रा ४० वटा स्वयंसेवक समूह सक्रिय थिए’, ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेस, ढुवानी र लजिस्टीकसहित ११ सय जनाले १९ दिनदेखि काम गर्नु भएको थियो। हाम्रा स्वयंसेवकले हालसम्म १६ वटा अस्थायी विद्यालय र ८१३ वटा अस्थायी आवास निर्माण र ५०३ वटा भग्नावशेष व्यवस्थापन गर्नु भएको छ। स्वयंसेवक र प्रभावित नागरिकसँग पुनर्निर्माण बारे छलफल भयो।’ ओलीले यहाँ पनि पार्टीको प्रचार उत्साहजनक रुपमा गरे।
झुलाघाट बैतडीबाट एमाले रुकुमकोटमा पुग्यो। रुकुमकोटामा पनि ओलीले सिस्ने हिमालको प्रचार गर्न भ्याए। रुकुमकोट हुँदै ओलीसहित पार्टीका पदाधिकारी लुकुम, बुर्तिबाङ, वामी टक्सर हुँदै गुल्मीको गल्कोट पुग्यो।
‘सम्बन्ध स्थानीय–सन्देश राष्ट्रिय’ नारा दिइएको एमालेको यो यात्राले खास के निचिड निकाल्यो त ? यो प्रश्नको उत्तर हामी अर्को समाचारमा कोट्याउने छौं।
प्रतिक्रिया