Logo

प्रमुख समाचार

नक्कली भुटानी प्रकरण: थप एक जना अभियुक्त पक्राउ



काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको मण्डिकाटारबाट २४ वर्षीय आशिष बुढाथोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सिताराम रिजालले बताए । ठगीको रकम उनको खातामा जम्मा भएको देखिएकाले बुढाथोकीलाई प्रतिवादी बनाइएको रिजाल बताउँछन्।

‘प्रकरणका फरार प्रतिवादीहरुको खोजतलास गर्ने क्रममा आज उनलाई पक्राउ गरिएको हो’, रिजालले भने ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान्छु भन्दै करोडौं असूली गरेको प्रकरणमा प्रहरीले ३० जनालाई प्रतिवादी बनाएर १० जेठमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो। त्यसबेला १६ जना मात्रै पक्राउ परेका थिए। पछि प्रहरीले थप दुई जनालाई पक्राउ गरेको थियो।

पक्राउ परेकामध्ये पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व उर्जामन्त्री टोपबहादुर रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले १ असारमा आदेश दिएको थियो। प्रतिवादीमध्ये लक्ष्मी महर्जन र टंककुमार गुरुङलाई धरौटीमा छाड्न आदेश भएको थियो। प्रकरणका पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक थापालगायत अझै फरार छन्।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार १७:५६   :  बजे

570
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।