Logo

कोशी प्रदेश

अदालतको अवहेलना मुद्दामा मन्त्री राजभण्डारीलाई ५ दिनभित्र जवाफ पेस गर्न आदेश



कोशी प्रदेश। कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीलाई अदालतको अवहेलना मुद्दामा पाँच दिनभित्र आफैँ उपस्थित भएर लिखित जवाफ पेस गर्न उच्च अदालत विराटनगरले बुधबार आदेश दिएको छ ।

काममुकायम मुख्य न्यायाधीश सत्यमोहन जोशी थारु र न्यायाधीश किरणकुमारी गुप्ताको संयुक्त इजलासले पाँच दिनभित्र आफैँ उपस्थित भएर लिखित जवाफ पेस गर्न र असार २० गते बिहान ११ बजे बयानका लागि उपस्थित हुन आदेश दिएको हो ।

उच्च अदालत, न्यायाधीश र न्यायाधीशले गरेको आदेशविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको र त्यसले अदालतको अवहेलना आकर्षित भएका भन्दै रजिष्ट्रार जितेन्द्रबाबु थपलियाको प्रतिवेदनले र अधिवक्ता उद्धवचन्द्र घिमिरेले छुट्टाछुट्टै अदालतको अवहेलनाको निवेदन दर्ता गराएका थिए ।

राजभण्डारीले असार १० गते विराटनगरस्थित एक निजी विद्यालयमा आयोजित कार्यक्रममा अदालत, न्यायाधीश र अदालतको आदेशविरुद्ध दिएको आपत्तिजनक अभिव्यक्ति दिएका थिए । मन्त्री राजभण्डारीले उच्च अदालतले प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिवले पैसा दिएकै भरमा न्यायाधीशले आदेश गरेको आरोप लगाएका थिए । उनले न्यायाधीशलाई फटाहा र कलंकको संज्ञासमेत दिएका थिए ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार १८:२५   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।