काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कमजोरीको समीक्षासहित फेरि नेकपातिरै फर्किनुपर्ने बताएका छन् । त्यसको प्रयासस्वरुप समाजवादी मोर्चा बनाएको पनि उनले बताए ।
नेपाल कम्युनिष्ट पार्टीका एकजना संस्थापक नारायण विलास जोशीको प्रतिमा अनावरण कार्यक्रमलाई आज बिहान भक्तपुरमा सम्बोधन गर्दै प्रचण्डले एमाले र माओवादी केन्द्रबीचको एकता गरेर बनेको नेकपालाई बचाउन नसक्नु दुर्भाग्य भएको बताए ।
देशलाई छिटो आर्थिक समृद्धितिर र समाजवाद तिर जान सकिन्छ भनेर एमालेसँग एकता गरेको स्मरण गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, ‘तर दुर्भाग्य हामीले त्यसलाई बचाउन सकेनौं । हामी एकपटक असफल भए पनि फेरि त्यसबाट शिक्षा लिएर अगाडि बढ्ने उद्देश्य राख्नुपर्दछ ।’
विश्वभरकै कम्युनिष्ट आन्दोलनको इतिहासमा एकता, संघर्ष विभाजनबाट गुर्जिदै अगाडि बढेकाे उदाहरण दिँदै ने फेरि एकपटक एकता गर्न सबैले चिन्तन गर्नुपर्ने बताए ।
प्रचण्डले विचार र राजनीतिमा कहाँ त्रुटि थियो भनेर सबैले सोच्नुपर्ने पनि बताए । ‘अहिले हामी माधव नेपाल र विप्लवसहित मोर्चा बनाएर अघि बढ्ने जमर्को गरेका छौ । माधवजी र मैले फेरि नेकपा तिरै फर्कनुपर्छ, फेरि पार्टीलाई एकताबद्ध गर्नुपर्छ भनेका पनि छौ’, प्रचण्डको भनाइ छ ।




















प्रतिक्रिया