नेपाली काँग्रेसले कोसी प्रदेशको मुख्यमन्त्रीमा प्रदेश सभापति उद्धव थापालाई अगाडि बढाउने निर्णय गरेको छ । कोसी प्रदेश कार्यसमितिको आइतबार बसेको बैठकले थापालाई मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरेको एक नेताले जानकारी दिए ।
नेकपा (एमाले) को नेतृत्वमा रहेको सरकार ढलेपछि सत्ता साझेदार दलहरूबीच कसको नेतृत्वमा सरकार बनाउने भन्ने विषयमा छलफल चलिरहेका वेला काँग्रेसले मुख्यमन्त्रीमा थापालाई अगाडि बढाएको हो ।
सभापति थापाको अध्यक्षतामा बसेको बैठकमा उपसभापति रायमाझी र टङ्क राई, महामन्त्रीहरू भूपेन्द्र राई र टङ्क थापा, सहमहामन्त्रीहरू विनोदकुमार बस्नेत, खड्ग फागो र प्रमीला गच्छदार साथै कोषाध्यक्ष राजेश गुप्ता सहभागी थिए ।
काँग्रेसले कोसीमा नयाँ सरकार गठनको गृहकार्य सुरु भएसँगै दलहरूले आ-आफ्नै नेतृत्वमा सरकार बनाउन कसरत गरिरहेका छन्। ९३ सदस्यीय कोसी प्रदेश सभामा बहुमतका लागि ४७ सदस्य चाहिन्छ ।
काँग्रेसका २९, माओवादी केन्द्रका १२, एकीकृत समाजवादीका ४ र जसपाका एकजना प्रदेश सभा सदस्य छन् भने एमालेका ४० र राप्रपाका ६ सदस्य छन् ।




















प्रतिक्रिया