काठमाडौं । विभिन्न समयमा नेपालमा बनेका ५५ भन्दा बढी विमानस्थलहरुमध्ये लगभग ३० वटा विमानस्थलहरु मात्रै प्रयोग गर्न सकिने रहेको देखिन्छ ।
सडकको पहुँच नहुँदा जिल्ला–जिल्लामा बनाइएका विमानस्थल सडक पुगेपछि बन्द भएका छन्। केन्द्र सरकारको पहुँच हरेक जिल्लामा बनाउने उद्देश्यले सडक सञ्जालसँग नजोडिएका जिल्लाहरुमा विमानस्थल बनाइएको थियो । पञ्चायतकालमा काठमाडौंको पहुँच जिल्लामा पुर्याउनको लागि विमानस्थल निर्माणलाई प्राथमिकता दिइएको थियो।
२०४६ को आन्दोलनपछि भने सरकारले विभिन्न जिल्लाहरुमा सडक सञ्जाल जोड्न थाल्यो । गाउँ–गाउँमा बाटो लैजान बजेटमार्फत सरकारले काम सुरु गर्यो । त्यसपछि भने नेपालमा बनेका कतिपय विमानस्थल काममा प्रयोगमा आउन छाड्यो । हाल ५५ विमानस्थलमध्ये २५ वटाभन्दा बढी विमानस्थल पूर्ण बन्द छन्। हालसालै बनेका पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल पनि पूर्ण प्रयोगमा आएका छैनन् । अन्तर्राष्ट्रिय उडान हुन नसके पनि यी विमानस्थलबाट आन्तरिक उडान भने हुन्छन् ।
पछिल्लो समय नेताको दबाबमा केही स्थानमा फेरि नयाँ विमानस्थल बन्दै छन् । कतिपय ठाउँमा विमानस्थल बनाउन नेताहरु नै लभिङमा जुटेको देखिन्छ । तर बिना योजना बनाइएका विमानस्थल फेरि बन्द हुने हुन कि भन्ने डर मात्रै बढेको छ ।
पूर्णरुपमा बन्द भएका विमानस्थल सञ्चालन गर्ने भन्दै केही विमानस्थलमा बजेट विनियोजन गरिए पनि चल्ने नचल्ने टुंगो छैन। सडकको पहुँच राम्रो, मानिसको आयस्रोत कम भएको अवस्थामा पुराना र नयाँ प्रस्तावित विमानस्थल कसरी चल्छन्, कुनै योजना छैन ।
लामो समय बन्द भएका विमानस्थल के गर्ने भन्ने सरकारले कुनै योजना बनाउन सकेको छैन । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नयाँ विमानस्थल आवश्यकताको आधारमा बनाउने र पुराना विमानस्थललाई नियमित उडान सम्भव नभए साहसिक खेलकुदको लागि प्रयोग गर्ने बताएका थिए । तर अधिकारी आफैँ हेलिकप्टर दुर्घटनामा बितेपछि उनको ठाउँमा आधा दर्जन जति मन्त्रीले जिम्मेवारी सम्हालिसकेका छन् । तर पुराना विमानस्थलको ग्राउण्ड के गर्ने भन्ने विषयमा कुनै मन्त्री तथा सरकारले केही गर्न सकेका छैनन् । बरु नेताहरुको दबाबमा नयाँ विमानस्थल बनाउने ठाउँ तोक्ने र बजेट माग गर्ने काम भइरहेको छ ।
लामो समयदेखि पूर्ण रुपमा बन्द भएका विमानस्थल
लामो समय बन्द भएका केही विमानस्थल पशु चर्ने चरन क्षेत्र भएका छन् भने कतै अतिक्रमण भएर घर टहरा बनिसकेको नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौला बताउँछन् । उक्त सम्पत्तिको संरक्षण गर्ने काम नागरिक उड्ययन प्राधिकरणको भए पनि प्राधिकरणले पनि अहिलेसम्म यो विषयमा केही काम अगाडि बढाएको छैन ।
बाग्लुङको ढोरपाटनमा पुरानो विमानस्थल रहेको छ । विमानस्थल ढोरपाटन शिकार आरक्षण केन्द्रमा अवस्थित छ । सन् १९७३ मा सुचारु भएको विमानस्थल अहिले पूर्णरुपमा बन्द छ। विमानस्थलको रन वे ३६५ मिटर लम्बाइ छ ।
चितवनको मेघौली एयरपोर्ट बेलायती महारानी एलिजावेथ र प्रिन्स फिलिप सन् १९६१ मा चितवन आउँदा निर्माण गरिएको थियो । सन १९८२ मा हात्ती पोलो विश्वकप उक्त हवाइ क्षेत्रमा खेलिएको थियो। तर चितवनमै अर्को विमानस्थल बनिसेकपनि पुरानो विमानस्थल भने प्रयोग बिहीन बनेको छ ।
लामो समय बन्द रहेको विमानस्थल सन् २०१६ सालमा पुनः खुला गरी चार्टर्ड उडान समेत गरिएको थियो। सन् २०१७ मा नेपाल एयरलाइन्सले पुनः नियमित उडान सुरु गरेको थियो । तर चितवनमै भरतपुर विमानस्थल सञ्चालनमा रहेकाले मेघौली चल्न सकेको छैन। यो विमानस्थलको रनवे १ हजार ८५ मिटर रहेको छ।
अछामको साफे बगर विमानस्थल सञ्चालनमा आएसँगै कमलबजार एयरपोर्ट लामो समयदेखि बन्द अवस्थामा छ। कमलबजार विमानस्थलमा २०५८ सालमा तत्कालीन विद्रोही माओवादीले आक्रमण गरेको थियो। मनाङ एयरपोर्ट १९८१ मा विमानस्थल सुचारु भएको थियो । २०१५ मा कालोपत्रे गरी रन वे पुनर्निर्माण गरिएको थियो। रन वे ६५० मिटर लम्बाइ रहेको छ। सन् २०१२ देखि त्यहाँ नियमित उडान भएको छैन। त्यसअघि नेपाल एयरलाइन्स र तारा एयरले काठमाडौं र पोखरा उडान गरेका थिए।
दोलखाको जिरी एयरपोर्ट सन् १९७६ बाट विमानस्थल सञ्चालनमा आएको थियो। उक्त विमानस्थलको रन वे ३६० मिटर लम्बाइ छ। रसुवाको लाङटाङ एयरपोर्ट पनि अहिले पूर्ण रुपमा बन्द छ। विमानस्थलको रनवे ४२० मिटर लम्बाइ छ। कंगेलडानन्द एयरपोर्ट सोलुखुम्बु पनि पूर्णरुपमा बन्द छ। विमानस्थल क्षेत्रमा पहिरो गएकाले पहिरो नियन्त्रणको काम भइरहेको छ। रोल्पा एयरपोर्ट बडाचौर नगरपालिकामा रहेको छ । सन् १९८० मा सञ्चालनमा आएको विमानस्थलको रन वे ४५७ मिटर लम्बाइ छ। अहिले पूर्णरुपमा बन्द छ।
कैलालीको टीकापुर एयरपोर्ट सन् १९८४ मा सञ्चालनमा आएको थियो। यसको रन वे ५७३ मिटरको लम्बाइ छ। रन वे ग्राभेल अवस्थामा छ।
चल्न नसकेका तर अहिले पुनर्निर्माणको काम भइरहेका विमानस्थल
पालुङटार एयरपोर्ट गोरखामा रन वे, अप्रोन र ट्याक्सी वे सबबेस र तारवारको काम भइरहेको छ। विमानस्थल वि।सं। २०१६ मा खुल्ला गरिएको थियो। पछि वि।सं। २०३५ सालमै बन्द भएको थियो। गोरखा एयरपोर्ट १ हजार ६७ मिटरको रहेको छ। अहिले नियमित उडान नभए पनि १९७९ मा नेपाल एयरलाइन्सले केही रुटमा उडान गरेको थियो।
बाग्लुङ बलेवा एयरपोर्ट सञ्चालनको लागि प्रयास गरे पनि यात्रु नपाएको भन्दै तारा एयर र नेपाल एयरलाइन्सले गरिरहेको नियमित उडान बन्द भएको छ। विमानस्थलको रन वे, अप्रोन र ट्याक्सी वे निर्माण भइरहेको छ।
वि.सं. २०३२ सालमा विमानस्थल निर्माणको काम सुरु भएर वि.सं. २०३५ सालबाट उडान अवतरण सुरु भएको बैतडी (पाटन) विमानस्थल वि.सं. २०५२ सालदेखि चल्नसकेको छैन। २०३५ मा सञ्चालनमा आएको बझाङ विमानस्थल २०६५ सालबाट बन्द भएको थियो। विमानस्थलको रन वे, अप्रोन र ट्याक्सी वे पूरा भएको छ।
डोल्पा मसिनेचौर एयरपोर्ट पनि रन वे, अप्रोन र ट्याक्सी वे बनेर पनि पूर्ण सञ्चालनमा आउन सकेको छैन । रन वे ६३० मिटर लम्बाइ २० मिटर चौडाइ रहेकोे छ। करिब छ करोड खर्च रन वे, अप्रोन र ट्याक्सी वे पूरा भएको डोटी एयरपोर्टको रन वे ४९० लम्बाइ २० मिटर चौडाइ रहेको छ। लामो समय बन्द रहेको विमानस्थल २०७४ मा निर्माण कार्य भए पनि सञ्चालनमा भने आएन ।
खिजी चण्डेश्वरी एयरपोर्ट ओखलढुंगामा सन् १९९९ म निर्माण सुरु भएको विमानस्थलको रन वे लम्बाइ ५८० मिटर र चौडाइ २० मिटर रहेको छ। हालसम्म ६ करोड खर्च भए पनि सञ्चालनमा आएको छैन । बरु रुम्जाटार विमानस्थल सञ्चालनमा छ ।
चालु रहेको राष्ट्रिय विमानस्थल
केही विमानस्थलहरु चालु अवस्थामा रहेका छन् । यी मध्ये पनि कतिपय विमानस्थलमा सामान्य अवस्थामा विमान ल्याण्ड गर्न सकिने भए पनि नियमित उडान भने हुन सकेका छैनन् । अहिले सञ्चालनमा रहेका विमानस्थलमा भने बैतडी विमानस्थल, बझाङ विमानस्थल, बाजुरा विमानस्थल, डोटी विमानस्थल, डोटी, साँफेबगर विमानस्थल, आछाम, महेनद्रनगर विमानस्थल, कञ्चनपुर, सिमिकोट विमानस्थल, हुम्ला रहेका छन् ।
त्यस्तै सुर्खेत विमानस्थल, सुर्खेत, जुम्ला विमानस्थल, जुम्ला, रारा विमानस्थल, मुगु, नेपालगञ्ज विमानस्थल, बाँके, दाङ विमानस्थल दाङ, सल्ले रुकुम विमानस्थल रुकुम पश्चिम, डोल्पा विमानस्थल डोल्पा, जोमसोम विमानस्थल मुस्ताङ सञ्चालनमा रहेका र सञ्चालन गर्न सकिने अवस्थामा रहेका छन् ।
त्यस्तै पोखरा विमानस्थल पोखरा, भरतपुर विमानस्थल चितवन, सिमरा विमानस्थल बारा, रामेछाप विमानस्थल रामेछाप, रुम्जाटार विमानस्थल ओखलढुंगा, फाप्लु विमानस्थल सोलुखुम्बु, तुम्लिङटारविमानस्थल सोलुखुम्बु, तेञ्जिङ हिलारी तथा लुक्ला विमानस्थल सोलुखुम्बु, लामिडाँडा विमानस्थल खोटाङ, धामखर्क विमानस्थल खोटाङ, खानीडाँडा विमानस्थल खोटाङ, जनकपुर विमानस्थल धनुषा, राजविराज विमानस्थल सप्तरी, विराटनगर विमानस्थल मोरङ, चन्द्रगढी विमानस्थल झापा, ताप्लेजुङ विमानस्थल ताप्लेजुङ, धनगढी विमानस्थल कैलाली जिल्लाको विमानजस्थल सञ्चालनमै रहेको र कतिपयलाई सञ्चालन गर्न सकिने नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।
त्यस्तै अन्तर्राष्ट्रिय विमानस्थलहरुमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लुम्बिनी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं, निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेका छन भने निजगढ विमानस्थल बाराको विमानस्थल निर्माणका लागि काम भइरहेको छ ।
कतिपय विमानस्थल सञ्चालनमा आउन नसक्नुमा त्यहाँ बनेको ग्राउण्ड सानो भएको कारण रहेको उड्ययन प्राधिकरणले बताउने गरेको छ । पहिलाको समयमा साना जहाजहरु बस्ने गरी बनाइएका विमानस्थल अहिले त्यस्ता जहाज लोप हुँदा ठूला जहाजका लागि ती ग्राउण्ड प्रयोग गर्न उपयुक्त नहुने उड्ययन प्राधिकरण बताउँछ ।सकारले पनि यस्ता विमानस्थल हरको जमीन के गर्ने भन्ने कुनै ठोस योजना बनाएको छैन ।
अहिले पनि कतिपय यस्ता विमानस्थलमा कर्मचारहिरु राखेर उड्ययन प्राधिकरणले खर्च बढाइरहको देख्न सकिन्छ । प्रायः सकारी जग्गा रहेको यी ठाउँहरुको जग्गा संरक्षण गर्न पनि सरकार चुकेको देखिन्छ । भोगचलन गर्न सरकारले नागरिक उड्ययन प्राधिकरणलाई जग्गा दिए पनि बन्द भएका बिमानस्थल रहेको ठाउँमा भने जग्गाको संरक्षण समेत हुन नसकेको प्राधिकरण बताउँछ ।
सञ्चालनमा नरहेको विमानस्थल
दार्चुला विमानस्थल
महेनद्रनगर विमानस्थल कञ्चनपुर
टिकापुर विमानस्थल कैलाली
कालीकोट विमानस्थल कालीकोट
रुकुम चौरजहारी विमानस्थल पश्चिम रुकुम
मसिनेचौर विमानस्थल डोल्पा
रोल्पा विमानस्थल रोल्पा
गुल्मी रेसुङ्गा विमानस्थल गुल्मी
ढोरपाटन विमानस्थल बाग्लुङ
मनाङ विमानस्थल मनाङ
मेघौली विमानस्थल चितवन
गोरखा पालुङटार विमानस्थल गोरखा
लाङटाङ विमानस्थल रसुवा
जिरी विमानस्थल दोलखा
खिजी चण्डेश्वरी अर्थात फाल्गुनन्द विमानस्थल इलाम
स्याङबोचे विमानस्थल सोलुखुम्बु
काँगेलडाँडा विमानस्थल सोलुखुम्बु
फाल्गुनन्द विमानस्थल इलाम
बलेवा विमानस्थल बाग्लुङ




















प्रतिक्रिया