Logo

राजनीति

शीर्ष नेताबीच संसदीय समितिको सभापति चयन प्रक्रिया अघि बढाउने सहमति



काठमाडौं । प्रमुख तीन राजनीतिक दल संसदीय समितिको सभापति चयन प्रक्रिया अघि बढाउन सहमत भएका छन् ।

मंगलबार सिंहदबारमा सभामुख देवराज घिमिरेसहित  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी बैठकले सभापति चयन प्रक्रिया अघि बढाउने सहमति गरेको कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले जानकारी दिए ।

बैठकमा छिटोभन्दा छिटो समितिको सभापति चयन गर्ने सहमति भएको बताए । उनले राजनीतिमा देखिएका विकृति, विसङ्गति, कमी कमजोरीको समाधान गर्दै लैजाने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएर जाने सहमति भएको गुरुङले बताए ।

छलफलमा सभामुख घिमिरेले लामो समयदेखि संसदीय समितिहरु ज्येष्ठ सदस्यको अध्यक्षतामा सञ्चालन भइरहेको भन्दै सभापति चयनमा छिटो सहमति गर्न आग्रह गरेका थिए ।

उनले दलहरुले सहमति नगरे आफूले सभापति चयनको प्रक्रिया अघि बढाउने समेत बताएका छन् । ‘चुनाव गर भन्नुहुन्छ कि मिलाउनुहुन्छ ? मिलाउनुहुन्छ भने तुरुन्त मिलाउनुस्’ बैठकमा दलका नेताहरुसँग भएको छलफलबारे सभामुख घिमिरेले सञ्चारकर्मीहरुलाई भने, ‘तपाईहरुले गर्नुभएन भने मैले आफ्नो स्टेप चाल्नुपर्ने हुन्छ ।’

दलहरुबीच सहमति नहुँदा प्रतिनिधिसभाको संसदीय समितिको सभापति चयन भएको छैन् ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलवार १३:३०   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।