काठमाडौं । पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमले सक्रिय राजनीतिबाट विश्राम लिएकी छन् । कलाकारसमेत रहेकी उनी गत माघमा नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेकी थिइन् ।
तर बिहीबार गौतमले सक्रिय राजनीतिबाट विश्राम लिने घोषणा समाजिक संजालमार्फत गरेकी हुन् । उनले अब निरन्तर समाजसेवामा लाग्ने बताएकी छन् । ‘समाजसेवा निरन्तर, सक्रिय राजनीतिबाट विदा’, उनले लेखेकी छन् ।
गौतमले आफू धरानका मेयर हर्कराज राईको कामबाट प्रभावित भएको पनि उल्लेख गरेकी छन् । देश र जनताको लागि केही गर्छु भन्ने जो कोहीका लागि पनि मेयर राई प्रेरणाको स्रोत हुने उनको भनाइ छ ।

गौतमले भनेकी छन्, ‘धरान उपमहानगरका मेयर हर्कराज राईको कामबाट प्रभावित छु । उहाँ धराने जनताको सुख र सुविधाका लागि अहोरात्र खटिरहनुभएको छ । उहाँप्रति सधैं उच्च सम्मान छ । देश र जनताको लागि केही गर्छु भन्ने जो कोहीलाई पनि हर्कजी प्रेरणाको स्रोत हुनुहुन्छ । आज उहाँको श्रम शिविरस्थल पुगेर प्रत्यक्ष भेटवार्ता गर्ने अवसर मिलेको छ । म निकै खुशी छु । सो अवसरमा मेयर साहेबसँगै मैले पनि वृक्षरोपण गर्ने अवसर पाएँ । श्रम शिविरको लागि मैले आफ्नो व्यक्तिगत तर्फबाट १० वटा साबेल पनि प्रदान गरेकी छु । यहाँहरुले पनि आफ्नो तर्फबाट साथ र सहयोग गरिदिनुहुन अपिल गर्दछु ।’
अभिनेत्री गौतमले दलको सक्रिय राजनीति गर्नेहरुलाई एकचोटी धरान पुगेर मेयर राईको काम हेर्न अपिल पनि गरेकी छन् । उनले खेलेकी छन्, ‘दलको सक्रिय राजनीति गर्नेहरुलाई एकचोटी धरान आएर मेयर हर्कजीको काम हेर्न अनुरोध गर्दछु ।’






















प्रतिक्रिया