काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले भावनात्मक अभिव्यक्तिलाई बंग्याएर अतिसयोक्तिपूर्ण राजनीतिकरण गर्नु आफैमा निरर्थक र दुःखद् भएको बताएका छन् । प्रधानमन्त्रीका प्रचण्डको प्रेस सल्लाहकार गोविन्द आचार्यले आज –बिहीबार) एक प्रेस नोट जारी गर्दै फरक प्रशंगमा प्रधानमन्त्रीले दिएका अभिव्यक्तिलाई अपव्याख्या गरेर त्यसकै आडमा राजनीतिक अभिष्ट पूरा गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् ।
प्रेस नोटमा भनिएको छ, ‘सम्मानीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०८० असार १८ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई अपव्याख्या गरेर त्यसकै आडमा राजनीतिक अभिष्ट पूरा गर्न खोजिएकोतर्फ गम्भीर ध्यानाकर्षण भएको छ ।’
जनयुद्धबाट शान्ति प्रक्रियामा आएलगत्तै प्रचडसँग सिंहको भेटघाट र चिनजान भएको तथा आफ्नो जेठी छोरी ज्ञाणु दाहालको भारतमा उपचारका क्रममा दिल्लीस्थित सिंहकै घरमा रहँदा सिंहसँग प्रचण्ड परिवारको थप घनिष्टता बढेको प्रेस नोटमा स्पष्ट पारिएको छ ।
प्रेस नोटमा भनिएको छ, ‘नेपाललाई नयाँ युगतर्फ लैजान प्रचण्डकै राजनीतिक नेतृत्व आवश्यक रहेको बताउने नेपालका शुभेच्छुक सिंहले आनौपचारिक भेटघाटका क्रममा प्रचण्डसँग तपाईँजस्तो योग्य मान्छे देशको प्रधानमन्त्री हुनुपर्छ भन्ने सदासयता व्यक्त गर्दै आउनुभएका सन्दर्भमा पुस्तक लोकार्पणको क्रममा सम्माननीय प्रधानमन्त्रीले उल्लेख गर्नुभएको प्रष्टै छ । यसै क्रममा सिंह दिल्लीस्थित आफ्नै घरमा पटक पटक आउजाउ गर्दा भएका पारिवारिक संवादमा सिंहले व्यक्त गरेका विषयसमेत प्रधानमन्त्रीले कार्यक्रममा स्मरण गर्नुभएको हो । तर सम्बन्धको गहिराईलाई व्यक्त गर्न गरएको भावनात्मक अभिव्यक्तिलाई बंग्याएर अतिसयोक्तिपूर्ण राजनीतिकरण गर्नु आफैमा निरर्थक र दुखद् छ ।’





















प्रतिक्रिया