Logo

प्रमुख समाचार

कांग्रेस महामन्त्री थापा भन्छन्– ‘संदीय दलको नेता बदल्न अझै लाग्छु, म थाकेको र हारेको छैन’



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु देशको अहिलेको आवश्यकता भएको बताएका छन् । उनले आफू पुनः कांग्रेसको संसदीय दलको नेता बदल्ने कुरामा लाग्ने र बदल्न सके आफू र आफ्नो पुस्ताको व्यक्तिलाई प्रधानमन्त्री बनाउने बताए ।

शनिवार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले नेपालमा अर्को प्रधानमन्त्री को बन्दैछ भन्नेकुरा सबै नेपालीहरुलाई पहिला नै थाहा हुने भइसकेको भन्दै अब पूर्वप्रधानमन्त्री पुनः प्रधानमन्त्री बन्नेकुरा रोक्न सक्नुपर्ने बताए । उनले आफू संसदीय दलको नेता बदल्नेकुरामा नथाकेको पनि बताए ।

‘नेपालमा यो पछि अर्को प्रधानमन्त्री को बन्दैछ भन्नेकुरा एउटा मानिसले सहजै पत्ता लगाउन सक्छ किनभने यो पार्टीबाट को बन्दैछ भन्नेकुरा पहिल्यै थाहा छ । यो नभए यो भूतपूर्व प्रधानमन्त्री प्रधानमन्त्री बन्छ, त्यसले कल्पना पनि गर्न सक्दैन की नेपालमा नयाँ प्रधानमन्त्री बन्नसक्छ । किनभने प्रधानमन्त्री बन्नेकुरा भूतपूर्व क्लबकै हुने जस्तो भयो’, उनले भने, ‘म नेपाली कांग्रेसको सांसद हुँ, यो बदल्नुपर्छ भनेर नै संसदीय दलको नेता हुने कोशिस गरेको हो । मैले सबै साथीहरुको मन चित्त त बुझाउन सकिनँ । तर म थाकेको छैन, हारेको छैन, नेपाली कांग्रेसबाट भूतपूर्व भएको प्रधानमन्त्री कांग्रेसले पछि प्रधानमन्त्री बनाउन पाएको बेलामा बनाउनु हुँदैन, त्यसकारणले गर्दा फेरि कांग्रेसको संसदीय दलको नेता बदल्ने कुरामा म लाग्छु । सके आफू बन्छु, नसके अर्कोलाई बनाउँछु तर बदल्नुपर्छ भन्नेमा छु ।’

प्रकाशित मिति : २३ असार २०८०, शनिबार १४:५६   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।