काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभाको बैठक आज पनि अवरुद्ध गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको अभिव्यक्तिलाई लिएर एमालेले निरन्तर राष्ट्रिय सभा र प्रतिनिधिसभा अवरुद्ध गर्दै आएको छ ।
राष्ट्रिय सभाको आइतबारको बैठक साढे १० बजेपछि सुरु भएको थियो । एमाले सांसद भगवती न्यौपानेले प्रधानमन्त्रीले राजीनामा दिनुको विलक्प नभएको भन्दै राजीनामा नदिएसम्म संसद् चल्न नदिने बताइन् ।
उनले प्रधानमन्त्री भारत गएर राष्ट्रघाती सहमति गरेको पनि आरोप लगाइन् । ‘भारतमा जाँदै गर्दा पनि उहाँले धेरै राष्ट्रघाती सहमति गरेर आउनुभएको छ,’ उनले भनिन्, ‘अब संसद्लाई जवाफ दिन आवश्यक छैन । तपाईंको कुरा प्रष्टसँग आइसकेको छ । प्रष्टसँग तपाईंले बोलेको आएन र ? प्रितम सिंहले मलाई पधानमन्त्री बनाउन धेरै मिहिनेत गर्नुभयो धेरै पटक दिल्ली जानुभयो भनेर तपाईंले भनेको होइन र ?’
त्यसपछि अध्यक्ष तिमिल्सिनाले असार २५ गते बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी बैठक स्थगित भएको जानकारी गराए । असार २५ गतेको बैठकमा विनियोजन विधेयकमाथि छलफल हुने र २६ गते सम्बन्धित मन्त्रीहरुले जवाफ दिने कार्यसूची रहेको जानकारी पनि उनले गराए ।
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी सरदार प्रितम सिंहल पटक–पटक दिल्ली धाएकाे भनेर सार्वजनिक अभिव्यक्ति दिएपछि त्यसको विरोधमा एमालेले सदन अवरुद्ध गर्दै आएको छ । सिंह नेपालमा पहिलोपल्ट ट्रक भित्र्याउने व्यवसायी हुन् ।




















प्रतिक्रिया