Logo

प्रमुख समाचार

जनयुद्धकालका तीन घटनामा सीताको चलाखीले बाँचेका थिए प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको आज (बुधबार) ६९ वर्षमा निधन भयो । सीता लामो समयदेखि प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी (पिएसपी)बाट ग्रसित रहेकी उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

सीताको विश्वका नाम चलेका विभिन्न अस्पतालमा उपचार नगरिएको भने होइन, तर उनको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार भइरहेको थिएन । अन्ततः बुधबार उनको निधन भयो ।

सीता प्रधानमन्त्री प्रचण्डका पत्नी मात्र थिइनन्, एक दूरदर्शी र चलाखीपूर्ण सोचबुझ भएकी सच्चा सहयोद्धा पनि थिइन् । उनको दुरदर्शीता र चलाखीपूर्ण सोचबुझकै कारण जनयुद्धकालका विभिन्न घटनामा प्रचण्डलाई बचाउन सफल भएकी थिइन् ।

प्रचण्डलाई सीताले कुन घटनामा कसरी बचाएकी थिइन् ?

रोल्पाको डाँडागाउँमा सीताकै दुरदर्शीता र चलाखीले प्रचण्ड बाँच्न सफल भएका थिए । रोल्पामा सीतासँगै प्रचण्ड जनताको एउटा घरमा बस्थे । सँगै अन्य केही माओवादी नेता पनि बस्थे । त्यहाँ सीताले चेताउने काम अलि पहिलेदेखि नै गरेकी थिइन् । ‘अब हामी यहाँ नबसौं, यहाँ बसेको लामो समय भइसक्यो’ भनेर सीताले प्रचण्डलाई भनेकी थिइन् ।

जनताहरू सदरमुकाम आउजाउ गर्ने भएकाले कुरा लिक हुनसक्ने र खतरा हुन सक्ने सीताको आशंका थियो । सीताले आक्रमण हुन सक्ने भन्दै निवर्तमान उपराष्ट्रपतिसमेत रहेका नन्दबहादुर पुन पासाङलाई पनि भनेका थिए । सीताको कुरालाई मानेर त्यहाँबाट प्रचण्ड र पासाङहरु सरेको दोस्रो रातमै बमबारी भएको थियो । सीताको दुरदर्शीता नभएको भए आज प्रचण्ड प्रचण्ड हुने थिएनन् ।

त्यस्ता घटना अरु पनि छन् । २०६० सालमा सुरेश आलेमगर र मातृका यादव पक्राउ परेका बेला थोरै संयोगले प्रचण्डलाई सीताले बचाएकी थिइन् । घटना दिल्लीकै हो, त्यहाँ उनीहरु सँगै थिए । साथीहरूसँग कुरा गरेर डेरामा फर्किँदै गर्दा साँझ परिसकेको थियो। उनले ‘म त सुरेश आलेको डेरामा जान्छु, मातृका पनि आउनुभा’को छ, कुराकानी गर्नुछ’ भनेर सीतालाई भनिन्, मातृकाकोमा जान प्रचण्डले कतिसम्म जिद्दी गरेका थिए भने पटक पटक कोठाबाट निस्कँदै जुत्ता लाउँदै गरे । तर सीताले उनलाई ‘राति भइसक्यो अहिले नजानुहोस्’ भनेर सम्झाइन् । सीताले कराएको कराई गरेपछि प्रचण्ड भित्र कोठमा फर्किए ।

भोलिपल्ट बिहान ९ बजे पनि फेरि प्रचण्डले जान खोजे । तर सीतालाई लागेको थियो सुरेशजी त यता–उता भाषण गर्दै हिँडिराख्ने मान्छे, त्यहाँ सुरक्षित नहुनसक्छ । त्यसैले श्रीमान्लाई सम्झाउने तरिकाले भनिन्– ‘उहाँहरू कोठामा हुनुहुन्छ कि हुनुहुन्न, त्यो बुझेर मात्रै जानु ।’ त्यसपछि प्रचण्डले स्टाफलाई फोन गरेर सुरेशजीबारे बुझ्न लगाए । पछि बादलका स्टाफलाई पठाउँदा त त्यहाँको चिया पसलेले भने्, ‘मातृका र सुरेशलाई त बेलुकै पुलिसले लगिसक्यो।’

यस्तै अर्को घटना पनि छ–जहाँ प्रचण्डलाई सीताले बचाएकी थिइन् । भारतमा अल कायदाको खुब चर्चा र खोजी भइरहेको बेला थियो । प्रचण्ड र सीता दिल्लीबाट गोरखपुर आउँदै थिए । रेलको एउटा सिटमा उनीहरु दुईजना सुतेर आएका थिए । एकासी प्रहरीले रेलका सारा महिला, बच्चा, वृद्धदेखि लिएर कागजपत्रसमेतको सम्पूर्ण जाँच गर्दै थियो।

सीताले यसबेला नलैजाउँ भन्दाभन्दै ठूलो झोलामा माओवादी डकुमेण्ट, पुस्तक र लेखहरू राखेर ल्याएका थिए । त्यसलाई रेलमा प्रचण्डले सिरानीमा हालेर सुतेका थिए । भारतमा रहँदा आफू बच्न सीताले पनि दुनियाँ नाटक गरेर बस्नुपर्दथ्यो । माओवादी महिलाहरुजस्तो ‘सिम्पल’ भएर हिँड्नुको सट्टा गृहिणी महिलाजस्तो हातभरि चुरा, गहना वा त्यस्तै पहिरन लगाएर हिँड्थिन् उनी । रेलमा सबै मान्छेको चेक गरियो। सीता निन्द्राबाट एकासी ब्युँझिँदा प्रहरीले चेक गर्दै आएको थाहा पाइन् । पुलिसले सारा झोला र खल्ती चेक गरिराखेको देखेपछि उनी आत्तिइन् ।

फेरि त्यही बेला प्रचण्डले जुँगा पनि पालेका थिए भने दाह्री पनि लामो भइसकेको थियो । मुख्यतः मुसलमानहरुले प्रायःजसो दाह्री पाल्ने भएकाले त्यसलाई हेरेर सीता डराइन् । त्यतिखेर दाह्री–जुंगा भएका मुसलमानहरुकै खोजी भइरहेको थियो। त्यसपछि सीताले तन्ना ओढेर सुतिरहेका प्रचण्डले खुट्टाले झक्झकाएर ‘तपाईं चुप लागेर सुत्नुहोस्’ भनेर संकेत गरिन् । त्यो सङ्केत पाएपछि प्रचण्ड तन्ना ओढेर सुतिरहे । सीता गृहिणी महिला जस्तो यता–उता गर्दै बसिन् । फलतः सबैलाई चेक गर्दा पनि प्रचण्ड र सीतालाई गरेन र उनीहरु बल्लतल्ल बचे । सीताले आत्तिएर केही नगरेको भए उनीहरु प्रहरीको पञ्जामा पर्न सक्थे ।

(केही वर्ष पहिले मूल्यांकन मासिकलाई सीता दाहालले दिएको अन्तर्वार्ताको आधारमा)

प्रकाशित मिति : २७ असार २०८०, बुधबार १८:१६   :  बजे

270
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।