काठमाडौं । खोटाङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भोजराज खतिवडा निलम्बनमा परेका छन् ।
खतिवडासहित १० जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएसँगै खतिवडा निलम्बनमा परेका हुन् ।
नक्कली बिल बनाएर भ्रष्टाचार गरेको आरोपमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष र प्राविधिकसहित १० जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।
ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाको तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हुँदा खतिवडाले वडा नं. १० विद्युत पोल तार र ट्रान्समिटर खरिद योजनामा मिलोमतो गरी भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
त्यस्तै नेपाल विद्युत प्राविधिकरणका ओखलढुङ्गा वितरण केन्द्रका तत्कालित कार्यालय प्रमुख सञ्जिव साह, भण्डार प्रमुख वीरबहादुर राई र नमामी सप्लायर्सका प्रोप्राइटर सञ्जीवकुमार यादवविरुद्ध मुख्य प्रतिवादीहरूलाई हुने सजाय बराबर सजाय गरी बिगोसमेत असुल उपर गर्न मागदावी गरी आइतबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ ।
‘भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुर गरेको पुष्टि भएको भन्दै खतिवडासहित अमृत कुमार दाहाल, दिल कुमार बुढाथोकी र दामोदर धमलालाई ४ लाख ७७ हजार ८९९ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९१० बमोजिमको सजाय गरी बिगो दाबीसहित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९(२) बमोजिमको कसुर गरेको हुँदा निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९९२० बमोजिम कैद र जरिवाना हुनसमेत मागदाबी लिइएको छ’, आयोगको आरोप पत्रमा भनिएको छ ।




















प्रतिक्रिया