नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितहरूमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेका छन् ।
सो प्रकरणमा वित्तीय अपराध पनि भएकाले आ–आफ्नो क्षेत्राधिकारभित्र रही छानबिन गरिरहेको दुवै निकायले जनाएका छन् । अख्तियार र सम्पत्ति शुद्धीकरण विभागलाई ‘वित्तीय अपराध’को अनुसन्धान र तहकिकात गरी अभियोजन गर्ने अधिकार हुन्छ। यसकारण जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले वित्तीय अपराधको थप अनुसन्धानका लागि दुवै निकायलाई लिखित पत्राचार गरेको थियो ।
जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसन्धान प्रतिवेदनका आधारमा संगठित अपराधसहित विभिन्न पाँचवटा कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा चलाएको थियो। प्रकरणमा ३० जनाविरुद्ध अभियोजन गरेको सरकारी वकिल कार्यालयले वित्तीय अपराधको क्षेत्रको पनि अनुसन्धान जरुरी रहेको भन्दै अख्तियार र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्र लेखेको थियो । सोही पत्रका आधारमा अख्तियार र सम्पत्ति शुद्धीकरणले आफ्ना तर्फको अनुसन्धान सुरु गरेको जनाएका छन्। अनुसन्धान सुरु गरे पनि दुवै निकायको प्रक्रियामा भने केही सुस्तता देखिन्छ ।
शरणार्थी प्रकरणअन्तर्गत जिल्ला अदालत काठमाडौंले असार १ गते थुनछेक आदेश गरेको थियो। सोही आदेशपछि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान थालेको जनाइएको छ। अनुसन्धान थालेको झन्डै दुई महिना नाघिसक्दा पनि अनुसन्धानले गति भने लिएको देखिँदैन।
विभागले अनुसन्धानका क्रममा हालसम्म चारजना अभियुक्तको बयान लिएको जनाएको छ। विभागका सूचना अधिकारी कृष्णप्रसाद मैनालीका अनुसार शरणार्थी प्रकरणका नाइके भनिएका केशव दुलाल र सानु भण्डारीसहित चारजनाको बयान लिएको हो। थप दुईजनामा जिल्ला अदालतबाट धरौटीमा छुटेका लक्ष्मी महर्जन र टंकबहादुर गुरुङ छन् । विभागले दुवैजनासँग बयान लिएर धरौटीमा छाडेको छ। महर्जनसँग ५० हजार र गुरुङसँग १ लाख ५० हजार धरौटी लिइएको विभाग स्रोतको भनाइ छ। ‘हाम्रो विभागले हेर्ने अपराध भनेको दोस्रो तहको अपराध हो।
अवैध सम्पत्ति आर्जन पहिलो अपराध हो। त्यसरी आर्जन भएको सम्पत्ति वैधताको अनुसन्धान हाम्रो विभागले गर्ने हो,’ विभागका सूचना अधिकारी मैनालीले भने, ‘त्यसैले यस्तो प्राविधिक कुराको अनुसन्धान गर्दा समय लाग्छ नै।’ हाल विभागको प्रहरी टोलीले आवश्यक अनुसन्धानकमा सक्रियताका साथ काम गरिरहेको उनले बताए। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।




















प्रतिक्रिया