Logo

प्रमुख समाचार

बालुवाटारदेखि सिंहदरबारसम्म माफियाको घेरामा रहेको प्रधानमन्त्रीद्वारा स्वीकार



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालुवाटार र सिंहदरबार बिचौलिया र माफियाको घेरामा रहेको स्वीकार गरेका छन्।

उनले बिचौलिया र माफियाकै प्रभावका कारण कहिलेकाहीं सरकारबाटै हुने निर्णय परिवर्तन हुन खोज्ने र आफूले धेरैपछि मात्रै थाहा पाउने गरेको बताएका छन् ।

मंगलबार बालुवाटारमा विभिन्न सञ्चार माध्यमका सम्पादकहरूसँग छलफल गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले बालुुवाटार र सिंहदरबार बिचौलिया र माफियाको घेराबन्दीमा रहेको तर आफू त्यसमा सतर्क रहेको दाबी गरे। यद्यपि, प्रधानमन्त्री, मन्त्री, सचिव, सहसचिव, महानिर्देशकहरूलाई बिचौलिया र माफियाले नै निर्देशित गर्ने गरेको आरोप लाग्दै आइरहेको छ। बिचौलिया र माफियाकै योजनाअनुसार कैयौं नीतिगत अनियमितता हुने गरेको विश्लेषकहरूको दाबी छ ।

बालुवाटार र सिंहदरबारमा रहँदा तपाईंलाई बिचौलिया र माफियाको प्रभाव कतिको परेको छ भन्ने सम्पादकहरूको जिज्ञासमा प्रधानमन्त्री प्रचण्डले भने– ‘म यसमा पूर्ण सतर्क छु । कहिलेकाँही मलाई पनि झुक्याउन खोजिन्छ, मन्त्रिपरिषद्बाटै हुने निर्णयलाईसमेत हेरफेर गर्न खोजिन्छ । त्यसैले, बिचौलिया र माफिया सक्रिय छैनन् भन्न सकिँदैन तर उनीहरूको प्रभावमा परिँदैन।’

यद्यपि, पछिल्लोपटक लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्यारक्याल लामा नियुक्ति भएपछि प्रधानमन्त्री प्रचण्डमाथि बिचौलियाको प्रभाव परेको आरोप लागेको छ । उनले पनि ल्यारक्यालको नियुक्ति विवादमा परेको स्वीकार गरे तापनि ल्यारक्याल पार्टीको केन्द्रीय सदस्य भएकाले नियुक्ति गरिएको र त्यसमा कसैको कुनै प्रभाव नपरेको दाबी गरे। यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहीबार ०९:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।