एजेन्सी । संयुक्त राष्ट्रका प्रवक्ताका अनुसार इजरायली सेनाले गाजाको उत्तरमा बसोबास गर्ने मानिसहरूलाई २४ घण्टाभित्र क्षेत्र खाली गरी दक्षिणी गाजामा सर्न भनेकाे थियाे। त्यसैअनुसार प्यालेस्टाइनीहरु सुरक्षित स्थान खाेज्दै उत्तरी गाजा क्षेत्र छाेडिरहेका छन् ।
संयुक्त राष्ट्र संघले इजरायलको यो कदमबाट गाजा पट्टीमा बसोबास गर्ने कुल जनसंख्याको झण्डै आधा रहेको करिब ११ लाख मानिस प्रभावित हुने जनाएको छ । गाजा सहर पनि प्रभावित क्षेत्रमा परेको छ । इजरायली रक्षा बल (आईडीएफ) ले गाजा र जेरुसेलमको समय अनुसार राति ११ बजे यस्तो चेतावनी दिएको थियाे ।
संयुक्त राष्ट्र संघले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “यति ठूलो संख्यामा मानिसहरु एक ठाउँबाट अर्को ठाउँमा पुग्दा गम्भीर मानवीय नतिजा निस्कनेछ भन्ने संयुक्त राष्ट्रसंघको विश्वास छ।” गत शनिबार इजरायलमा भएको हमलापछि इजरायलले गाजामा हमासको लक्ष्यमा द्रुत हवाई हमला गरेको छ।

गाजाको सिमानामा इजरायली सैनिकहरूसँग ट्याङ्क, भारी गोलाबारुद र उपकरणहरू सङ्कलन गर्न पुगेपछि इजरायलले गाजामा छिट्टै भूमिगत कारबाही गर्न सक्ने अनुमान गरिएको थियो।
के भन्यो इजरायली सेना ?
अक्टोबर १३ मा, इजरायली सेनाले गाजाका बासिन्दाहरूलाई एक बयान जारी गर्यो। सेनाले गाजामा बसोबास गर्ने मानिसहरूलाई गाजाको पूर्वी भाग छोडेर दक्षिणतर्फ जान भन्याे।
इजरायली रक्षा बलले घोषणा गरेको छ, “आगामी दिनहरूमा सेनाले गाजा शहरमा आफ्नो कारवाही जारी राख्ने छ, साथै यसबाट नागरिकहरू प्रभावित नहोस् भनेर पनि सुनिश्चित गर्ने प्रयास गर्नेछ।”

विज्ञप्तिमा इजरायली रक्षा बलले यो जनताको सुरक्षाका लागि भएको बताएको छ। विज्ञप्तिमा भनिएको छ, “यो तपाइँको सुरक्षाको लागि मात्र हो। तपाइँहरू गाजा शहरमा तब मात्र फर्कन सक्षम हुनुहुनेछ जब यसका लागि अनुमति दिँदै अर्को विज्ञप्ति जारी हुन्छ। यस बीचमा, कोही पनि इजरायलको छेउछाउको सुरक्षा घेरा तर्फ जानु हुँदैन।”
याे पनि पढ्नुहाेस्
अमेरिकाले एक वर्षमा अफगानिस्तानमा खसालेजति बम इजरायलले गाजा क्षेत्रमा ६ दिनमै खसाल्यो
गाजा सहर खाली गर्न सर्वसाधारणलाई इजराइली सेनाको आदेश
के अरब इस्लामिक देशहरू प्यालेस्टाइनकाे पक्षमा एकजुट हाेलान ?
दोस्रो विश्वयुद्धकाे शैलीमा प्यारासुटबाट हमासले कसरी इजरायलमा आक्रमण गर्याे?
इजरायलले उर्जा, इन्धन र खानेपानी राेकिदिएपछि गाजामा अस्पतालकाे सेवासमेत ठप्प हुँदै
इजरायली रक्षा बलले भन्यो कि हमास लडाकुहरू गाजाका निर्दोष नागरिकहरू बीच शहर मुनि राखिएका सुरुङहरूमा र आवासीय भवनहरूमा लुकेका छन्। “आफ्नो र आफ्नो परिवारको सुरक्षाको लागि, गाजा सहरका नागरिकहरू, गाजाको दक्षिणतिर जानुहोस् र आफूलाई हमास आतंककारीहरूबाट टाढा राख्नुहोस्। हमासका आतंककारीहरूले तपाईंलाई मानव ढालको रूपमा प्रयोग गरिरहेका छन्,” इजरायली रक्षा बलले सूचना जारी गर्दै भनेकाे थियाे।

इजरायली सेनाका अधिकारीहरूले गाजामा उपस्थित संयुक्त राष्ट्र संघका नेताहरूलाई यो आदेशको बारेमा जानकारी दिएका छन्। प्राप्त समाचारका अनुसार उत्तरी गाजामा रहेका सबै संयुक्त राष्ट्रका आधारहरू, संयुक्त राष्ट्रका कर्मचारीहरू, स्कूलहरू, अस्पतालहरू र क्लिनिकहरू जस्ता क्षेत्रहरु बाहेक अरु क्षेत्र खाली गर्न भनिएको छ।
यस विषयमा शुक्रबार संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को महत्वपूर्ण बैठक बसेकाे छ । बन्द ढोका पछाडि बस्ने यस बैठकमा सुरक्षा परिषद्का सबै सदस्य अमेरिका, बेलायत, रुस, चीन र फ्रान्स सहभागी हुने अपेक्षा गरिएको छ ।
इजरायलले भनेकाे अनुसार ११ लाख मानिसहरु गाजाकाे उत्तरी क्षेत्रबाट दक्षिणतिर सर्न ४० हजार मानिस हरेक घण्टा उत्तरबाट दक्षिणतर्फ सर्नुपर्नेछ, जुन लगभग असम्भव छ। संयुक्त राष्ट्र संघका एजेन्सीहरू र अन्तर्राष्ट्रिय रेड क्रसले गाजा शहरबाट दक्षिणतिर नागरिकहरु सरिरहेकाे जनाएकाे छ ।
यो क्षेत्र धेरै घना जनसंख्या भएको क्षेत्र हो। इजरायली आक्रमणका कारण अस्पतालमा बालबालिका र वृद्धसमेत घाइते अवस्थामा रहेकाे जनाइएकाे छ । अस्पतालहरुमा चिच्याइरहेकाे बिरामी र लासहरु मात्रै रहेकाे बताइएकाे छ । इजरायलले गाजा क्षेत्रमा नाकाबन्दी गरेकाले पानी, औषधि तथा बिजुलीकाे त्यस क्षेत्रमा कटाैती गरिएकाे छ ।
संयुक्त राष्ट्रसंघका अनुसार यस युद्धका कारण प्यालेस्टाइनीहरू विस्थापित भएका छन्। संयुक्त राष्ट्रसंघले इजरायलको कदमको आलोचना गरेको छ । संयुक्त राष्ट्र संघले इजरायली सेनाको यो भनाइको आलोचना गर्दै यो आदेश तत्काल फिर्ता लिनुपर्ने बताएको छ । राष्ट्रसंघले भनेकाे छ, ‘यसले “दु:खद स्थिति” निम्त्याउने र “गम्भीर मानवीय परिणाम” निम्त्याउनेछ ।’
सञ्चारमाध्यममा जारी विज्ञप्तिमा संयुक्त राष्ट्रसंघले भनेको छ, “यदि यस्तो आदेश दिइएको छ भने यसलाई तुरुन्त फिर्ता लिन संयुक्त राष्ट्रसङ्घले अपील गर्दछ। यो कदमले हालको त्रासदीलाई झनै नराम्रो बनाउनेछ।” संयुक्त राष्ट्रका प्रवक्ता स्टेफेन डुजारिकले भने, “गाजामा रहेको संयुक्त राष्ट्रका अधिकारीहरूलाई इजरायली सेनाको सम्पर्क विभागका अधिकारीहरूले भनेका छन् कि- गाजाको उत्तरमा रहेको सम्पूर्ण नागरिकहरु आगामी २४ घण्टाभित्र दक्षिणी गाजातर्फ जान आवश्यक छ।”
“गाजाको जनसंख्या लगभग २३ लाखभन्दा बढी छ र यो आदेशको अर्थ हो कि लगभग ११ लाख मानिसहरू उत्तरबाट दक्षिणतिर सर्नेछन्। गाजा शहर पनि उत्तरी गाजामा छ, जुन घना जनसंख्या भएको छ। यो गाजाको सबैभन्दा ठूलो शहर हो।”
इजरायली राजदूतले राष्ट्रसंघको प्रतिक्रियालाई ‘लज्जास्पद’ भने
संयुक्त राष्ट्रका लागि इजरायलका राजदूत गिलाड अर्दानले भने, “गाजाका बासिन्दाहरूलाई इजरायलको चेतावनीप्रति संयुक्त राष्ट्र संघले दिएको प्रतिक्रिया लाजमर्दो छ।”
समाचार एजेन्सी रोयटर्सका अनुसार उनले संयुक्त राष्ट्रसंघले हमासको कडा निन्दा गर्ने र आफ्नो रक्षाका लागि इजरायलको प्रयासलाई समर्थन गर्ने कुरामा ध्यान केन्द्रित गर्नुपर्ने बताए। उनले भने कि इजरायलले समयमै गाजाका जनतालाई चेतावनी दिएको थियो किनभने इजरायल “हमासको सैन्य अभियानमा नागरिकहरूलाई हानि पुर्याउन चाहँदैन।”
गिलाड अर्दानले भने, “हमासले धेरै वर्षदेखि हतियार जम्मा गरिरहेको छ र वर्षौंदेखि संयुक्त राष्ट्र संघले यसलाई बेवास्ता गरेको छ। हमासले हतियार र हत्या लुकाउन नागरिक र नागरिक भवनहरू र गाजा पट्टीको प्रयोग गरिरहेको छ। अब इजरायलसँग उभिनुको सट्टा, जसले सयौं निर्दोष मानिसहरूलाई मारेको छ, संयुक्त राष्ट्रले इजरायललाई शिक्षा दिइरहेको छ। संयुक्त राष्ट्रले बन्धकहरूलाई मुक्त गर्न, हमासको आलोचना गर्दै र इजरायलको आफ्नो रक्षा गर्ने अधिकारलाई समर्थन गर्न ध्यान केन्द्रित गर्नुपर्छ।”
हमासका मिडिया प्रमुख सलामा मारुफले इजरायलको चेतावनी “नक्कली प्रचार फैलाउने उद्देश्य र यसको उद्देश्य हाम्रा जनतामा भ्रम फैलाउनु र उनीहरूलाई हानि पुर्याउनु हो” भनेका छन्। हमासले गाजाका जनतालाई यो चेतावनीकाे बेवास्ता गर्न अपील गरेका छन्।
युद्ध भइरहेकाे गाजा कहाँ छ ?
गाजा पट्टीको लगभग बीचमा, त्यहाँ युद्ध भइरहेकाे गाजाकाे क्षेत्र पर्दछ जहाँ नदी छ जुन भूमध्यसागरमा झर्छ र गाजालाई दुई भागमा विभाजित गर्दछ। यसको वरपरको क्षेत्र अर्थात् उपत्यकालाई वादी गाजा भनिन्छ र याे जैविक विविधताका लागि परिचित छ।

इजरायलको आदेशबाट प्रभावित क्षेत्र वादी गाजाको सम्पूर्ण उत्तरी भाग हो।
प्यालेस्टाइनकाे पक्षमा विभिन्न देशहरुबाट समर्थन
इरानका नागरिकहरुले इजरायलकाे विरुद्ध इरानका शहरहरुमा बिराेध प्रदर्शन गरेका छन् । पाकिस्तानबाट पनि प्यालेस्टाइनीहरुकाे पक्षमा सडकबाट नागरिकहरुले समर्थन गरिरहेका छन् । तर युराेपियन युनियनका देशहरु र अमेरिकाले भने इजरायलकाे पक्षमा वकालत गरिरहेका छन् । इजरायललाई अमेरिकाले थप हतियार पठाएकाे छ ।

जर्मनीले युएनसँग इजिप्ट प्यालेस्टाइनीहरुकाे सुरक्षित क्षेत्र रहेकाे बताएकाे छ । टर्कीले इजरायलबाट दिइएकाे २४ घण्टे अल्टिमेटमकाे बिराेध गरेकाे छ । चीनले इजरायल र प्यालेस्टाइनबीचकाे युद्धकाे कारण प्यालेस्टाइनमाथि पहिला गरिएकाे अन्यायकाे अंश रहेकाे बताएकाे छ । सिरिया क्षेत्रबाट पनि इजरायली कदमकाे बिराेध भएकाे छ भने प्यालेस्टाइनीकाे पक्षमा सडकमा प्रदर्शनहरु भएका छन् ।
इजरायलीहरुकाे वेस्ट बैंक क्षेत्रमा आज पनि धेरै प्यालेस्टाइनीहरुकाे हताहति भएकाे छ । इजरायलले रसायनिक हतियारकाे प्रयाेग गरेकाे आराेप लागेकाे छ । एम्नेस्टी इन्टरनेस्नलले इजरायलले घातक रसायनकाे प्रहार गरेर प्यालेस्टाइनी नागरिककाे ज्यान लिएकाे बताएकाे छ ।
अहिलेसम्म गाजा क्षेत्रमा १८ सय नागरिकहरुकाे ज्यान गएकाे र सात हजारभन्दा बढी घाइते रहेकाे बताइएकाे छ । उता इजरायलमा भने १३ सय जनाकाे मृत्यु भएकाे र चार हजारकाे हाराहारीमा घाइते भएकाे बताइएकाे छ ।




















प्रतिक्रिया