Logo

कर्पोरेट फोकस

टेरामक्स खरिदमा डेढ अर्ब अनियमितता, स्वास्थ्यमन्त्री बस्नेत र पूर्वमन्त्री कार्कीसहितको संलग्नता 



काठमाडाैं । नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद गर्दा अर्बौं रूपैयाँ अनियमितता भएको उजुरीमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले थालेको अनुसन्धान अन्तिम चरणमा पुगेको छ ।

प्राधिकरणले ‘कल वाइपास’ रोक्न र राजस्व चुहावट नियन्त्रणका लागि टेरामक्स प्रविधि खरिद गर्दा डेढ अर्ब रूपैयाँ अनियमितता गरेको उजुरी परेपछि अख्तियारले छानबिन थालेको हो । तीन अर्ब रूपैयाँको टेरामक्स प्रविधि खरिद गर्दा डेढ अर्ब अनियमितता भएको आशंका अख्तियारले गरेको स्रोतको दाबी छ ।

‘अनुसन्धान अन्तिम चरणमा पुगेको छ’, अख्तियार स्रोतले भन्यो । खरिद प्रक्रियामा वर्तमान स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत, तत्कालीन सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसमेतको संलग्नता रहेको स्रोतको दाबी छ । त्यस्तै हालका मुख्यसचिव वैकुण्ठप्रसाद अर्याल, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव विनोदप्रकाश सिंह, तत्कालीन सञ्चार सचिव महेन्द्रमान गुरुङ, प्राधिकरणको अध्यक्षको जिम्मेवारीमा रहेका दिगम्बर झालगायत पनि अनुसन्धानमा तानिएका छन् ।

अख्तियारका प्रवक्ता सहसचिव भोला दाहालले अनुसन्धानमा देखिएको विषयमा आफूलाई जानकारी नभएको बताए । ‘अनुसन्धान सकिएपछि सबै सूचना दिइहाल्छौं। अहिलेलाई यो विषयमा बोल्ने कुरा मसँग छैन’, उनले भने ।

टेरामक्स प्रविधि खरिदसम्बन्धी प्रक्रिया सुरु हुँदा बस्नेत सञ्चारमन्त्री थिए । खरिद ठेक्का आह्वान हुँदा प्राधिकरणको अध्यक्ष झा, सञ्चारमन्त्री बस्नेत र सञ्चार सचिव महेन्द्रमान गुरुङ थिए । उनीहरूका पालामा सुरु भएको टेरामक्स प्रविधि खरिद प्रक्रिया सञ्चारमन्त्री कार्की, सञ्चार सचिव अर्याल र प्राधिकरणको अध्यक्ष पुरुषोत्तम खनाल हुँदा सम्पन्न भएको थियो । ‘यो विषयमा अनुसन्धान हुँदैछ’, स्रोतले भन्यो ।

स्रोतका अनुसार बोलपत्रको कागजात हेरफेर गरी लेबनानको कम्पनी भेनराइजलाई अनुकूल हुने गरी ठेक्का दिएको र त्यस कम्पनीसँगको मिलेमतोमा डेढ अर्ब रूपैयाँ घोटाला गरिएको अनुसन्धानले देखाएको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले प्रतिबन्ध लगाएको देशको कम्पनीसँग टेरामक्स जस्तो संवेदनशील प्रविधि खरिद गर्दा पनि असरको विश्लेषण गरिएन । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार ०९:००   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।