काठमाडौं । सभामुख देवराज घिमिरेले संघीय संसदको कार्यवाहक महासचिवमा पद्मप्रसाद पाण्डेलाई नियुक्त गरेका छन् । यसअघिका महासचिव भरतराज गौतमले राजीनामा दिएपछि पाण्डेलाई कार्यवाहककाे जिम्मा दिइएकाे संघीय संसदका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
गौतमकाे राजीनामापछि उनको स्थानमा सभामुख घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेकै नाम सिफारिस गरेका छन् । सभामुख र राष्ट्रिय सभाका अध्यक्षको सिफारिसमा राष्ट्रपतिले संसदको महासचिव नियुक्त गर्ने कानुनी व्यवस्था छ ।
तर राष्ट्रपतिबाट महासचिव नियुक्तिमा ढिलाइ भएपछि सभामुखले कार्यवाहक तोकेका हुन् । कार्यवाहक महासचिव तोक्ने अधिकार भने सभामुखलाई रहेको छ ।
प्रशासनिक नेतृत्व नहुँदा संघीय संसद दिवसका सन्दर्भमा गर्नुपर्ने कतिपय काममा प्रभाव परेको, लोक सेवाबाट सिफारिस भएर आएका कर्मचारीको नियुक्तिलगायतमा प्रभाव परेका कारण सभामुखले कार्यवाहक तोकेको उनको सचिवालयले स्पष्ट पारेको छ ।
राष्ट्रपतिले भने मासचिव गौतमले आइतबार दिएका राजीनामामाथि अध्ययन भइरहेको जनाएकाे छ ।




















प्रतिक्रिया