Logo

प्रमुख समाचार

आज कांग्रेस कार्यसम्पादन समिति बैठकमा राष्ट्रिय सभा निर्वाचनबारे छलफल हुने



काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी लगायत समसामयिक राजनीतिक विषयहरुमा छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाएका छन्।

बैठक शुक्रबार दिउँसो १२:१५ बजे सानेपास्थित कांग्रेस मुख्यालयमा बस्नेछ। कांग्रेसका कार्यालयका मुख्यसचिव एवम् राष्ट्रिय सभाका सदस्य कृष्णप्रसाद पौडेलले बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारीका विषयमा छलफल हुने जानकारी दिए। ‘बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनकालागि दल दर्ता गर्नेसहित गठबन्धन र सीट बाँडफाँडका विषयमा निर्णय गर्छ,’ उनले भने।

उनका अनुसार बैठकमा जाजरकोट भूकम्प र पार्टीको महासमिति बैठकको तयारीका विषयमा समेत छलफल गर्ने गरी एजेन्डा तय गरिएको छ। त्यस्तै, समसामयिक राजनीतिक विषयहरुमा समेत छलफल हुने पौडेलले बताए।

आगामी माघ ११ गते राष्ट्रिय सभा सदस्यको निर्वाचन हुँदैछ भने कांग्रेसले पुस १६ देखि १९ गतेसम्म महासमिति बैठक बोलाएको छ। महासमिति बैठक तोकिएकै मितिमा गर्ने वा राष्ट्रिय सभा निर्वाचनपछिसम्म स्थगित गर्ने भन्ने विषयमा समेत कांग्रेसभित्र विवाद छ।

शुक्रबारको बैठकले त्यसबारे समेत टुंगो लगाउने नेताहरुले बताएका छन्। कांग्रेसले महासमिति बैठक यसअघि मंसिर १३ देखि १५ भित्रै गर्ने मिति तोकेको थियो। तर तयारी नपुगेको भन्दै स्थगित गरेर पुस १६-१९ मा सारेको हो।

महासमिति बैठक कांग्रेसको महाधिवेशनपछिको ठूलो संरचना हो। महासमिति बैठकमा देशभरिबाट करिब २५ सय नेता कार्यकर्ता प्रतिनिधिकारुपमा सहभागी हुनेछन्।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार ०८:०५   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।